काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतका परियोजनामा ऋण स्वीकार नहुने दोहोर्याएको छ । बिआरआई अन्तर्गतका परियोजनामा अनुदान मात्रै लिने पनि कांग्रेसले प्रष्ट पारेको छ । सोमबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चीनसँग बिआरआईअन्तर्गत भएको एड फाइनान्सिङ पनि अनुदानकै रूप भएको प्रष्ट्याएको छ । बिआरआई फ्रेमवर्कअन्तर्गत चीनले अनुदान दिने परियोजनाहरू मात्र अघि बढ्ने पार्टीको निष्कर्ष रहेको जानकारी दिँदै पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले भन्नुभयो, ‘बिआरआईमा अनुदान सहयोग लिने हिजोको कांग्रेसको निर्णय थियो । आज पनि हामी त्यही निर्णयमा छौँ । चीनसँग बिआरआई फ्रेमवर्क समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसमा पनि अनुदानलाई निषेध होइन अनुदानलाई नै महत्व दिने शब्द प्रयोग भएको छ । यहीअनुरूप प्रधानमन्त्री, परराष्ट्र मन्त्रीले अनुदान लिने अरू लिन सक्दैनौँ भन्नुभएको छ । यसमा द्विविधा लिनुपर्ने छैन । प्रधानमन्त्री र हाम्रो त्यही भनाइ छ ।’
प्रवक्ता डा. महतले चीनसँग भएको बिआरआई फ्रेमवर्क समझदारी पत्रको आशय ऋण नभई अनुदान नै भएको दाबी गर्दै भन्नुभयो, ‘बिआरआई फ्रेमवर्कअन्तर्गत १० परियोजना सूची छन् । जुनमा अनुदान दिन चीन तयार हुन्छ त्यो परियोजना मात्रै सम्झौता र अघि बढ्छ, ऋण लिँदैनौँ । ऋण लिएर बनाएका परियोजना फलदायी भएनन् भन्ने हाम्रो निष्कर्ष छ ।’ नेपाल सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा प्रस्ताव गरेका १२ मध्ये दुईवटा हटाएर फ्रेमवर्कअन्तर्गत १० वटा परियोजना अघि बढाउने सहमति गरेको थियो ।
असन्तुष्टि पार्टी बैठकमा राख्न डा.शेखरलाई आग्रह
नेपाली कांग्रेसका नेताहरूले संस्थापनइतर समूहका नेता डा.शेखर कोइरालालाई असन्तुष्टि भए पार्टी संयन्त्रमा राख्न र सार्वजनिक रूपमा नबोल्न सुझाव दिएका छन् । सोमबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा पार्टीको औपचारिक फोरममा आफ्ना धारणा नराखेर सार्वजनिक रूपमा राखेको भन्दै नेताहरूले कोइरालाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । मतभिन्नता भए पार्टी बैठकमा राख्नुपर्ने तर बाहिर बोल्न नहुने विचार नेताहरूले राखेको जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले भन्नुभयो, ‘व्यक्तिगत असन्तुष्टि, सन्तुष्टिभन्दा पनि पार्टी एक भएर जानुपर्छ । सन्तुष्टि असन्तुष्टिको विषय पार्टीको सम्बन्धित संयन्त्रमै छलफल गर्नुपर्दछ । असन्तुष्टिको विषय बाहिर राख्नु हुँदैन र संस्थागत तरिकाले नै मत राख्नुपर्छ ।’ कार्यसम्पादन समिति बैठकमा सहभागी एक नेताका अनुसार, कार्यसम्पादन समिति सदस्य जिपछिरिङ लामाले डा. शेखरले बाहिर बोलेको विषयबारे असन्तुष्टि पोख्नुभएको थियो । त्यसपछि अन्य केही सदस्यले पनि शेखरबारे असन्तुष्टि राखेका थिए । यद्यपि, शेखरले भने बैठकमा केही नबोलेको नेताहरूको भनाइ छ । नेता कोइराला पक्षले १८ मंसिरमा कोशीका पालिका सभापतिहरू भेला गर्नुभएको थियो । सो विषय विवादित बनेपछि पार्टीभित्रबाटै विरोध पनि भएको थियो । लगत्तै, २२ मंसिरमा भएको पार्टीको प्रथम कोशी सम्मेलनमा मर्यादाक्रम असन्तुष्टि जनाउँदै नेता कोइरालाले कार्यक्रम बहिष्कार गर्नुभएको थियो । मञ्चमा सभापति शेरबहादुर देउवा पछिको मर्यादाक्रम आफूले पाउनुपर्ने कोइरालाको माग थियो । प्रदेश समितिले पार्टीको केन्द्रीय वरीयताअनुसार मर्यादाक्रम निर्धारण गरेको थियो । केन्द्रीय मर्यादाक्रममा उपसभापति पूर्णबहादुर खड्का दोस्रो स्थानमा हुनुहुन्छ ।
‘पोखरा विमानस्थल खराब ऋणमा पर्यो, प्रतिफल आउँदैन’
नेपाली कांग्रेसले चीनको एक्जिम बैंकको ऋणमा बनेको पोखरा विमानस्थलबाट प्रतिफल नआउने निष्कर्ष निकालेको छ । सोमबार बिहान बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले चीनको खराब ऋणको उदाहरण पोखरा विमानस्थल रहेको टिप्पणी गर्दै भन्नुभयो, ‘पोखरा विमानस्थलको पनि हाम्रो नराम्रो अनुभव छ । त्यसको प्रतिफल नआउने सुनिश्चित भइसक्यो । यो खराब ऋणमा पर्यो ।’ चीनले अनुदान प्रतिबद्धता गरेकै आयोजना अगाडि नबढेको विषयमा पनि कांग्रेसले ध्यानाकर्षण गराएको छ ।
उपनिर्वाचनको परिणाममा सन्तुष्ट
नेपाली कांग्रेसले मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको परिणामप्रति सन्तुष्टि जनाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता डा.महतले उपनिर्वाचनको नतिजा सन्तोषजनक नै रहेको बताउनुभएको हो । कार्यसम्पादन समिति बैठकमा उपनिर्वाचनबारे समीक्षा भएको र उपनिर्वाचनबाट पनि कांग्रेस पहिलो पार्टीकै रूपमा स्थापित भएकाले परिणाममा सन्तुष्टि नै लिइएको जानकारी दिँदै डा.महतले भन्नुभयो, ‘स्थानीय निर्वाचनलाई राष्ट्रिय राजनीतिको मुडको रूपमा बुझ्न हुँदैन । महत्वपूर्ण ठाउँहरूमा हामीले जितेका छौँ । यो परिणाममा पार्टी सन्तुष्ट नै छ ।’
गण्डकी प्रदेशको समानुपातिकमा सुनिता थापा
नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको हो । कांग्रेस सांसद विमला गौचनको मृत्यु भएका कारणले अर्को व्यक्तिलाई सांसद बनाइएको हो । समानुपातिक सूचीमा गौचनपछि रहेकी स्याङ्जाकी थापालाई सांसद बनाउने निर्णय भएको जानकारी दिँदै प्रवक्ता डा.महतले भन्नुभयो,‘समानुपातिक पदको पूर्ति गर्न सुनिता थापालाई प्रस्ताव पठाउने विषयलाई बैठकले अनुमोदन गर्यो ।’
उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन
नेपाली कांग्रेसले केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई पार्टीको केन्द्रीय कोषाध्यक्ष बनाउने सभापति शेरबहादुर देउवाको प्रस्ताव अनुमोदन गरेको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकले सभापति देउवाको प्रस्ताव अनुमोदन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका श्रेष्ठलाई देउवाले यसअघि नै रिक्त कोषाध्यक्षमा मनोनीत गर्नुभएको थियो ।
तरुण दल र किसान संघको परिमार्जित विधान पारित
नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल तरूण दल र नेपाल किसान संघको परिमार्जित विधान पारित गरेको छ । सोमबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तरुण दल र किसान संघको परिमार्जित विधान पारित गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । कांग्रेसले नियमित महाधिवेशन हुन नसकेका तरुण दल लगायतको महाधिवेशन चैतभित्र सम्पन्न गर्न निर्देशन समितिसमेत बनाएको छ । विधान पारित भएसँगै तोकिएको समयमा महाधिवेशन गर्ने बाटो खुलेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच