काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार) देशभर मतदान हुँदै छ । निर्वाचनबाट आगामी तीन वर्षका लागि महासंघको केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरूको नेतृत्व चयन हुनेछ । केन्द्रीय निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालका अनुसार सबै जिल्लामा मतपत्र पुर्याउने लगायतका तयारी सम्पन्न भएको बताउनुभयो ।
‘केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिका लागि हल्का गुलाबी रंगको मतपत्र तयार गरिएको छ । शान्तिपूर्ण एवं सौहार्दपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने अपेक्षा गरेका छौँ’, खनालले हिमालय टाइम्ससँग भन्नुभयो ।
महासंघको अध्यक्षका लागि दुईजना उम्मेदवार प्यानलगत रूपमा र अन्य दुईजना स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन् । सत्तारूढ गठबन्धननिकट नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलले निर्मला शर्मालाई अध्यक्षको रूपमा अघि सारेको छ । माओवादी निकट प्रेस सेण्टरको समर्थनमा रमेश विष्टले अध्यक्षमा उम्मेदवारी दिएका छन् । यसअघि युनियनमा सक्रिय विष्टलाई संगठनको निर्णयविरुद्ध उभिएको भन्दै युनियनले कारवाही गरेको छ । स्वतन्त्र समूहबाट देवीप्रसाद सापकोटा र एलएस लामा अध्यक्षको उम्मेदवार बनेका छन् । मुख्य प्रतिस्पर्धा शर्मा र विष्टबीच हुने आँकलन छ ।
महासंघको वरिष्ठ उपाध्यक्षका लागि दीपक आचार्य र रोशन पुरी, महिला उपाध्यक्षमा नितु पण्डित र गंगा पौडेल, समावेशी उपाध्यक्षमा उमिद बागचन्द र सुभाषप्रसाद साह, महासचिवमा रामप्रसाद दाहाल, लेखनाथ न्यौपाने र जन्मदेव जैसी उम्मेदवार रहेका छन् । निर्वाचनबाट लेखा समितिसहित ४९ जना केन्द्रीय समितिमा निर्वाचित हुनेछन् ।
प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा हुने निर्वाचनका लागि ७७ वटै जिल्लामा मतदान केन्द्र तोकिएको छ । प्रतिष्ठान शाखा र एसोसिएट संस्थाहरूको मतदानका लागि पनि काठमाडौंका विभिन्न स्थानमा मतदान केन्द्र तोकिएको छ । सूचना विभागबाट जारी प्रेस पास र सरकारी परिचयपत्रका आधारमा मतदान गर्न सकिने निर्वाचन समितिले जनाएको छ । देशभर हुने निर्वाचनको मतगणना सम्बन्धित जिल्लामा हुने र एक साताभित्र सम्पूर्ण परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । महासंघको गत चैतमा हुनुपर्ने निर्वाचन विविध कारणले अहिले हुन लागेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच