विराटनगर । उद्योग संगठन मोरङ र पूर्वाञ्चल विश्वविद्यालयबीच व्यवसाय सम्वद्र्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालन सम्झौता भएको छ । सम्झौतामा संगठनका स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छा र विश्वविद्यालयका फ्याकल्टी अफ म्यानेजमेन्टका डिन डा. सन्देशदास श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । संगठनले विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमका माध्यमबाट युवालाई उद्यमशीलता रूपान्तरण र इको सिस्टम विकास गर्ने सन्दर्भमा संघीय सरकारले उक्त कार्यक्रम पहिचान गरी कार्यक्रमलाई थप बढावा दिन सरकारले चालु आर्थिक वर्षको बजेटमा सातवटै प्रदेशमा व्यवसाय सम्वद्र्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छ ।
हस्ताक्षर कार्यक्रममा कोशी प्रदेशको हकमा उद्योग संगठन मोरङसँग सहकार्य गरी व्यवसाय सम्वद्र्धन केन्द्र सञ्चालन गर्नु निजी क्षेत्रका लागि गौरवको विषय भएको संगठनका कार्यक्रम संयोजक सुरेन्द्र गोल्छाले बताउनुभयो । उद्यमशीलता विकासका सन्दर्भमा निजी क्षेत्रको प्रयासलाई संघीय सरकारले पहिचान गरी सहकार्य गर्नुले आफूहरूलाई उत्साहित बनाएको भन्दै उहाँले सरकारलाई धन्यवाद दिनुभयो ।
संगठन र विश्वविद्यालयबीच भएको सम्झौतासँगै कार्यक्रमलाई ट्रिपल हेलेक्स पद्धतिअनुसार निजी क्षेत्र, शैक्षिक क्षेत्र र स्थानीय सरकारको सहकार्यमा र संघीय सरकारको सहयोगमा विराटनगरमा स्थापना हुने व्यवसाय सम्वद्र्धन केन्द्रले स्टार्टअप कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्ने संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले बताउनुभयो । उद्योग संगठन, पूर्वाञ्चल विश्वविद्यालय र विराटनगर महानगरपालिकाको सहकार्यमा स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम थप संस्थागत गरिँदै आएको उहाँको भनाइ थियो ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न सम्वद्र्धन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै केन्द्रबाट प्रदान हुने सेवालाई आवश्यकताअनुसार आगामी दिनमा परिमार्जन र परिष्कृत गरी थप प्रभावकारी बनाउने जानकारी गराउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव छविन्द्र पराजुलीले सरकारले युवा उद्यमशीलता प्रवद्र्धन गर्न सातै प्रदेशमा व्यवसाय सम्वद्र्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालनका लागि कार्यक्रम बनाएको र कार्यक्रम कार्यान्वयनका लागि उद्योग संगठन मोरङमा सञ्चालित स्टार्टअप तथा इनोभेसन कार्यक्रमलाई नै थप व्यवस्थित गरी अघि बढाउन लागेको बताउनुभयो ।
विश्वविद्यालयका फ्याकल्टी अफ म्यानेजमेन्टका डिन सन्देशदास श्रेष्ठले कार्यक्रमअन्तर्गत पहिलो चरणमा विश्वविद्यालयका विभिन्न १० वटा सम्बन्धन प्राप्त कलेजबाट ३० वटा आइडिया एक आइडियामा तीनजना रहने गरी ९० जना विद्यार्थी छनोट गर्ने र दोस्रो चरणमा ९० जनाबाट ३० जना छनोट गरी सात महिनासम्म सम्वद्र्धन केन्द्रका माध्यमबाट स्टार्टअप इको सिस्टमका सेवा उपलब्ध गराइने जानकारी दिनुभयो । कार्यक्रममा संगठनका उपाध्यक्ष विपिन राठी, विश्वविद्यालयका डेपुटी डिन सोनिला शाक्यका साथै विभिन्न क्याम्पसका प्रमुखहरूको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच