ईश्वर के घर मे देर होता है अन्धेर नहि
यो हिन्दीको उखान हो । यसले परम सत्ताप्रतिको आस्था प्रकट गरेको छ । मान्छे अपूर्ण हुन्छ, अगाडिका भागमा रमाउँछ तर पाँच मिनेटपछि के हुनेवाला छ त्यो जाँन्दैन । पशु पूर्ण अज्ञानी हुन्छ त्यसैले ऊ प्राकृत अवस्थामा नै बाँचिरहेको छ । जड जडै भइगयो । त्यो चेतनले जसरी चलाउँछ त्यसैगरी चल्छ र बस्छ पनि । मान्छे चिन्तनशील प्राणी हो । ऊ चिन्तन गर्छ के गर्दा मेरो र मवरिपरिको वातावरण गुनकारी बनाउँन सकिन्छ भनेर सोच्न सक्छ । यसै सोचका कारणले २०४७ सालको आन्दोलन सफल भएपछि पनि गणेशमानजी र किसुनजीले गिरिजाप्रसाद कोइरालालाई उपयोग गरेर नै नेपाली राजनीतिको बाग्डोर सम्हाल्ने योजना बनाएका थिए तर संगठनधुरीण गिरिजाप्रसाद कोइरालाका अगाडि केही चलेन ।
जनताले हराए या षड्यन्त्रले हराइयो किसुनजी हार्नुभयो र पार्टीका सर्वोच्च नेता र पार्टी सभापति बाहिर बस्ने परिस्थितिका कारणले गिरिजाप्रसाद कोइरालालाई सत्तासञ्चालन निकै असजिलो भएको सर्वत्र महसुस गरिएकै थियो । किसुनजीले जितेका भए नेकपा एमाले पनि साइटमा बसेर विकास निर्माणका काम हुन्थे पनि होला तर किसुनजी जस्तो शालीन व्यक्ति पनि मनमोहनजीसँग मिलेर गिरिजाप्रसादलाई हटाइदिन राजासँग बिन्तीपत्र बोकेर पुग्नुभयो । २०४६ का आन्दोलनका उपलब्धिमा बारे किरा प्रवेश गर्ने बाटो यिनै तीनजना नेताका बीचको सत्ताको खेलले बनाएको थियो । यस प्रकारको बेमेलको बीजाधान त्यस बेलाको अन्तरिम कार्यकालमा नै भएको थियो । पेपरटाइगरका नामबाट चिनिने महेन्द्रनारायण निधि, महामन्त्री र कृष्णप्रसाद भट्टराई सभापति रहेको नेका केन्द्रीय समितिले अलिअलि धाँजा परेका कांग्रेसका चिरालाई शिरदेखि पुच्छारसम्म काँक्रो चिरेजस्तो चिरा पारिदिएका थिए ।
चुनाव हारेका व्यक्तिलाई एक कार्यकाल कुनै पदमा नल्याउने भनेर तीन नेताले सहमति गरेर पनि गिरिजाप्रसादले चुनाव हारेका डा.रामशरण महतलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइदिए । यसपछि गणेशमानजीले गिरिजाका विरुद्धको जेहादलाई कांग्रेस परित्यागसम्म पुर्याएका थिए ।
मैले कांग्रेसमा मधेसवादी, किसुनजी गुट, गिरिजाप्रसाद गुट, गणेशमान सिंह गुट भनेर यसै बेला जानेको थिएँ । जनकपुरमा पनि निधि र सरोज या मैयाँगुट बनेको थियो । यसैका तुसका रूपमा चुनाव हारेका व्यक्तिलाई एक कार्यकाल कुनै पदमा नल्याउने भनेर तीन नेताले सहमति गरेर पनि गिरिजाप्रसादले चुनाव हारेका डा.रामशरण महतलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइदिए । यसपछि गणेशमानजीले गिरिजाका विरुद्धको जेहादलाई कांग्रेस परित्यागसम्म पुर्याएका थिए । किसुनजी भने तालमेल मिलाउने ध्याउन्नमा लाग्दालाग्दै पञ्चायत प्रवेश गर्न लागेको आशंकामा जसलाई उहाँले पढ्न भनेर बेलायत पठाउनुभएको थियो उहाँलाई उचाल्ने गल गिरिजाप्रसाद कोइरालाले नै पहिलो मन्त्रीमण्डलको गृहमन्त्री बनाएर बाटो खोलिदिएका थिए ।
रामचन्द्र, शैलजा, सुशील, गोविन्द, खुमबहादुर जस्ता गिरिजाप्रसादका इमानदार मान्छे हुँदाहुँदै किसुनजीले चोरेर शिवबहादुर बिपिनहरूसँग पञ्चायत प्रवेश गर्न नदिएर रोकेका मान्छेलाई गृहमन्त्री बनाएका थिए । यो चिन्तनबिनाका कामले गरेका गल्तीको मूल्य उहाँले पनि चुकाउनु परेको तथ्य कांग्रेसका गतिविधिमाथि निगरानी राख्ने सबैले चाल पाएकै कुरा हो । आत्मनो मुखरागेण बध्यन्ते शुकसारिकाः या किन चाउरिस् मरिच आफ्नै रागले भनेको पनि यही होला ।
राजनीतिक गतिविधिमा जनसहभागिता
विसं २००७ फागुनमा राणा र शाहको सत्तास्वार्थका चौघेरालाई तोड्न पहिलो पटक नेपाली जनताले नेपाली कांग्रेसका नेतृत्वमा अदम्य उत्साह र अभूतपूर्व साहस प्रदर्शन गरेर १०४ वर्षे पारिकतन्त्रलाई समाप्त गरी नेपाललाई आधुनिक राजनीतिक दृष्टिले राज्य बनाएको घडी पनि यही नै थियो । यसपछिका अनेकौं उठापटकका क्रममा पनि नेपाली जनता नेपालीबाटै प्रताडित हुँदै मुक्त हुँदै गरेको इतिहासका साक्ष्यमा अहिले फेरि नेपाली कांग्रेस र नेकपा एमालेको मिलीजुली सरकार बनेको छ । यो कुरो राजनयिक सिद्धान्तका दृष्टिले त्यति सुहाउँदिलो कदम होइन । प्रजातन्त्रमा अनेकौं सानाठूला दलहरू बनिन्छन् र तिनले आआफ्नो भूमिका पनि निर्वाह गरेका हुन्छन् नै ।
अहिले आएर नेपाली कांग्रेसका सभापतिको आन्तरिक तयारी र आफ्नै वर्चस्वमा पार्टीलाई चलाउने ‘भुसाग्नियोजना’ (भुसको आगाका प्रकृतिको योजना) डा.शेखर कोइरालाले बुझेछन् कि भन्ने अनुमान गर्न सकिने केही अभिलक्षण देखापर्न लागेका छन् । १३७ पालिका मध्ये ११३ पालिकाका अध्यक्षले यसै उनलाई साथ दिएका होइनन् । उनका आचरण र चिन्तनमा देखापरेका अभिलक्षणले डुब्न लागेको कांग्रेसलाई पार लाउन सक्ने तागत अहिले उनीबाहेक अरूमा नदेखेर नै हो । घरभित्रको बेमेल देखे भने छिमेकीले पनि हेप्छन् टेर्दैनन् बरू फुटाउन र द्वन्द्व गराउन तिनलाई सजिलो हुन्छ भन्ने बुझेर डा.शेखर कोइरालाले डेग चाल्नु आवश्यक देखिन्छ ।
राजनीतिले जुन बाटो समातेको देखिन्छ त्यसलाई ठीक ठाउँमा ल्याउन निर्लोभ, उच्च नैतिकता, कम बोल्ने र बोलेका कुरामा दृढ अडान, सानाठूला सबै दलका नेतासँगको सहसम्बन्ध, परिस्थिति र प्रसंगलाई चिनेर आफूले प्रतिक्रिया दिने कि अरूबाट ध्वनित गराउने भन्ने कुरामा धेरै गम्भीर चिन्तन गर्ने गर्नुपर्छ । किनभने रवि लामिछानेका सम्बन्धमा उहाँले बोलेका कुराले भोलि अर्कै मोड लिन पनि सक्छ । डा.शेखरका यस कुरामा भने हामीले कमजोरी देख्यौं । कांग्रेस र एमालेको सरकार निर्माणका सम्भावनाको बाटो बनाउने उनै पहिला व्यक्ति हुन् । अहिले आएर उनकै असन्तुष्टिको स्वर सुनिन लागेको देख्दा यिनी पनि कतै ओली जस्तै हल्काफुल्का टिप्पणीमा नओर्लिऊन् भनेर सबैले चाहेको भेटिन्छ ।
राजनेताले जहिले पनि जनताको चाहना र जनताका काममा आफूलाई अहोरात्र उभ्याउन सक्नुपर्दछ भन्ने कुरो विश्वेश्वरप्रसाद कोइरालाको र सुवर्ण शमशेरका आचरणलाई मसिनु गरी हेरे पुग्छ । अझै चन्द्रशेखर, बीपी सिंह, जयप्रकाशनारायण आदिको जीवनीलाई पनि राम्ररी हेर्नु आवश्यक छ । जबसम्म जनताका बीचमा उभिएर कुनै मान्छे मौरीको रानु जस्तो बन्न सक्ंदैन तबसम्म उसले म नेता भएँ भनेर नसोच्नु नै कल्याणकारी कुरा हो । जनताको सहयोग र समर्थनले मात्रै मान्छे नेता बन्छ भने जनता, देश र मानवमूल्यलाई आचरणमा उतारेर देखाउने चाहिँ राजनेता मानिन्छ । बीपी, गान्धी, नेहरू, माओचाओ, मार्सल जोसेफ, ब्रज टिटो, नासिर आदिका जीवनबाट राजनेताको अभिलक्षण तय गर्न सकिन्छ ।
प्रत्येक कुराको सिद्धिका निमित्त त्याग र योगको आवश्यक्ता हुन्छ । विनात्यागका प्राप्तिले आनन्द प्रदान गर्दैन । जोगमेहर श्रेष्ठ, हेमबहादुर मल्ल शरच्चन्द्र शाह, नानीमैयाँ दाहाल यसका उदाहरण हुन् । ठूला कुलमा उत्पन्न हुँदैमा पनि हुँदोरहेनछ भन्ने कुरो आजका नेपाली सबैले बुझेका छन् ।
सन् यात्सेन जस्ता इतिहासलाई प्रभावित पार्ने र दङस्याओ पिङ जस्ता विश्वराजनीतिक गतिका विपरीत उभिएर मुलुक बचाउन सक्ने चरित्र निर्माणमा ध्यान दिनुपर्छ । एक्लो बृहस्पति बनेर पनि संसारको गुरु बनेका कृष्ण पनि मान्छे नै थिए । राजनीतिमा उपयुक्त निर्णय गरेरमात्रै पुग्दैन त्यसलाई क्रियान्वयन गर्ने धैर्य, इमानदारीता र उच्च नैतिक आत्मबलको पनि आवश्यकता पर्दछ । अहिलेका सत्ताधारी र सत्तासयरको तयारी गरेर बसेका दुवै व्यक्ति चारित्रिक र आचरणमा विश्वसनीय कहिल्यै देखा नपरेका कारणले आज नेपाली समाजमा आशंकैआशंका व्याप्त भएको देखिन्छ । विशेषगरी राजनीतिक व्यक्तिका कुरा नपत्याउने स्थिति यसै कारणबाट उत्पन्न भएको देखिन्छ ।
अतः त्यसका प्रति तिनै बढी उत्तरदायी रहेका छन् । विगतमा गल्ती नगरेका र सत्संकल्पवान् मान्छेलाई नेता बनाएकै घडीबाट सकारात्मक कुरा आउन थाल्छ । बिरालाले दूध रुँगेर बस्छ भन्ने कुरो दुनियाँको कुनै पनि मान्छेले पत्याउने कुरा होइन । अतः डा.शेखर कोइराला जस्ता सम्भावना भएका, जनता तथा कार्यकर्ताले साथ दिएका नेताले आफूलाई जनता र कार्यकर्ताको हितमूर्तिका रूपमा उभ्याउनु आवश्यक छ । बोलेकै अनुसार काम नभए बोलेर पो हुन्छ के ? अबका दिनमा विराटनगरमा प्रदर्शन गरेको दृढतालाई सुदूरपश्चिमसम्म पुर्याउन सक्नुपर्दछ कोइरालाले किनभने बाटाका डिलमा बसेर रोएर स्वास्नी पाइँदैन । स्वास्नी खोज्नेले कि फकाउन सक्नुपर्छ कि लछारेर लगेर भोग्न सक्नुपर्छ । राजनीति र वनिता दुवै समान चरित्रका हुनेभएकाले भनिन्छ वीर भोग्या वसुन्धरा ।
उद्योगिनं पुरुषसिंहमुपैति लक्ष्मी :
उद्योगी पुरुषलाई साधारण जीवलाई सिंहले जस्तै गरी झम्टँदै लक्ष्मी उपस्थित हुन्छिन् । प्रत्येक कुराको सिद्धिका निमित्त त्याग र योगको आवश्यक्ता हुन्छ । विनात्यागका प्राप्तिले आनन्द प्रदान गर्दैन । जोगमेहर श्रेष्ठ, हेमबहादुर मल्ल शरच्चन्द्र शाह, नानीमैयाँ दाहाल यसका उदाहरण हुन् । ठूला कुलमा उत्पन्न हुँदैमा पनि हुँदोरहेनछ भन्ने कुरो आजका नेपाली सबैले बुझेका छन् । देशगुनको भेष गर्न सकेको भए र राजनीतिको चरित्र बुझेको भए आजको नेपालमा डा.शशांक कोइरालालाई हराउन साक्षत् पशुपतिनाथले पनि सक्दैन थे । उनी उठ्दैमा जित्थे तर उनमा नेपालीले अति भलाद्मीपना मात्रै देखे राजनीतिक इच्छाशक्ति र नवप्रवर्तनको हुट्हुटी नदेख्दा उनलाई सम्मान गरेर पनि भर पर्न नसक्ने परिस्थिति बन्न पुगेको देखिन्छ ।
यसबेला अब उनले आफूलाई दाजुको सहयोगी बनाएर अगाडि बढे आफ्नै पिताले बिराएको गैरीखेतरूप नेपाली कांग्रेसको पनि गतिविधि सुध्रने र द्यौपितृ पनि खुशी भएर आशीर्वाद दिने अवस्था देखिन्छ । उहाँ जस्तो सुशिक्षित, सम्मानित व्यक्तिले आफूलाई चुनावका वेलामा जहिले पनि दोविधामा राख्नु हानीकारक हुन्छ कुल र वंशपरम्पराकै लागि पनि । यद्यपि नेपाली कांग्रेसमा भाइभाइका बीचमा मेल देखिएको छैन २००९ सालदेखि नै । बीपी जस्तो महान् चिन्तन, चरित्र र अन्यान्य अनेकौं गुणले भरिएका, बौद्धिक दृष्टिले उच्च तहको बौद्धिकता भएका र २००७ सालको सर्वोच्च कमाण्डरसमेत बनेका मातृकाप्रसाद कोइरालाका बीचमा फाटो नपरेको भए उहिल्यै संविधानसभा आउँथ्यो र आज नेपाल स्विट्जरल्याण्डका परिस्थितिमा शायद उभिएको हुनेथियो ।
देश र जनताका निमित्त आआफ्ना चाहना र स्वार्थका लागि पर्खने सुझबुझ पनि मौकामा देखाउन सक्नुपर्छ । अन्यथा जनता, कार्यकर्ता र इतिहासले पनि सराप्छ । राजा महेन्द्रलाई प्रजातन्त्रको हत्यारा सबैले भन्छन् नै । बीपीलाई सबैले महान् भनेर युगौंयुग सम्मान गर्ने नै छन् । जीवनभरि चुनाव जितेर छ, सात पटक प्रधानमन्त्री बनेका मान्छेभन्दा पटकपटक चुनाव हारेका कृष्णप्रसाद भट्टराई बढी लोकप्रिय बनेका छैनन् र ? जसले चुनाव हारेको सुन्न नसकेर मान्छे मुटु बन्द भएर मरे त्यस्ता नेताको विरासत हो कांग्रेस । थोत्रो छाता, सुराही र टिनको ट्याङ्का लिएर बालुवाटारको सर्वोच्च शासक बनेको मान्छे तिनै थोत्रा सामान लिएर फर्केको मान्छेभन्दा लोकप्रिय बारम्बार सत्ता सयर गर्ने बनेको इतिहास छ कतै ? अतः प्राप्तव्य चरित्र हो पदपैसा, आरामविरामका मोजमस्तीका साधन होइनन् । क्रियासिद्धि सत्वे भवति महतां नोपकरणे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच