अब हिउँद महिना सुरु भइसकेको छ र यससँगसँगै चिसो पनि बढिरहेको छ । पश्चिम नेपालका पहाडी र हिमाली क्षेत्रमा पानी पर्नाका साथै हिमपात भइरहेको छ । हिउँद महिनामा यसो हुनुलाई अस्वाभाविक पनि मान्न मिल्दैन । समयचक्र अनुसार यस्तो हुनुपर्छ त्यो अन्यथा होइन । कहिले केही ढिलो र कहिले अलिक छिटो हुनु स्वाभाविक हो । यस वर्षको यो हिउँदे वर्षा र हिमपात अलिक छिटो भएको चाहिँ हो । कहिलेकाहिँ हिउँद निक्लँदो अवस्था अथवा फागुनमा बढी जाडो भएको रेकर्ड पनि छ । दुई दशक जति पहिले काठमाडौं उपत्यकामा समेत हिउँ फुरफुराएको फागुन मिहिनामै हो । त्यसरी कुनै-कुनै वर्ष मंसिर महिनामा भरखर जाडो सुरु हुने गर्छ ।
पुस र माघ महिनालाई सबैभन्दा बढी जाडो हुने महिनाका रूमा लिने गरिन्छ । ‘एकै माघले जाडो जाँदैन’ भन्ने त उखानै छ । नेपाली समाजमा प्रचलित यस्तो उखानले माघ महिना सबैभन्दा बढी जाडो हुने महिनाका रूपमा चित्रण हुनेगर्छ । तर, जलवायुको फेरबदलले गर्दा पछिल्लो समयमा माघमा भन्दा पुसमा बढी जाडो हुने गरेको छ । पहिलेका बुढापाकाले पुस महिनालाई ‘पुस फासफुस’ भनेर महत्व नै नदिने गरेका थिए । एक त दिन छोटा रात लामा हुने भएका कराण धेरै समय घरभित्र र छोटो समयमात्र घरबाहिर काममा रहने भएकाले जाडोको महसुस हुन नपाउने र अर्कातिर पुस महिना अरू महिनाभन्दा छोटो प्रायः २९ दिनको मात्र महिना हुने गरेको हुँदा यस्ता उखानहरू निर्माण हुने गरेका थिए ।
तर, हालका वर्षमा पुस महिनामै माघमा भन्दा चर्को जाडो हुनेगरेको छ । अझै यस वर्षको चिसोको संकेतले त मंसिर महिना नै अत्यधिक चिसो भएको महसुस हुँदै आएको छ । सामान्यतया हिउँदको झरी र हिमपात मंसिर महिनामा हुनेगरेको देखिँदैन तर यस वर्ष मंसिरको अन्तिम साता चलिरहेकै बेला हुम्ला जुम्लातिर बाक्लो हिमपात भएको र अन्य क्षेत्रमा पानी परेको छ । पूर्वी नेपाल र राजधानी रहेको काठमाडौं उपत्यकामा भने हालसम्म पानी परेको छैन । मौसम त्यति बिग्रिएको छैन । घाम लागिरहेकै छ तर घामको ताप मधुरो छ, चिसोको मात्रा भने दिनप्रतिदिन बढी नै रहेको छ । केही दशकयता पहिले पहिलेको भन्दा फरक खालको मौसम मानिसहरूले महसुस गर्दै आएका छन् ।
काठमाडौं उपत्यका हिउँद महिनामा बाक्लो हुस्सुले ढाकिने गथ्र्यो तर यताका केही वर्षदेखि यसरी हुस्सु लाग्न छोडेको छ । मानिसहरूको अधिक संख्याका कारण यहाँको वातावरण बिग्रिएर हुनसक्छ । त्यसरी नै मधेसतिर शीतलहर चल्दैनथ्यो र हिउँदमा पनि न्यानो नै हुने गथ्र्यो । जसले गर्दा केही सम्पन्न मानिसहरू हिउँद महिनामा तराईमा र गर्मी महिनामा काठमाडौंमा बस्ने गरी आफ्नो व्यवस्थापन मिलाउँथे । तिनका तराईमा घर र खेतीको जग्गाजमिन हुने गथ्यो र काठमाडौंमा पनि घर हुनेगरेको थियो तर पछिल्ला दिनहरूमा भने तराईमा पनि हिउँमा शीतलहर चल्नेगर्छ र कठोर जाडो हुन्छ । जाडोले कठांग्रिएर केही मानिसहरूको मृत्यु हुने गरेको छ ।
यसरी भएको मौसमी फेरबदल सबैलाई स्पष्ट रूपमा थाहा हुनेगरी बदलिँदै गएको छ । उपत्यकाको हुस्सु हट्नु र तराईमा कठोर जाडो हुनु यसको दृष्टान्त हो । यतिमात्र होइन सबै मानिसलाई प्रष्ट थाहा हुनेगरी पहिले पहिले गर्मी ठाउँमा पाइने वनस्पति र प्राणीहरू हालका दिनमा बढी उचाइमा पहाडी क्षेत्रहरूमाम समेत पाइन थालेका छन् । हिजोको हिउँले टानाटन भरिने हिमालहरू हाल नांगा पर्वत बन्न थालेका छन् । मौसमको बेमौसमी प्रभाव देखिने गरेको छ । गत असोजको झण्डै मध्यतिर आएको भलबाडीले भएको मानवीय र भौतिक क्षति झण्डै आधा शताब्दीपछिको हो भनियो । यस पटकको हिमपात त्यति अस्वाभाविक त होइन तर अलिक अगाडि भएको हो जस्तो चाहिँ देखिएको छ ।
पछिल्ला दिनमा मौसम पूर्वानुमान महाशाखाले पनि आधुनिक प्रविधि भएर होला धेरै नै मिलाउँदै आएको छ । त्यसकारण दिएको चेतावनीलाई पालाना गर्नु बुद्धिमत्तापूर्ण हुन आउँछ । अहिलेको यो वर्षा र हिमपातबाट जनजीवनमा त्यति प्रतिकूल प्रभाव चाहिँ परेको छैन । बरू यसबाट मानिसहरू खुशी भएका छन् । हिउँदे बालिनाली र सागसब्जीका लागि यो वर्षा आवश्यक थियो भनिँदैछ । त्यसैले प्रकृतिले आफ्नो काम गर्दै जान्छ । प्राकृतिक चक्र पूरा गर्नु प्रकृतिको कार्य हो र त्यस चक्रबाट आवश्यक लाभ लिनु र त्यो प्रतिकूल बन्न लागेको बेलामा जोगिनु मानिसको काम हो ।
हालका दिनमा सुरु भएको वर्षा र हिमपातबाट एकातिर लाभ लिँदै अर्कातिर त्यसबाट जोगिने बुद्धिमानीपूर्ण कार्य मानिसबाट हुनुपर्छ । चिसोबाट सिर्जना हुने रोग र बिरामीपनबाट जोगिन सावधानीका उपाय अपनाउनुपर्ने हुन्छ । दीर्घ रोगीहरूलाई चिसोले गर्मी महिनामा भन्दा बढी नै सताउँछ । दम जस्ता रोगको प्रभाव जाडोमै बढी हुने गरेको छ । सबै कारणले गर्दा प्रकृतिलाई वरदान र अभिसाफ दुबै ठानेर तिनबाट जोगिने र फाइदा लिने काम गर्नु उपयुक्त हुन जान्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच