यसपटक धेरै दिनपछि चितवन गयौं । धेरै दिन बस्ने कार्यक्रम नभएकाले थोरै मात्रामा चामल किन्न नारायणगढ बजारका चामल पसलतिर लागेँ । नारायणगढ देशकै अन्नको ठूलो बजार हो, चितवन नेपालकै अन्न भण्डारमा पहिचान बनाएको जिल्ला हो । खाद्यान्नको पसलमा गएँ । स्थानीय चामल मागेँ, छैन भन्ने उत्तर आयो । एवं रितले धेरै खाद्यान्नका पसल चाहरेँ । नेपाली चामल पाइएन । म आश्चर्यचकित भएँ । कृषिप्रधान देशको खाद्यान्नमा परनिर्भरताको यात्राप्रति ग्लानि भयो । धिक्कार लाग्यो ।
देशलाई आत्मनिर्भरताको जबरजस्त नारा दिने राजनीतिका ठेकेदारको खाद्यान्न बजारमा देखिएको नकारात्मक उपलब्धिलाई दुर्भाग्यको संज्ञा दिए । अन्नको भण्डारमा चामल जस्तो अत्यावश्यक स्थानीय खाद्यान्न किन्न नपाइने ? के हाम्रो राजनीतिक परिवर्तनको गन्तव्य यहीँ हो ? राजनीतिक परिवर्तनप्रति नकारात्मक दृष्टिकोण उत्पन्न गर्ने परनिर्भरताको यो अवस्थाले राजनीतिका ठेकेदारप्रति एकाएक आक्रोेश र घृणा जाग्यो । खाद्यान्नमा परनिर्भरताले सिर्जित अनुत्तरित प्रश्नले मन अमिलियो । त्यो क्रममा एकजना पसलेलाई सोधेँ । स्थानीय चामल पाइने पसल तपाइँलाई थाह छ ? उनले भने बजारमा अहिले भारतीय चामलको मात्रै कारोबार छ ।
आजकल नेपाली चामल नारायणगढको बजारमा खोज्नु भनेको स्यालको सिङ खोज्नु जस्तै हो । के लोकतान्त्रिक शासनको प्रायोजित गन्तव्य परनिर्भरता हो ? शासन व्यवस्था र सरकारको गतिविधि, योजना, कार्यक्रम सम्पूर्ण असफल भएको अनुभूति भयो । हुन त प्रजातान्त्रिक व्यवस्थामा अहिलेसम्म एक कार्यकाल पूरा बिताएका प्रधानमन्त्री कोही छैन ? यो धरातलमा प्रजातान्त्रिक सरकारलाई मूल्यांकन गर्दा २०४७ को संविधानपछिका सबै सरकार र प्रधानमन्त्रीहरू असफल प्रमाणित भए ।
के बहुदलीय व्यवस्थाको उपलब्धि, प्रगति खाद्यन्नमा परनिर्भरता हो ? हिजो खाद्यान्न निर्यात गर्ने देश आज राजनीतिक परिवर्तनपछि युवा निर्यात गर्ने देशमा परिणत भयो । चितवन जस्तो अन्नको भण्डारको पहिचान बनाएको जिल्लामा भारतीय चामलको मात्र कारोबार हुने परिस्थिति बनेको छ ।
चितवनमा यतिबिघ्न भारतीय चामलको एकाधिकार छ भन्ने सोचेकै थिइन । देशलाई परनिर्भर बनाउन जब राजनीति लाग्यो भने सजिलै परनिर्भर बन्दोरहेछ भन्ने उदाहरण बन्यो स्थानीय चामल । निर्यात नगन्य भएको देशले आयातमा मात्रै भर पर्ने अवस्था र व्यवस्था भनेको देश अब टाट पल्टने तरखरमा छ भन्ने बुझ्दा हुन्छ । के नयाँ नेपाल भनेको टाटा पल्टेको नेपाल हो ? अहिलेको नेतृत्वसँग नेपाललाई आत्मनिर्भर बनाउने न सोच छ, न शिक्षा, न दृष्टिकोण छ, न कुनै इच्छाशक्ति छ । त्यसैको परिणाम हो हाम्रो गरिबी, पछौटेपन र नेपाली बजारमा विदेशी उपभोग्य बस्तुहरूको रजगज । अब प्रश्न आउँछ नेपालको धान उत्पादन गयो कहाँ ?
यसको उत्तर हो सबै भारत गयो । आफ्नो शुद्ध र ताजा उत्पादनलाई निर्यात गरेर भारतीय सडेगलेको चामल जनतालाई खान बाध्य पार्ने, जनताबाट निर्वाचित हुने तर प्राथमिकतामा जनता नपर्ने सरकारलाई कसरी र किन जनताको सरकार भन्ने ? प्रश्न उठ्छ सरकारको जिम्मेवारीमा हुनेहरूको उपलब्धि के ? पदीय हैसियत अनुसार भ्रष्टाचार गरेर व्यक्तिगत धन सम्पत्ति, जायजेथा, गरगहना जोड्ने । नैतिकता, इज्जत, प्रतिष्ठा, इमानदारी र इन्टिग्रिटीको भने लिलाम गर्ने ।
हामीले प्रगति गरेका छौं भनेर सरकारका पूर्व र वर्तमान प्रधानमन्त्री, मन्त्रीहरू फाँइफुट्टी लगाउँछन् तर यत्रतत्र सर्वत्र भताभुंग-लथालिंग गर्नेहरूले मेरो पालामा तरक्की गरेको थिएँ भन्न कत्ति लजाउँदैनन् । लाज हराएका नेताहरूको शासनमा बस्न र आत्मनिर्भरतालाई तिलाञ्जलि दिएको देशको नागरिक बन्न कति कठिन हुन्छ ? यो वेदना र आर्तनादलाई बुझ्ने, कथनी, करनी दुबै एउटै भएको नेतृत्व देशले कहिले पाउने ?
लथालिंग र भताभुंगलाई नै विकास, समृद्धि भन्नेहरूले जबसम्म सत्ता, शक्ति कब्जा गर्ने परिस्थिति बन्छ त्यो बेलासम्म नेपालर र नेपालीका दुर्दिनले किमार्थ छोड्ने छैनन् । जनताप्रति बेइमानी गर्नेहरू जसले तथाकथित राष्ट्रवादको मुकुण्डो भिरेका छन् तिनीहरूको शासनबाट देशले कहिले मुक्ति पाउला भन्ने चिन्ता लाग्यो । हिजो नारायणी नदी हुँदै डुंगाबाट चितवनको धान भारत निर्यात हुन्थ्यो । चितवनको खाद्यान्न भारतको पश्चिम बंगालको भागीरथीको किनारमास्थित मुर्सिदावादसम्म पुग्थ्यो । खाद्यान्नको निर्यात चीनमा पनि हुन्थ्यो । पञ्चायतकालमा धान-चामल निर्यात कम्पनीले खाद्यान्न निर्यात गर्दथ्यो ।
के बहुदलीय व्यवस्थाको उपलब्धि, प्रगति खाद्यन्नमा परनिर्भरता हो ? हिजो खाद्यान्न निर्यात गर्ने देश आज राजनीतिक परिवर्तनपछि युवा निर्यात गर्ने देशमा परिणत भयो । चितवन जस्तो अन्नको भण्डारको पहिचान बनाएको जिल्लामा भारतीय चामलको मात्र कारोबार हुने परिस्थिति भनेको युवा निर्यात गर्ने योजना र कार्य योजनाले सिर्जित नकारात्मक प्रतिफल हो ।
पञ्चायतको विरुद्धमा आन्दोलन हुँदै गर्दा सबै पार्टीका मुखियाहरूले देशलाई सिंगापुर, स्विट्जरल्याण्डदेखि नयाँ नेपाल बनाउने सपना बाँडे तर अहिले सत्तामा हुनेहरू करोडौंको घडी, तीसौं लाखको ब्यग बोक्छन् । सामान्य उपचारका लागि दिल्ली एयर एम्बुलेन्समा जान्छन् । उनीहरूका लागि नेपाल नै युरोप, अमेरिका बन्यो । हिजो स्वर्ग समान देशलाई आज यिनीहरूले जनताका लागि नर्क बनाए । नर्क बनाउनेहरूका लागि जहिलेसम्म यो देश स्वर्ग हुन्छ, त्यसस समयसम्म जनताका लागि नर्क हुन्छ । सत्तामा र पहुँचमा हुनेहरू प्रायः सबै भ्रष्टाचार, अनियमितता, कुशासनका कारण रोडपतिबाट करोडपति मात्रै होइन अर्बपति बने । जनताको हालत दिनप्रतिदिन खस्कँदो छ ।
त्यस्तो व्यवस्था, सरकार र नेतृत्व जनतालाई किन चाहियो ? युवाहरूलाई निर्यात गर्ने योजनाका कारण नेपालले आत्मनिर्भरतालाई तिलाञ्जलि दियो । यो योजना आत्मघाती योजना हो । परनिर्भरताको मुख्य कारण यहीँ हो । आत्मघाती योजनामा गर्व गर्ने सरकारलाई के संज्ञा दिने ? यो गम्भीर र हृदयविदारक घटनाको जिम्मेवारी कसले लिने ? आफ्नो जमिनलाई बाँझो राख्ने षड्यन्त्र भनेको युवाहरूको निर्यातको गलत योजना हो किनकि युवाहरूले उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दथे । तसर्थ देश खाद्यान्नमा आत्मनिर्भरमात्रै थिएन निर्यातसमेत गर्दथ्यो ।
आज विचार शून्यको शासनले देशलाई खाद्यान्न आयात गर्ने अवस्थामा पुर्यायो । देश विकासका लागि महत्वपूर्ण योगदान गर्दै आएका कागज, जुत्ता, चिनी, कृषिऔजार, कपडा, धागोलगायत अनगिन्ती उद्योगहरूलाई कमिसनको लोभमा कौंडीको भाउमा बेचेर देशलाई परनिर्भरताको खाडलमा जाकेँ । फेरि अर्को माओवादी भन्ने खाओवादी लुट, जबरजस्तीवादीले तर्साएर थप विकृति सिर्जना गर्ने हेतुले राजतन्त्र, हिन्दुराज्यको धर्म र मर्ममा प्रहार गर्ने कामले देश झन् लथालिंग र भताभुंग पार्ने योजनाको प्रतिफल हो ।
खुट्टादेखि टाउकासम्म विदेशी वस्तु लगाउन बाध्य नागरिकले समृद्धिको सपना देख्नुभनेको सोम शर्माको कथा जस्तै हो । आव २०७९/०८० मा नेपालले खाद्यान्न साढे ५६ अर्बको आयात गरेकोमा निर्यात ६९ लाख ४६ हजारको गर्यो । त्यस अवधिमा खाद्यान्नबाट मात्रै ५६ अर्ब ६१ करोड ८४ लाख व्यापार घाटा भयो । युवाहरूलाई निर्यात गर्दा खेतीयोग्य १० लाख हेक्टरभन्दा धेरै जमिन बाँझै रहृयो । आफ्नो जमिन बाँझै राख्ने र खाद्यान्न आयात गर्ने सरकारको नीतिको जति आलोचना गरे पनि कम हुन्छ ।
नागरिकलाई अनागरिक बनाउने योजनाले एक युवाले साथमा बीसौं लाख लगेकाले अहिले युवा र धन बाहिरिएका कारण निर्यात नगन्य छ भने आयात चुलिएको छ । युवा निर्यात गर्ने राष्ट्रविरोधी योजनाको सिकार सिंगो देश भएको छ ।
के परनिर्भरता हाम्रो विकासको गन्तव्य हो ? परनिर्भरतालाई समृद्धि मान्नुपर्ने हो ? युवाहरूलाई निर्यात गरेर देशलाई परनिर्भर र वृद्धाश्रम बनाउने व्यवस्था कसरी र किन उत्तम भयो ? भ्रष्टाचारमा, मानव तस्करीमा र जनता ठग्ने विभिन्न उद्योगमा प्रधानमन्त्री, मन्त्री, उपसभामुख, उच्च तहका निजामती कर्मचारी आदि संलग्न हुने राजनीति के उत्तम हो ? पैसाका लागि मानव बेचविखन र ओसारपसार गर्ने राजनीतिक नेतृत्वले देशलाई रसातलमा पु¥यायो । सहकारी ठगीको बजारमा प्रवेश गर्ने हो भने सबै पार्टीका पदाधिकारीले सहकारीलाई ठगेर आफ्नो बन्दोबस्त गरेको छताछुल्ल भयो । परिणामस्वरूप राजनीति ठग्ने व्यवसायमा चिनिएको छ ।
राजनीतिक नेतृत्व आफू र आफ्नाका लागि सफल तर देश र जनताका लागि सधैं किन असफल ? यो प्रश्न कहिलेसम्म अनुत्तरित हुने ? पञ्चायत आत्मनिर्भरतातिर उन्मुख हुँदै थियो । केही आधारभूत उद्योग उत्पादन र रोजगारी उन्मुख थिए । युवाहरू विदेशिने रोग भित्रिएको थिएन । बहुदलीय शासनपछि युवाहरू देशभित्रै रहँदा शासकहरूको र व्यवस्थासमेतको विरोध हुन्छ भनेर विरोधबाट बच्ने उपायको रूपमा बहुदलीय शासकले युवालाई निर्यात गर्ने राष्ट्रघाती योजना बनाए । युवासँगसँगै मुद्रासमेत बाहिरिएका कारण देश चरम आर्थिक संकटमा छ । नागरिकलाई अनागरिक बनाउने योजनाले एक युवाले साथमा बीसौं लाख लगेकाले अहिले युवा र धन बाहिरिएकाले निर्यात नगन्य छ भने आयात चुलिएको छ ।
युवा निर्यात गर्ने राष्ट्रविरोधी योजनाको सिकार आज सिंगो देश भएको छ । युरोप, अमेरिका र अष्ट्रेलियामा पढ्ने बहानामा गएका हाम्रा सन्तति फर्कँदैनन् । अब गाउँमात्रै होइन शहरका घर पनि खाली हुने दिन टाढा छैनन् । शिक्षित र नयाँ सोच हुने युवालाई निर्यात गर्ने देशले विकास, समृद्धिको नारा बर्बराउनु भनेको जनतालाई ढाँट्ने योजना हो । कृषि प्रधान देश अहिले सबैजसो खाद्यवस्तु आयातमै भरपर्नुपर्ने भयो । आत्मनिर्भरता भनेको खाद्यान्न पनि आयात गर्नुपर्ने हो ? वर्तमान राजनीतिक पद्धति र नेतृत्वसँग जनताको विश्वास छैन । जनताको विश्वास गुमाएको नेतृत्व र व्यवस्था दुबैको विकल्प नै अबको राजनीतिक गन्तव्य हुनुपर्छ ।
अब नेतृत्वको चित्र परिवर्तन गरेर हुँदैन चरित्र परिवर्तन गर्न अनिवार्य छ । वर्तमान पद्धतिबाट चरित्र परिवर्तन सम्भव देखिँदैन । तसर्थ चित्र र चरित्र परिवर्तन गरेर देशलाई आत्मनिर्भर र युवा शक्ति पलायनलाई रोक्ने, सबै युवाहरूलाई राष्ट्र निर्माणमा परिचालन गर्ने नेतृत्व, पद्धति नै देशको आवश्यकता र जनताको चाहाना हो । अनन्त सम्भावना बोकेको देशलाई परनिर्भरताको खाडलमा जाक्नेहरू सबैलाई जेलमा जाक्ने हिम्मत भएको प्रधानमन्त्री नै विद्यमान कुशासन, भ्रष्टाचार, बेरोजगारी, अभाव र परनिर्भरताबाट मुक्ति दिने एकमात्र समाधान हो न कि भागबण्डाका आधारमा असफल, अक्षम र भ्रष्टहरूको पालैपालो नेतृत्व ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच