हिटाकर्मी रायमाझी पत्रकार महासंघ पाल्पाको सचिवमा विजयी

रायमाझीको यात्रा : बजार व्यवस्थापकदेखि महासंघको सचिवसम्म

काठमाडौं । हिमालय टाइम्स राष्ट्रिय दैनिकका पाल्पा संवाददाता तथा जिल्लाका क्रियाशिल पत्रकार रामचन्द्र रायमाझी पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ पाल्पा शाखाको सचिवमा भारी मतले विजयी हुनु भएको छ । निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट सचिवमा उम्मेदवारी दिनुभएका रायमाझीले ४९ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष समेत रहनु भएका भोजराज भट्टराईले १३ मत प्राप्त गरी उपविजेता बन्नुभयो । भट्टराईलाई प्रेस सेन्टरको सहयोग गरेको थियो । ६९ मतदाता रहेकोमा ६५ मत मात्र खसेको थियो । सचिवमा निर्वाचित रायमाझी विगत एक दशक लामो समयदेखि पाल्पामा रहेर पत्रकारिता गर्दै आउनु भएको छ । विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरुको बजार व्यवस्थापकको भूमिकाबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएको उहाँ अहिले दैनिक पत्रिकाको सम्पादकदेखि संगठनका महत्वपूर्ण पदमा रहेर जिम्मेवारी पुरा गर्दै आउनु भएको छ ।

गुल्मीको इस्मा गाउँपालिका-२ रातडाँडा स्थायी घर हुनुभएका रायमाझी विगत ५ वर्षदेखि पाल्पाबाट हिमालय टाइम्समा संवाददाताको रुपमा काम गर्दै आउनुभएको हो । उहाँ पाल्पाबाट प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकको सम्पादक समेत हुनुहुन्छ । रायमाझी नेपाल प्रेस युनियन पाल्पाको उपसभापति पनि हुनुहुन्छ । युनियनको साधारण सदस्य हुँदै सचिव, उपसभापति बन्नु भएका रायमाझी संगठन र पत्रकारहरुको पक्षमा निरन्तर आफुलाई समर्पित गर्दै आउनुभएका छ ।

उहाँले आवाजबिहिनहरुको आवाजलाई कलमको माध्यमबाट उजागर गर्नेदेखि अनियमिता, भ्रष्टाचार, सामाजिक विकृती बिसंगतिका बिरुद्ध सक्रिय रुपमा खबरदारी गर्ने र संगठनमा रहँदा समग्र पत्रकारहरुको क्षमता अभिवृद्धि तथा सुरक्षाको विषयमा सक्रिय भूमिका खेल्दै आउनुभएकै कारण छोटो समयमै महासंघको सचिव बन्न सफल हुनु भएको हो । अर्थशास्त्रबाट स्नाकोत्तर अध्ययन गर्नुभएका रायमाझी सचिवमा निर्वाचित भएसँगै मतदातालाई धन्यवाद दिर्दै पत्रकारहरुको आर्थिक तथा भौतिक सुरक्षा, पत्रकारहरुको क्षमता अभिवृद्धि, सञ्चारगृहहरुको समस्या पहिचान गरी दीर्घकालीन समाधान, राजनीति पूर्वाग्रहहरुलाई कम गरी पत्रकारितालाई निष्पक्ष बनाउने, श्रमजीवी पत्रकारहरुको हक अधिकार सुनिश्चित गरी लोकतान्त्रिक मुल्य र मान्यता स्थापित गर्ने, व्यवहारिक, रणनीतिक दिगो पत्रकारिता प्रवर्द्धन गर्ने दिशामा आफु सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

पाल्पामा अध्यक्ष, सचिव र दलित सदस्यका लागि मात्र निर्वाचन भएको थियो । जसमा संयुक्त प्यानलतर्फका उम्मेदवार कमलराज तिमिल्सेनाले ५२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी प्रेस सेन्टरका कृष्ण दर्नालले ११ मत प्राप्त गर्नुभएको छ । यसैगरी खुल्ला दलित सदस्यतर्फ हरिबहादुर विक निर्वाचित हुनुभएको छ । उहाँले ५० मत प्राप्त गरी विजयी हुनुभयो भने प्रेस सेन्टरका डोलबहादुर विकले १० मत प्राप्त गरी उपविजेता हुनुभएको निर्वाचन समितिका संयोजक तथा पत्रकार महासंघ पाल्पाका पुर्व सभापति गोविन्द भट्टराईले जानकारी दिनुभयो ।

अन्य पदमा भने यस अघि नै निर्विरोध भइसकेका छन् । महासंघको उपाध्यक्षमा खुलातर्फ मुक्तिप्रसाद न्यौपाने, महिलातर्फ बन्दना पोखरेल, सहसचिवमा खुलातर्फ दुर्गेश मल्ल, सहसचिवमा समावेशीतर्फ दानबहादुर हिस्की, कोषाध्यक्षमा विजय वौडेल निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यमा नेत्र गैरे, दयाराज न्यौपाने, सुनिल कार्की, दिपक ढुङ्गाना, सुशीला रेग्मी, हरिबहादुर बिक र धनबहादुर ठाडा निर्वाचित हुनुभयो । यसैगरी केन्द्रीय परिषद् सदस्यमा यज्ञमूर्ति तिमिल्सिना, राजेन्द्र लिगल, सीता डोटेल निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी प्रदेश परिषद् सदस्यमा कृष्णप्रसाद पोख्रेल, दीपक भट्टराई, इमानसिंह राना र पवित्रा घिमिरे निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?