अमेरिका । नेपाल पत्रकार महासंघले अमेरिकामा आफ्नो शाखा गठन गरेको छ । महासंघको विधान अनुसार देश बाहिर पनि शाखा विस्तार गर्दै जाने क्रममा अमेरिकामा शाखा गठन गरिएको महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले जानकारी दिनु भएको छ । अधिकारीका अनुसार, शाखाको तदर्थ समितिको संयोजकमा हाल अमेरिकामै रहनुभएका महासंघका पूर्व केन्द्रीय सदस्य आङछिरिङ शेर्पालाई चयन गरिएको छ ।
शेर्पालाई संयोजकको रुपमा तीन महिनाभित्र महासंघको सदस्यता वितरण गरेर अधिवेशन गर्न जिम्मेवारी तोकिएको छ । ‘तीन महिनाभित्र सदस्यता विस्तार गरेर अधिवेशन गराउने गरी तपाईंलाई महासंघ अमेरिका शाखा तदर्थ समितिको संयोजक तोकिएको छ’ कार्यवाहक अध्यक्ष अधिकारीले हस्ताक्षर गरेको मंसीर २० गते प्रेषित पत्रमा उल्लेख छ ।
यसैबीच संयोजक शेर्पाले पनि महासंघले आफूलाई अमेरिकाको संयोजक चयन गरी जिम्मेवारी दिएकोमा महासंघको नेतृत्वप्रति आभार व्यक्त गर्नुभएको छ। ‘मलाई विश्वास गरेर महासंघको शाखा विस्तार गर्न जुन जिम्मेवारी दिइएको छ, म त्यसलाई अमेरिकामा रहेका सबै नेपाली मूलका पत्रकार साथीहरू र महासंघका पूर्व नेतृत्वतहमा रहेका साथीहरूसँग सल्लाह गरेर पूरा गर्ने प्रयास गर्नेछु’ शेर्पाले भन्नुभयो ।
शेर्पा करीब दुई दशकदेखि अमेरिकामा बस्दै आइरहनुभएको छ । नेपालमा रहँदा कान्तिपुर दैनिकमा आवद्ध रहनुभएका उहाँ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने दक्षिण एशियाकै पहिलो पत्रकार पनि हुनुहुन्छ । करीब अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील शेर्पा नेपाल अमेरिका पत्रकार संघ-नेजाका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । उहाँकै पहल र कार्यकालमा नेजा र महासंघबीच सहकार्यको सम्झौता भएको थियो । हाल उहाँ एभरेष्ट टाइम्सको प्रधान सम्पादक हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच