काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले प्रस्तावित राजदूतहरूसँग आर्थिक विषय केन्द्रित छलफल गरेको छ । सिएनआई अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलार्ई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गर्नुभयो । आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्दै नेपालमा रहेको लगानीका क्षेत्रका विषयमा सम्बन्धित देशका लगानीकर्तालाई नेपालसँग जोड्न राजदूतहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष अग्रवालले लगानी तथा निर्यात प्रवद्र्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने, विदेशी लगानीकर्ता तथा स्वदेशी लगानीकर्ताका लागि सबै नेपाली राजदूतावासमा ‘फोकल कन्ट्याक्ट पर्सन’ राख्नुपर्ने बताउनुभयो । कुनै पनि मुलुकसँगको सम्बन्ध राजनीतिकभन्दा आर्थिक सम्बन्ध स्थिर एवं बलियो रहेको विश्वको उदाहरण प्रस्तुत गर्दै उहाँले व्यवसायका माध्यमबाट देशको ब्राण्डिङ गर्न सकिने बताउनुभयो ।
नेपालको ‘कन्ट्री रेटिङ’ भइसकेको र राम्रो रेटिङ पाएकाले नेपालमा आवश्यक क्षेत्रमा लगानी भिœयाउन सहयोगी बन्न सक्ने विश्वास व्यक्त गर्दै सन् २०२६ मा नेपाल विकसित मुलुकमा स्तरोन्नति हुने भएकाले देशले पाउँदै आएको सुविधा नघट्ने तथा नेपालको हित हेरेर सौविद्य व्यापार सम्झौता (पिटिए) गर्नुपर्नेमा जोड दिनुभयो । सिएनआईले उच्च व्यापार घाटा कम गर्न नेपाली वस्तु प्रवद्र्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत्, पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्नेमा पनि जोड दिएको छ ।
परराष्ट्र मन्त्रालयका कामय मुकायम सचिव अमृतबहादुर राईले देशको प्रतिनिधिका रूपमा राजदूतहरूले नेपाली वस्तुको प्रवद्र्धन, नेपाली व्यवसायीलाई आवश्यक सहजीकरण गर्ने बताउनुभयो । उहाँले नेपाली व्यावसायिक क्षेत्रलाई सम्बन्धित मुलुकका लगानीकर्तासँग सम्पर्क स्थापना गर्न, नेपाली वस्तु तथा सेवा निर्यातमा आवश्यक सहजीकरणमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
राजदूतहरू डा. शंकर शर्मा, सेवा लम्साल, चित्रलेखा यादव, चन्द्रकुमार घिमिरे, डा. सुम्निमा तुलाधर, डा. जंगबहादुर चौहान, प्रा. कपिलमान श्रेष्ठ, प्रकाशमणि पौडेल, डा. शिवमाया तुम्बाहाम्फे, डा. पूर्णबहादुर नेपाली, डा. नेत्रप्रसाद तिम्सिनाले नेपाल र नेपालीको हितमा देशको प्रतिनिधिका रूपमा काम गर्ने बताउनुभएको थियो । आर्थिक कूटनीतिलाई हरेक राजदूतहरूले केन्द्रमा राख्नुपर्ने भन्दै आर्थिक विकासका लागि नेपाली निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्ने पनि उनीहरूले बताए । सो अवसरमा सिएनआईका पूर्वअध्यक्ष हरिभक्त शर्मा, वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, उपाध्यक्षहरू हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, परिसंघ गभर्निङ काउन्सिल सदस्यहरू शशिकान्त अग्रवाल, बालकृष्ण श्रेष्ठ, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच