हुन त म कुनै ठूलो व्यक्ति तथा नेपाली पत्रकारिता क्षेत्रलाई मूल्यांकन गर्ने औकात राख्ने व्यक्ति होइन । तैपनि यसभित्रका धेरै रहस्यहरूलाई नजिकबाट नियालेको र अनुभव गरेको हुनाले केही लेख्ने प्रयास गरेको छु । समाजका विकृति–विसंगतिहरूलाई जानकार गराउने क्षेत्रभित्र पनि धेरै विकृति–विसंगतिहरू छन् । जुन आमसमुदायसामु पुग्दैन वा पु-याउने गरिँदैन । पछिल्ला केही घटनाहरूले वा समयसमयमा देखिने मिडियाको ढुलमुलपनले मिडिया कति निष्पक्ष छ वा छैन भन्ने कुराको पुष्टि गर्दछ । तर, आज यो आलेखमा भने मिडिया निष्पक्ष छ वा छैन भन्ने भन्दा पनि यसभित्र काम गर्ने व्यक्तिहरू चाहिँ कस्ता छन् र हुन्छन् भन्ने बारेमा चर्चा गर्न खोजिएको छ ।
के पत्रकारहरू स्वतन्त्र छन् ? समाचारमा उनीहरू आफ्नो भाव स्वतन्त्र रूपमा बोल्न सक्छन् कि मालिक वा दलको क्यामेरा बोल्छ भन्ने मुद्दा महत्वपूर्ण छ ।
यहाँ अहिले दुई खाले पत्रकार छन् । एक चाकरीबाज र अर्को इमानदार पत्रकार । चाकरीबाजहरूको हालीमुहाली बढी हुन्छ भने केही अपवादबाहेक इमानदार पत्रकारहरू धेरै एउटै संस्थामा टिक्न सक्दैनन् ।
मात्र उच्च पद र मिडिया मालिकको हरेक प्रस्तावलाई कसरी स्वीकार गर्ने भन्ने सिकेका व्यक्तिहरूको हालीमुहाली अहिले नेपाली मिडियामा देख्न सकिन्छ । आफूले गरेको सही काम पनि उसको बिनाकामको अबजेक्सनलाई हजुर सर, भइहाल्छ नि, भन्नुस् न, अहिले नै हुन्छ, हुन्छ नि, हजुर भन्नुस् मात्र म गरिहाल्छु नि भन्नेहरू नै अहिले मिडिया जगतमा बिकिरहेका छन् । यदि तपाईंले यस्तै चाकारी गर्नसके मात्र त्यो मिडियामा तपाईंको जागिर स्थायी हुने । पत्रकारिताका सिद्धान्त, उद्देश्य र कार्यहरू चाकारीमा बदलेको खण्डमा मात्र तपाईं टिक्न सक्नुहुन्छ नत्र टिक्न धेरै गाह्रो छ ।
दिनभरि कागज समातेर कागजको पाना भर्नतिर लागेका ती इमानदार पत्रकार जसलाई एक कप चिया खान फुर्सद छैन । तर, ती चाकरीबाजहरूलाई भिआइपी रेस्टुरेन्टमा पार्टी खान फुर्सद हुँदैन ।
इमानदारीका साथ पत्रकारिता गरेकाहरूलाई घरको कथा त परै जाओस्, समयको कुनै मतलब हुँदैन । समाचार–समाचारभन्दा भन्दै दौडिरहेका हुन्छन उनीहरू । अनि ती चाकारीबाजहरू चाहिँ हामी यो देशका पत्रकार हौँ भन्दै दौडिरहन्छन् ।
चार कप चिया सकिसक्दा समेत एउटा सम्पादकीय लेख्न नसक्ने सम्पादकसमेत यहाँ अहिले चोकचोकमा भेटिन्छन् । अब आफै मूल्यांकन गर्नुस् त यस भित्रका पात्रहरूलाई । कामप्रतिको इमानदारी कसैलाई मन पर्दैन । जो आफ्नो मिडिया र कामप्रति इमानदार छन् उनीहरू निराश छन् । ती थाकेका छन् । गलेका छन् । आक्रोशित छन् । मिडियाको यस्तो अवस्था देखेर उकुसमुकुस भएका छन् । उपायको खोजीमा पनि छन् । तर, ती झ्याप्पै कतै हिँडिहाल्न सक्ने अवस्थामा पनि छैनन् । किनभने ती इमानदार व्यक्तिले आफ्नो पेसालाई न्याय गरेका छन् । कति पत्रकारले त स्वतन्त्र पत्रकारिता गर्दागर्दै जीवनकै बलिदानसमेत दिएँ ।
अध्ययनशील, लगनशील र निडर भए मात्र पत्रकार बन्न सकिन्छ । तर यहाँ त ठीक त्यसको उल्टो छ । तपाईं जत्ति सक्नुहुन्छ, डराउनुस् । कराउनुस् र चाकरी गर्नुस् मात्र मालिकको । अनि असल पत्रकार बन्नुहुन्छ । यतिसम्म कि सकभर एक एजेन्ट बन्नुस्, आफ्नै मिडिया हाउस भित्रका महिला पत्रकारहरूलाई मालिकको कोठासम्म पु¥याउने । रातीराती म्यासेज पठाउनुस् ती महिला पत्रकारलाई । पद र सुविधाको प्रलोभन देखाउनुस् । अनि ठूलै पत्रकार हुँ भन्दै बजारमा शिर ठाडो पारेर हिँड्नुस् ।
यस्तै पात्रहरू कै कारण हो, आज–भोलि पत्रकारको मूल्य बजारमा बेच्न राखेको सब्जीभन्दा पनि सस्तो भएको । यहाँ दुई÷चार पिस मासु र भोड्कासँग कैयौँ समाचार लुक्ने गर्छन् । गलतलाई लुकाएर चाकरी गरी पत्रकारिता गर्ने पात्र धेरै छन् यहाँ । त्यसको ठीक विपरीत थर्काएर, ब्ल्याकमेल गरेर वा धम्की दिएर आफ्नो फाइदा लुट्नेहरूको भिड पनि छ यो भित्र । एकचोटि डराउनुस् आफ्नो समाचारसँग, ताकि त्यो तपाईंको समाचारले भोलि नेपाली मिडियाको भविष्य कहाँ पुर्याउला भनेर । पत्रकारको मूल्य त त्यतिखेर हुन्छ, जब कसैले तपाईं के गर्नुहुन्छ भनेर सोध्यो भने छाती फुलाएर भन्न सक्नुस्, पत्रकार हुँ म ।
मेरो कारण नेपाली समाज यति सकारात्मक रुपान्तरण हुन सकोस् । त्यसैले नेपाली पत्रकारिता भित्रका पात्रहरूले आफू मह ओसार्ने माहुरी हुँ कि सरुवा रोग भित्र्याउने झिँगा हुँ भन्ने हेक्का राख्नु आवश्यक छ । आजको यो आलेखको उद्देश्य कोही पनि स्वतन्त्र, इमानदार तथा निष्पक्ष पत्रकारको चित्त दुखाउनु होइन । तर अरूको विकृति–विसंगतिमाथि प्रश्न उठाउने राज्यको चौथो अंगले आफूभित्रको विकृति विसंगतिलाई पनि नियाल्नु आवश्यक छ । अब यस पछिको पत्रकारिता स्वतन्त्र र निष्पक्षमा आधारित नभई अरूको भरमा कलम चलाउने यो नेपाली पत्रकारितालाई जरैदेखि उखेल्न जरुर ठान्दछु ।
(लेखक विश्वकर्मा विगत एकदशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँ समसामयिक विषयबस्तुसँग रहेर लेख समेत लेख्ने गर्नुहुन्छ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच