काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुनिश्चित गरेको हो । काठमाडौंले प्रस्तुत गरेको १०२ रनको लक्ष्य जनकपुरले १५.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।
प्रतियोगितामा छैटौँ खेल खेलेको जनकपुरको यो पाँचौँ जित हो । जनकपुरले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध आठ विकेटको, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो । पाँचौँ खेलमा भने जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको थियो ।
जनकपुरको जितमा जिम्मी निसमले १७ बलमा एक चौका र तीन छक्कासहित २७ रन बनाउनुभयो । ४४-४ को कठिन स्थितिबाट निसमले पाँचौँ विकेटका निम्ति हर्ष ठाकेरसँग ३३ रनको साझेदारी गर्दै जनकपुरलाई जित नजिक पुर्याउनुभएको थियो ।
अविजित रहनुभएका ठाकेरले २५ बलमा एक चौका र एक छक्कासहित २५ रन बनाउनुभयो । ठाकेरसँगै अविजित रहनुभएका मोहमद मोहसिनले सात बलमा तीन चौकासहित १३ रन बनाउनुभयो । जनकपुरका कप्तान लाहिरू मिलान्थाले १६ रन बनाउँदा कप्तान अनिल साहले ११ रन बनाउनुभयो । सुवास कंसाकारले पाँच र आसिफ सेखले दुई रन बताउनुभयो ।
काठमाडौंका कप्तान करण केसीले दुई विकेट लिनुभयो । साहब आलम, गेरहार्ड इरास्मस र दिपेश कँडेलको नाममा समान एक विकेट रहृयो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो । काठमाडौंका गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाउनुभयो । उहाँले २ चौका प्रहार गर्नुभएको थियो भने कप्तान करण केसीले १३ बलमा दुई चौका र एक छक्कासहित १९ रन बनाउनुभएको थियो । साहब आलम आठ रनमा अविजित रहनुभयो ।
ओपनर स्टेफन एस्किनजीले १९ बलमा दुई चौकाहित १७ रन जोड्नुभयो । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्यसअघि काठमाडौंले ओपनर माइकल लेभिटलाई आठ र भीम सार्कीलाई चार रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । राशिद खानले सात, प्रतीक श्रेष्ठले ६ र राशिद खानले एक रन बनाउनुभयो । काठमाडौंका सुमित महर्जन र दिपेश कँडेल ‘डक’ हुनुभएको थियो ।
काठमाडौंविरुद्ध जनकपुरका ललितनारायण राजवंशीले तीन विकेट लिनुभयो । चार ओभर बलिङ गर्नुभएका ललितले दुई मेडन फ्याँक्दै आठ रनमात्र खर्चिनुभयो । उहाँले काठमाडौंका स्टेफन एस्किनाजी, सुमित महर्जन र प्रतीक श्रेष्ठको विकेट लिनुभयो ।
योसँगै ललित प्रतियोगितामा सर्वाधिक विकेट लिने बलर बन्नुभएको छ । उहाँले हालसम्म ६ खेल खेल्दा ११ विकेट लिनुभएको छ भने जनकपुरकै किशोर महतोले ६ खेलमै १० विकेट लिनुभएको छ ।
ललितबाहेक शेर मल्लले पनि तीन विकेट लिनुभयो । ३.३ ओभर बलिङ गर्नुभएका शेरले ११ रन खर्चिनुभयो । शेरले डान डाउथवेट, करण केसी र दिपेश कँडेलको विकेट लिनुभयो । मोहमद मोहसिनले दुई विकेट लिनुभयो । चार ओभर बलिङ गर्नुभएका मोहसिनले २० रनमात्र खर्चिनुभएको थियो । उहाँले भीम सार्की र गेरहार्ड इरास्मसलाई पभेलियनको दिशा देखाउनुभएको थियो । यस्तै, किशोर महतो र अरनिको यादवले समान एक–एक विकेट लिनुभयो । किशोरले माइकल लेभिट र अरनिकोले राशिद खानको विकेट लिनुभएको थियो ।
जितसँगै ६ खेलबाट १० अंक जोडेको जनकपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलबाट चार अंक जोडेको काठमाडौं तालिकाको चौथो स्थानमा छ । काठमाडौंले यसअघिका चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ । काठमाडौंले पहिलो खेलमा चितवन राइनोजविरुद्ध पाँच विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा कर्णालीविरुद्ध तीन विकेटले पराजित भएको काठमाडौंले चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग पुनः ७३ रनको हार बेहोरेको थियो । चौथो खेलमा भने काठमाडौंले लुम्बिनी लायन्सविरुद्ध १८ रनको जित निकालेको थियो ।
सुपर ओभरमा पोखरासँग विराटनगर पराजित
यसैबीच, नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबार भएको पहिलो खेलमा विराटनगर किङ्स पराजित भएको छ । सुपर ओभरमा पोखरा एभेन्जर्सले विराटनगरलाई १३ रनले पराजित गरेको हो । यो जितसँगै पोखराले प्लेअफ पुग्ने सम्भावनालाई जीवितै राखेको छ । हारले विराटनगरलाई कठिन मोडमा पुर्याएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा टस जितेर ब्याटिङको निर्णय लिएको विराटनगरले २० ओभरको समाप्तिमा सात विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको पोखराले २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर समान १४० रन कटाउन नसक्दा खेल सुपर ओभरमा धकेलिएको हो ।
सुपर ओभरमा पोखराले सुरुवाती ब्याटिङ गरेको थियो । मैदानमा रेमन रिफर र आन्द्रेश गौसको जोडीले स्पिनर सन्दीप लामिछानेले फ्याँकेको ६ बलमा १७ रन जोड्नुभयो । सुरुवाती दुई बलमा रिफरले छक्का प्रहार गरेपछि पोखराले बलियो योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका लागि मार्टिन गप्टिल र निकोलस किर्टोनको जोडीले रिफरको बलमा मात्र पाँच रन बनाउन सक्नुभयो ।
पोखराले पाँच खेल खेल्दा दोस्रो खेलमा जित हासिल गरेको हो । बाँकीका दुई खेलमा राम्रो रनरेटमा विजयी प्राप्त गर्ने हो भने पोखराले प्लेअफमा स्थान बनाउने सम्भावना छ । गणितीय हिसाबमा झिनो आशा अझै बाँकी रहेको विराटनगरको यो चौथो हार हो ।
अब विराटनगरले आगामी दुई खेलमा जित त हासिल गर्नुपर्ने छ नै, विपक्षी टोलीको नतिजाले पनि उसको प्लेअफ समीकरणको छिनोफानो गर्ने छ । व्यावहारिक हिसाबमा हेर्ने हो भने विराटनगरको शीर्ष चारभित्र अटाउने सम्भावना एकदमै न्यून छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच