काठमाडौं । आबाल ब्रहृमचारी षडानन्द प्रतिष्ठानले बालागुरु षडानन्दको १९०औं जयन्तीमा विशिष्ट तीन व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ । उक्त प्रतिष्ठानको १७औं वार्षिकोत्सवका अवसरमा पुरस्कार अर्पण गरेको हो । यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार प्राडा.जगदीशचन्द्र रेग्मी (गोकर्ण, काठमाडौं)लाई प्रदान गरिएको छ । त्यस्तै, षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार सुश्री भद्रकुमारी घले (डिल्ली बजार, काठमाडौं)लाई प्रदान गरिएको छ भने षडानन्द क्षेत्रीय पुरस्कार श्री कुन्ता शर्मा, (धरान)लाई प्रदान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष प्रा.चेतोनाथ गौतमको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध वैज्ञानिक, वनस्पति तथा वातावरणविद् प्राज्ञ डा.तीर्थबहादुर श्रेष्ठले एक लाख रुपैयाँ राशिको षडानन्द राष्ट्रिय पुरस्कार, एकाउन्न हजार रुपैयाँ राशिको षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार र एकाउन्न हजार रुपैयाँ राशिकै षडानन्द क्षेत्रीय पुरस्कार गरी तीन पुरस्कार अर्पण गर्नुभएको थियो ।
प्रमुख अतिथि श्रेष्ठले पुरस्कृत व्यक्तित्वहरूले देश र समाजका लागि पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । षडानन्द जस्तो महात्माको नाममा स्थापित पुरस्कार पाउनु गर्वको विषय भएको पुरस्कृत व्यक्तित्वहरूले बताउनु भएको थियो ।
समारोहमा प्रतिष्ठानले प्रकाशित गरेका ‘षडानन्द संस्मरण ग्रन्थ’ र वरिष्ठ कवि माधव वियोगीद्वारा लिखित ‘कर्मयोगी षडानन्द महाकाव्य’ तथा शब्दयात्रा प्रकाशनबाट प्रकाशित र सुदीप अधिकारीद्वारा लिखित ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’ नामका तीन ग्रन्थ लोकार्पण गरिएको थिए । लोकार्पित कृतिका बारेमा प्रतिष्ठानका उपाध्यक्ष प्रा.लालानाथ सुवेदी र महाकाव्यकार माधव वियोगीले प्रकाश पार्नुभएको थियो ।
समारोहमा ‘कर्मयोगी षडानन्द महाकाव्य’का महाकाव्यकार वरिष्ठ कवि माधव वियोगी र ‘आबाल ब्रहृमचारी षडानन्दको व्यवस्थापन कुशलता’ पुस्तकका लेखक व्यवस्थापनविद् यादवकुमार चापागाईंलाई सम्मान गरिएको थियो । यस्तै, प्रतिष्ठानलाई आर्थिक सहयोग गर्ने महानुभावहरूलाई दाता सम्मान पत्र र नयाँ आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतिष्ठानका सदस्य रवीन्द्र अधिकारीले सहजीकरण गर्नुभएको सभामा प्रतिष्ठानका सचिव प्राडा.बद्रीविशाल भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्री आत्मेश्वर चापागाईंले प्रस्तुत गरेको आयव्यय प्रतिवेदन पारित गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच