‘बेनीको बजार,जता मायाँ उतै छ नजर
किरेमिरे जाले रुमाल’
म्याग्दी । २०१८ सालमा स्व.टीकाबहादुर श्रेष्ठले रचना गरेर टीकाबहादुर श्रेष्ठ र मना छन्त्यालको स्वरमा रेडियो नेपालमा रेकर्ड भई लोकप्रिय बनेको माथी उल्लेखित यो गीतले म्याग्दीलाई देश र विदेशमा चिनाएको छ ।
लाहुरेहरुको जिल्ला भनेर चिनिएको म्याग्दी पछिल्ला केही वर्षयता पर्यटक, प्रकृति, पौरखी र प्रतिभावानहरुको संगम स्थल भनेर चिनिन थालेको छ । बैंक तथा वित्तिय संस्थाहरुको तथ्याङ्क अनुसार म्याग्दीमा वार्षिक ती अर्ब ६० करोडको हाराहारीमा रेमिट्यान्स भित्रिन्छ ।
जिल्लामा भित्रिएको यति ठूलो रकम जिल्लाको विकास निर्माण, उद्योग, कलकारखाना, विद्युत र पर्यटनका क्षेत्रमा भने न्यून रुपमा लगानी हुँदै आएको छ । विदेशबाट आएको रकम अध्ययन वा रोजगारीका लागि अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान वा अन्य देशमा जाने विद्यार्थी र युवाहरुमार्फत विदेश नै फर्किने गरेको जिल्लाका बुद्धिजीविहरुको भनाइरहेको छ ।
अब म्याग्दीको पहिचान लाहुरेको जिल्ला भनेर होइन पौरखी,उद्यमी र प्रतिभावान व्यक्तिहरुको जिल्ला भनेर हुन थालेको गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री एवम् सांसद रेशम जुग्जालीले बताउनुभयो ।
उहाँले भन्नुभयो “अब लाहुरेहरुले पठाउने रेमिट्यान्सको मात्र आस गरेर बस्ने दिन गए, म्याग्दीले पुरानो परिचय बदलेर पौरखी र उद्यमीहरुको जिल्ला भनि चिनिन थालेको छ । यहाँ आशा लाग्दा नयाँ प्रतिभाहरु जन्मिरहेका छन्,पाका प्रतिभाहरुले जिल्लाको मात्रै होइन देशको नाम नै अन्तराष्ट्रिय क्षेत्रमा समेत उजागर गरेका छन् ।
पछिल्लो समय म्याग्दीलाई महावीर पुनको जिल्ला, निर्मल पूर्जाको जिल्ला, खड्ग गर्बुजाको जिल्ला, प्रकाश दुतराजको जिल्ला, घोडेपानी र धौलागिरिको जिल्ला, टिम्मुर र सिस्नो विदेश पठाउने जिल्ला, जलविद्युतको जिल्ला, कला र संस्कृतिको धनी जिल्ला, धेरै रेमिट्यान्स भित्रिने जिल्ला, खेलाडीहरुको जिल्ला भनेर चिनिन थालिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीबजारको ऐतिहाँसिक र व्यापारिक महत्व वाइसे/चौविसे राज्यको इतिहाँससंग जोडिएको म्याग्दीका इतिहास तथा साहित्यकार चन्द्रप्रकाश बानियाँले उल्लेख गर्नुभएको छ । प्राचिन समयमा भोट-मधेशको व्यापारिक नाका रहेको यो सानो तर सुन्दर बजार कालीगण्डकी करिडोरको निर्माणसंगै फेरी एकपटक उत्तर दक्षिणको व्यापारिक नाका बन्दैछ ।
“म्याग्दीको पहिचान फराकिलो बन्दैछ । अब म्याग्दीलाई लाहुरेहरुको जिल्ला मात्र भनियो भने अन्याय हुन्छ” बेनी बजारका व्यवसायी एवम् पर्यटन अभियन्ता राजेश शाक्यले भन्नुभयो “काली र मंगला (म्याग्दी) नदीको संगम स्थलमा अवस्थित यो जिल्ला अब पर्यटन,प्रकृति,पौरखी र प्रतिभाको संगम स्थल पनि बन्दै जान थालेको छ ।”
समुद्री सतहदेखि धौलागिरि हिमालसम्म ८ हजार १ सय ६७ मिटर उचाइमा रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार नेपालका पहाडी जिल्लाहरूमा रहेको सदरमुकामहरूमध्ये प्रकृतीको सुन्दर उपमा मानिन्छ ।
कान्लाको सिस्नो र खोल्साखाल्सीको टिम्मुरदेखि लिएर बगैंचामा लटरम्मै फलेका सुन्तला होउन् वा घरेलु तानबाट बुनेका अल्लोको कपडादेखि लिएर जंगलका जडिबुटीहरु किन नहोउन् ती सबै प्राकृतिक स्रोतहरुलाई यहाँका पौरखीहरुले आय आर्जनका गतिला माध्यम बनाउँदै गएका छन् ।
यहाँ निर्माण भएका घरेलु प्रविधिबाट निर्मित नेपाली हातेकागज र अल्लोका कपडा देखि लिएर सिस्नो र टिम्मुरको धुलोसम्म काठमाण्डौं,पोखरा जस्ता सहरहरुमा मात्रै होइन विदेशमा समेत निर्यात हुने गरेका दरबाङका उद्यमी एवम् स्थानीय बुद्धिजीवि मोतिराज गौतमले बताउनुभयो ।
“हामी जाँगरिला मात्रै होइनौ सिपालु पनि छौँ,पौरख गर्ने जाँगर त छ तर राज्यको सहयोग र प्रोत्साहन अलि कम छ” उहाँले भन्नुभयो “पौरखीहरुको पौरखलाई राज्यले सम्मान गर्दै उचित वातावरण तयार गरिदिने हो भने ससाना उद्यमहरुबाट पनि स्वावलम्वी बन्न सक्ने प्रशस्त स्रोतहरु जिल्लामा रहेका छन् ।”
घरेलु तथा साना उद्योग विकास समितिको एक तथ्याङ्क अनुसार साना तथा कुटिर उद्योगहरुको अवस्था खस्कदो अवस्थामा छ । तर,संचालनमा रहेका तीन सय बढी उद्योगहरुले उत्पादन गरेका सामाग्रीहरु जिल्लामा मात्रै होइन देशका विभिन्न सहरहरु र विदेशमा समेत निर्यात हुने गरेका छन् । यहाँका दुई हजारबढी कृषक महिलाहरुले व्यवसायीक रुपमा तरकारी तथा फलफूल खेती गरेर मनग्गे आम्दानी गरेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
प्रतिभाका धनी छन् म्याग्देली
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनदेखि देशैभरी चर्चित कान्छा गायक प्रकाश दुतराज अहिले निकै चर्चामा हुनुहुन्छ ।
उहाँहरु मात्रै होइन म्याग्देली भूगोलमा जन्मिनुभएका धेरै व्यक्तिहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान बनाइसक्नुभएको छ । उहाँहरुको प्रतिभाले म्याग्दीलाई प्रतिभावान व्यक्तिहरुको जिल्ला भनेर पहिचान बनाएको छ ।
शिक्षा, विज्ञान प्रविधि,गीत संगीत, खेलकुद, साहित्य, कला हरेक क्षेत्रमा म्याग्दीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको नेपाली कांग्रेस म्याग्दीका नेता नेत्रबहादुर महतले बताउनुभयो ।
“हरेक क्षेत्रका प्रतिभाहरु यहाँ जन्मिएका छन्, ती प्रतिभाहरुको सदुपयोग गर्न र उनीहरुलाई प्रोत्साहित गर्न अब ढिला गर्नु हुँदैन” महतले भन्नुभयो “महाबीर पुनलाई अमेरिकाले चिन्यो हामीले अझै चिन्न सकेका छैनौं, खड्ग गर्बुजालाई भीरपाखा, बन जंगल, खोलानालाले समेत चिने तर हामी भने पप र र्याप गीत संगीतलाई पछ्याउँदै छौँ, धेरै प्रतिभाहरु अझै ओझेलमा हुनुहुन्छ ।”
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही, मदन पुरस्कार विजेता साहित्यकार चन्द्रप्रकाश बानियाँ, अन्तराष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्की, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, भारतमा दोस्रो पाणिनी (व्याकरणकार) को उपाधी प्राप्त स्व.गोविन्दाचार्यलगायतका थुप्रै प्रतिभावान व्यक्तिहरु म्याग्दीले जन्माइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच