काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-२५ घर भई काठमाडौंको टोखा नगरपालिका-६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका-१२ घर भई काठमाडौं महानगरपालिका-२८ बस्ने ३२ वर्षीया गीता कुँवर तथा काठमाडौं बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका सिराहाको सिरहा नगरपालिका-७ घर भई काठमाडौं-२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पक्राउमध्ये मधुले रोमानिया पठाइदिने भन्दै तीनजना पीडितहरुबाट रु सात लाख, गीताले युके पठाइदिने भन्दै आठजना पीडितबाट रु १६ लाख पाँच हजार तथा दिव्याले स्लोभाकिया पठाइदिने भन्दै एकजना पीडितबाट रु पाँच लाख १५ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”
प्रहरीले मधुलाई काठमाडौंको टोखा-६ बाट र गीतालाई काठमाडौं-२८ बाट तथा दिव्यालाई काठमाडौं न्यूरोडबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेकामध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो । रासस




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि