कालीकोट । नेपालका पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । कर्णाली प्रदेशका कालीकोटसहित जुम्ला, हुम्ला, मुगु र डोल्पामा भारी वर्षासँगै हिमपात भएको हो । योसँगै कर्णालीका हिमाली जिल्लामा यो वर्षको पहिलो हिमपात भएको छ । मंसिर पहिलो सातासम्म हिउँ नपर्दा चिन्तित किसान मंसिरको अन्त्यमा अहिले बाक्लो हिउँ पर्न थालेपछि हर्षित भएका छन् । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका कारण सोमबार बिहानैदेखि कर्णालीका हिमाली जिल्लाका लेकाली भेगमा बाक्लो हिउँ जमेसँगै बेसीमा पनि हिउँ पर्न सुरु भएको छ । कर्णालीका उच्च भेगमा भने सोमबार पनि दिनभर हिमपात भएको हाम्रा जिल्ला संवाददाताहरूले जनाएका छन् । निरन्तर हिउँ परेकाले बालबालिका, वृद्धवृद्धा र ज्याला मजदुरी गर्ने मानिसहरू बढी प्रभावित भएका छन् । हिमपातले चिसो बढेपछि ठाउँठाउँमा मानिसहरू आगो बालेर ताप्न थालेका छन् । बजार क्षेत्रमा चहलपहल घटेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । सोही प्रभावले उच्च भेगमा हिमपात र पहाडी जिल्लाहरूमा वर्षा भइरहेको हो । काठमाडौं उपत्यकामा भने चिसो हृवात्तै बढेको छ । चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ । काठमाडौंसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ ।
हुम्लामा सबैभन्दा बढी हिमपात
कर्णालीमा सबैभन्दा धेरै हिउँ पर्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि आइतबार रातिदेखि हिमपात सुरु भएको हो । सोमबार सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको थियो भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमी लगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताउनुभयो । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाइ भएको उहाँले बताउनुभयो । हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई सेवा पनि प्रभावित बनेको छ । जिल्लाबाहिर जाने यात्रुसमेत सोमबार सिमकोटमै रोकिएका थिए । हिउँ परेपछि यहाँका सरकारी कार्यालयहरू प्रभावित भएका छन् । यसैगरी, विद्यालयहरूमा बालबालिका आउन नसकेपछि पठनपाठन प्रभावित बन्न पुग्यो । हिमपात भएसँगै हुम्लामा अत्यधिक चिसो बढेर तापक्रम माइनस ५ डिग्रीमा झरेको छ ।
किसानमा खुसी
लामो समयपछिको हिमपातले किसानहरू भने खुसी भएका छन् । हिमपातले खडेरीले सुकेको जेठासी बाली र कात्तिके बाली लगाउन सहज हुने भएपछि किसान खुसी भएका हुन् । जेठमा पाक्ने उवा, जौ र गहुँ बालीलाई योपटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने किसानहरू बताउँछन् । कालीकोटका सान्नी त्रिवेणी गाउँपालिका-३ का तपेन्द्र विश्वकर्मा भन्नुहुन्छ, ‘केही दिन हिउँ निरन्तर आउनुपर्छ, अनि मात्र बालीनाली सप्रिन्छ, उत्पादन बढ्छ । हिउँदे बाली जौ, गहुँलाई राहत हुनुका साथै बगैँचा व्यवस्थापनमा सहज हुन्छ ।’
हिमपातले विशेषगरी कृषि क्षेत्रलाई राहत पुग्ने कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले बताउनुभयो । हिउँ नपरेर बाली सुक्न थालेको थियो । उहाँले भन्नुभयो, ‘बाली सुक्ने, उत्पादन घट्ने चिन्तामा किसान थिएँ । अहिलेको हिउँले बाली सप्रिने र स्याउ उत्पादन हुने ठाउँमा मद्धत पुग्छ ।’ हुम्लाका किसान हिमपात किसानका लागि सुनजस्तै भएको बताउँछन् । किसान टक्क शाही लामो समय खडेरी परेको कारण लगाएका विरुवा सुक्न थालेको समयमा हिमपात र वर्षा भएपछि अब विरुवा हुर्किन सहज भएको बताउनुहुन्छ । किसानहरू खडेरी परेको कारण कात्तिके बाली लगाउन नसकिने चिन्तामा थिए । यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने हुम्लाका किसान दल भण्डारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो वर्ष पहिलोपटक हिउँ परेको छ, अहिले पनि निरन्तर परिरहेको अवस्था हो, यतिबेला परेको हिउँले बालीनालीलाई निकै राम्रो गर्छ, लामो समयसम्म पानी नपर्दा लगाएका बाली पनि सुकेर मर्न थालेका थिए, अब सप्रिने भए ।’ लामो समयको खडेरीपछि हिमपात हुँदा स्थानीय र बालबालिका हिउँमा रमाएका छन् ।
हिमपातसँगै बढेको चिसोले कर्णालीको जनजीवन भने प्रभावित भएको छ । महिला बालबालिका, दीर्घरोगी, सडक मानव चिसाले प्रभावित भएका हुन् । चिसोले भाइरल ज्वरो आउनसक्ने भएकाले अत्यावश्यक कामबाहेक बाहिर नआउन र झोलिला पर्दाथ खान चिकित्सकको सुझाव छ ।
सुदूरपश्चिममा पनि हिमपात
कर्णालीसँगै सुदूरपश्चिमका उच्च हिमाली जिल्लाहरू पनि हिमपात भएको छ । बाजुरा, दार्चुला, बैतडी, डोटी लगायतका जिल्लाका उच्च स्थानमा हिमपात भएको हो । हिमपातसँगै यि जिल्लाका स्थानीयको जनजीवन निकै प्रभावित भएको छ । आइतबार रातिदेखि बाजुराका बडिमालिका बुढीनन्दा जगनाथ मिली स्वामिकार्तिक लगायतका उच्च स्थानमा हिउँ पर्न सुरु भएको हो । यस्तै, दार्चुलाको अपिहिमाल गाउँपालिका र व्याँस गाँउपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो । यी जिल्लामा बाक्लो हिमपात भएपछि अहिले यहाँका बालबालिका तथा वयोवृद्धहरूलाई घर बाहिर आउजाउ गर्न निकै कठिन भएको छ । त्यति मात्र होइन बाहिर हिउँले पूरै जमिन पुरेपछि अहिले यहाँका स्थानीयलाई गाई भैँसी भेडाबाख्रालाई समेत चरिचरन गर्न तथा घाँसपात गर्न समेत निकै समस्या भएको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बाक्लो हिमपात कारण चिसो बढेसँगै अहिले यहाँका बालबालिकाहरूलाई रुघाखोकी न्यूमोनिया ज्वरो डर हुने सम्भावना छ । मंसिर, पुस र माघको महिनादेखि नै यहाँका अधिकांश ठाउँमा धेरै चिसो हुने गर्छ । त्यसैमा यति बेला बाक्लो हिमपात भएपछि अहिले यहाँका बालबालिकाहरूलाई विद्यालय जान त के घरबाहिर निस्कनसमेत कठिन भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच