साउदी अरब । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियाले आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मुख्यालयमा भएको मतदानमा साउदी एक्लैले विश्वकप खेलाउने जिम्मेवारी पाएको हो ।
साउदीका पाँच शहरहरू रियाद, जेद्दा, अल खोबर, आभा र निओमका १५ वटा रंगशालामा खेल खेलाइने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । साउदीले विश्वकप आयोजनाका लागि १०औँ अर्ब डलर लगानी गर्ने बताएको छ । फिफाले दुई हप्ताअगाडि सार्वजनिक गरेको मूल्यांकनमा साउदीको प्रस्तावलाई इतिहासमा सबैभन्दा बढी ५ मा ४.२ नम्बर दिएको थियो । यसअघि अस्ट्रेलियाले विश्वकप आयोजना गर्ने दाबी गर्दै आए पनि मंगलबारमात्र अस्ट्रेलिया विश्वकप आयोजनाको दाबीबाट पछि हटेको थियो । सन् २०२२ को विश्वकप अर्को एसियाली देश कतारमै भएको थियो ।
अब ४८ टोली सहभागी फिफा विश्वकप आयोजना गर्ने साउदी अरेबिया पहिलो एसियाली राष्ट्र हुने छ । सन् २०२६ को आगामी विश्वकप फुटबल क्यानडा र अमेरिकाले संयुक्तरूपमा आयोजना गर्दै छन् । फिफाले आगामी विश्वकपदेखि नै सहभागी संख्या ३२ बाट बढाएर ४८ बनाएको हो । यस्तै सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वेले संयुक्तरूपमा आयोजना गर्ने छन् ।
सन् २०३० को विश्वकपका तीन खेल भने अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुने छन् । विश्वकप आयोजनामा सय वर्ष पुगेको अवसरमा यी तीन देशमा तीन खेल हुन लागेको हो ।
पछिल्लो समय साउदी अरेबियाले विश्व खेलकुदमा आफ्नो बर्चस्व बनाउन ठूलो लगानी गरेको छ । विश्वकपकै लागि भनेर साउदीमा ११ वटा बृहत् रंगशाला निर्माण गर्ने योजना बनाएको छ । त्यस्तै एक लाख ८५ वटा होटलका कोठाहरू, विमानस्थल, सडक, रेलसहितका आधुनिक पूर्वाधारहरूको निर्माण गर्ने लक्ष्य पनि साउदी सरकारको छ । साउदी सरकारले विश्वकपकै लागि भनेर निर्माण गर्ने सबै भौतिक पूर्वाधारमा आप्रवासी श्रमिकको पसिना मिसिने पक्का छ । साउदीमा चार लाख नेपालीसहितका एक करोड ३४ लाख आप्रवासी श्रमिक कार्यरत छन् ।
लाखौं नेपालीसहितका कामदारको पसिनाको जगमा आजको साउदी अरबको समृद्धि निर्माण भएको हो । साउदीलाई अरबको सबैभन्दा कडा कानुनी शासन व्यवस्था भएको मुलुकमध्येको एक मानिन्छ । अनि यसले अँगालेका श्रम अभ्यासहरूको विश्वव्यापीरूपमा आलोचना पनि भएको छ ।
सन् २०१० मा फिफाले कतारमा कार्यरत श्रमिकहरूको हक र अधिकार सुनिश्चित नगरी सन् २०२२ को विश्वकप आयोजना गर्ने जिम्मेवारी दिएको भन्दै कडा आलोचना भएको थियो । यस्तै आलोचना अब साउदीको हकमा पनि दोहोरिने पक्का छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच