काठमाडौं । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन एक सय ४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको अनुगमन भ्रमण गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुस्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङ सम्मिलित टोलीले सोमबार आयोजनाको स्थलगत अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको हो ।
टोलीले प्याकेज-१ अन्तर्गत एक सय ४० मिटर अग्लो मुख्य बाँध निर्माण, प्याकेज-२ अन्तर्गत भूमिगत विद्युत् गृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण, मुख्य सुरुङ निर्माणस्थलको अनुगमन गरेको थियो ।
कम्पनी तथा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी टोलीले निर्माण प्रगति, समस्या, निर्माण तालिकालगायतका विषयमा जानकारी लिएको थियो । तनहुँ हाइड्रोपावरका प्रबन्ध-सञ्चालक किरणकुमार श्रेष्ठ र आयोजना प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति र समस्यालगायतका विषयमा टोलीलाई जानकारी गराउनुभएको थियो ।
टोलीले आयोजनाको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने थप जग्गा अधिग्रहण, ऐलानी जग्गा समस्यालगायतका विषयमा तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सहायक प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय प्रमुख, मालपोत कार्यालयका प्रतिनिधिसँग समेत छलफल गरेको थियो । जग्गासम्बन्धी समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई आग्रह गरिएको थियो ।
आयोजनाले कार्यान्वयनमा ल्याएका वातावरणीय तथा सामाजिक सुरक्षणका विषय कार्यान्वयन र प्राविधिक पक्षमा एडिबीको विशेष चासो रहेको उल्लेख गर्दै नियोगका निर्देशक कुश्वाले हाल देखिएका समस्या तत्काल समाधान गरी तोकिएकै समय र गुणस्तरमा निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुलन हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।
विद्युत्गृह, प्रसारण लाइनलगायतका संरचना निर्माण अन्तिम चरणमा रहेको तर बाँध निर्माण चुनौतीपूर्ण र संवेदनशील रहेको उल्लेख गर्दै उहाँले बाँध निर्माणलाई विशेष प्राथमिकतामा राखी काम अघि बढाउन सम्बन्धित पक्षहरूलाई निर्देशन दिनुभयो । प्राधिकरणका अनुसार मुख्य संरचना तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।
ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ को सिमाना भएर बग्ने सेती नदीमा एक सय ४० मिटर उचाइको मुख्य बाँध निर्माण गरिने छ । प्याकेज-१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ । क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ ।
मुख्य बाँध निर्माण छिट्टै सुरु गर्न लागिएको छ । प्याकेज-१ को निर्माण प्रगति करिब ३६ प्रतिशत छ । प्याकेज-१ निर्माण सोङ दा कर्पोरेसन, भियतनाम-कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ । आयोजनाको प्याकेज-२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४ सय ९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ गरी कंक्रिट लाइननिङ भइरहेको छ । मुख्य सुरुङबाट गएको पानीलाई दुर्ई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत् भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिने छ । जसका लागि पेनस्टक पाइप जडान अन्तिम चरणमा छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिक तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज-२ को निर्माण कार्य सिनोहाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ ।
विद्युत्गृहको सिभिल संरचना निर्माण अन्तिम चरणमा छ । स्विजयार्ड निर्माण, विद्युत्गृहमा रहने उपकरण जडानलगायतका कार्यहरू भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । उक्त प्याकेजको समग्र भौतिक प्रगति करिब ६२ प्रतिशत छ ।
प्याकेज-३ अन्तर्गत दमौलीबाट भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य केइसी इन्टरनेसनल लिमिटेड भारतले गरिरहेको छ । ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७८ टावरको जग हालिएको छ भने ६९ टावर खडा गरिएको छ । उक्त प्याकेजको समग्र निर्माण प्रगति ७४ प्रतिशत रहेको छ । आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत् तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । जसअन्तर्गत स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका-४ र बन्दीपुर गाउँपालिका-६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनसम्म विद्युत् पुर्याउन ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।
सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्ध निर्माणलगायतका गरी ६३ परियोजना सम्पन्न भएका छन् भने १० परियोजना सञ्चालित छन् । आयोजना प्रभावितको जीविकोपार्जन तथा आयआर्जन वृद्धिका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन भइरहेका छन् ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत(प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कम्पनीले आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानी प्रयोग गरी तल्लो तटीय क्षेत्रमा एक सय २६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया अघि बढाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच