काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रास्वपाका सभापति रवि लामिछानेका विषयमा प्रहरी उच्च अधिकारीसँग जानकारी लिएको छ । सोमबार आयोगले एआइजी टेकबहादुर तामाङ सहितका प्रहरी उच्च अधिकारीहरूसँग जानकारी लिएको हो । प्रहरी हिरासतमा रहेका लामिछानेमाथि अमानवीय व्यवहार गरी मानव अधिकार हनन गरेको भन्दै रास्वपाका तर्फबाट आयोगमा उजुरी दिइएको थियो । गएको बुधबार चितवनबाट लामिछानेलाई रातारात पोखरा पुर्याएर प्रहरीले मानव अधिकार उल्लंघन गरेको आरोप लगाइएको छ ।
‘सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका पूर्व-गृहमन्त्री लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले उहाँमाथि अमानवीय व्यवहार गरी मानव अधिकार हनन गरिएकाले छानविन गरी मानव अधिकार संरक्षण गरी पाऊँ भन्नेसमेत व्यहोराको आयोगमा परेको उजुरीका सम्बन्धमा आयोगबाट अनुसन्धान प्रारम्भ गरिएको छ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसक्रममा आयोगका सदस्य मनोज दुवाडीले कानुनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरिनुपर्नेमा आफूहरूको चासो रहेको बताउनुभयो । ‘बाहिर उठेका विषयहरूबारे हामीले सोध्यौँ । उहाँहरूले आफ्नो भनाइ राखेर जानुभएको छ । हामी अहिल्यै निष्कर्षमा पुगिसकेका छैनौँ । अनुसन्धानलाई निरन्तरता दिन्छौँ’, पोखरेलले भन्नुभयोे । दुवै प्रहरी अधिकारीले आइतबार चितवन प्रहरीले जारी गरेको विज्ञप्तिमा टेकेर जवाफ दिएका थिए । उनीहरूले प्रहरीबाट कुनै पनि किसिमको दुव्र्यवहार नभएको र सुरक्षा संवेदनशीलताका कारण राति लैजानुपरेको भनी बयान दिएको स्रोतको भनाइ छ ।
रविमाथि प्रतिशोधपूर्ण व्यवहार देखाइयो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेमाथि सरकारले गरेको व्यवहारको निन्दा गर्नुभएको छ । सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो । ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु,’ प्रचण्डले लेख्नुभएको छ ।
लामिछानेलाई अनुसन्धानका लागि वीरगञ्ज पुर्याइयो
यसैबीच, रास्वपाका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगञ्ज पुर्याइएको छ । लामिछानेलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं हुँदै सिमरा पु¥याइएको र त्यहाँबाट गाडीमा वीरगञ्ज लगिएको हो । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडिआइजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगञ्ज पुर्याइएको प्रहरीले जनाएको छ । उहाँहरूमाथि वीरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । यसअघि लामिछाने र जोशीमाथि छानविन गर्न कास्की जिल्ला अदालतले आइतबार चार दिनको म्याद थप गरेको थियो । लामिछानेलाई गत कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ गरी कास्की ल्याइएको थियो । लामिछानेमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि सातदिन, १० दिन, १३ दिन, १५ दिन र आइतबार चार दिन म्याद थप गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच