कञ्चनपुरमा चुरेको निषेधित क्षेत्रबाटै नदीजन्य पदार्थको अबैध उत्खनन्

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । कञ्चनपुरमा चुरे क्षेत्रको निषेधित क्षेत्रबाटै नदीजन्य पदार्थको उत्खनन् भइरहेको पाइएको छ । जिल्लाको कृष्णपुर नगरपालिकामा पर्ने चुरे क्षेत्रबाट अबैध रुपमा ढुङ्गा र गिट्टी उत्खनन् भइरहेको छ ।

कृष्णपुर नगरपालिका-१ मा पर्ने बण्ड र ओदाली खोलाको चुरे क्षेत्रबाट अबैध उत्खनन् भइरहेको स्थानीयको गुनासो छ । ढुङ्गा, गिट्टी र बालुवा उत्खन्‌काे ठेक्का पाएको आरभ निर्माण सेवाले निषेधित क्षेत्रमा उत्खनन् गरिरहेको स्थानीयले बताएका हुन् । ओदाली र बण्ड खोलाको चुरे क्षेत्रबाट निर्माण कम्पनीले एक्स्काभेटर लगाएर धमाधम उत्खनन् गरिरहेको छ । मापदण्ड विपरीत उत्खनन् भइरहे पनि नियमन निकाय भने मौन छ।

एक्स्काभेटर लगाएर उत्खनन्

जिल्लाको कृष्णपुर नगरपालिका-१ स्थित बण्ड नदी र ओदाली खोलाबाट मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन् हुँदै आएको छ । चुरे फेदको ३ किलोमिटर क्षेत्र भित्रबाट उत्खनन् गर्न नपाइने प्रावधान विपरित ठेक्का हात पारेको आरभ निर्माण सेवाले चुरे नजिकैबाट उत्खनन् गर्ने गरेको स्थानीयको गुनासो छ। स्थानीयका अनुसार व्यवसायीले बिहान चार बजे नै चुरे फेदमै पुगेर एक्स्काभेटर लगाएर नदीजन्य पदार्थ उत्खनन् गर्दै आएका छन् ।

चुरेको निषेधित क्षेत्रमा पुगेर उत्खनन् हुँदा पनि सरोकारवाला निकायले कुनै चासो दिएका छैनन् । उक्त क्षेत्रमा पर्ने विशाल सामुदायिक वनकी वन हेरालु लालमती धानुकले जबरजस्ती गरेर केही व्यवसायीले निषेधित क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन् गर्ने गरेको बताउनुभयो । उहाँले व्यवसायीहरूले बिहान चार बजे नै आएर चुरे क्षेत्रको निषेधित क्षेत्रबाट उत्खनन् गर्ने गरेको बताउनुभयो ।

‘विहान चार बजे आइबटी उठाएर लैजानान् । जती भुणेलै नैमाण्डा’, उहाँले भन्नुभयो, ‘विहान झिक आउनान, दिनमा कम ट्याक्टर हुनान ढुङा लैजाने।’ ठेकेदार कम्पनीले बण्ड नदीमा नगरपालिकाले चिह्न लगाएको भन्दा माथि गएर ढुङ्गा, गिट्टी र बालुवा उठाउने काम गरेको स्थानीयको गुनासो छ।

बण्ड नदीमा बदमासी भइरहेको छः वडा अध्यक्ष

ठेकेदार कम्पनीले नगरपालिकाले रेखाङ्कन गरेको निषेधित चुरे क्षेत्रभन्दा करिब ६ सय मिटर माथिबाट उत्खनन् गरिरहेको स्थलगत रिपोर्टिङका क्रममा समेत देखिएको छ । निर्माण कम्पनीले एक्स्काभेटर लगाएर चुरे क्षेत्रबाट धमाधम उत्खनन् गरेको सुन्नमा आएको वडाअध्यक्ष मोहनबहादुर बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बण्ड नदीमा मापदण्ड विपरित उत्खनन् भइरहेको भन्ने कुरा मैले पनि सुनेको छु। त्यो खोलामा ठेकेदार र स्थानीय बिचौलियाहरूले अवैध उत्खनन् गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘यो विषयमा नगरपालिकालाई जानकारी गराउने र स्थलगत अनुगमनमा गएपछि मात्रै थप कुरा बोल्ने छु।’

मापदण्ड विपरीत काम गरे कारबाही गर्छुः नगर प्रमुख

कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले मापदण्ड विपरित उत्खनन् गरेको भेटिए कानून अनुसार कारबाही गरिने बताउनु भयो । गत वर्ष मापदण्ड विपरित उत्खनन् गर्ने व्यवसायीलाई कारबाही गरी १५ लाख जरिवाना असुल गरिएको बताउँदै यो वर्ष पनि खोलानालको अनुगमन गर्न कर्मचारीलाई निर्देशन दिइसकेको नगरप्रमुख ओझाको दाबी छ।

उहाँले मापदण्ड विपरीत उत्खनन् गरेको भेटिए कानुनअनुसार कारबाही गर्ने बताउनुभयो । कृष्णपुर नगरपालिकाले बण्ड नदी, ओदाली खोला र मछली खोलाको नदीजन्य पदार्थ संकलनका लागि आरभ निमार्ण सेवालाई ६ करोडको ठेक्का दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?