नागरिकलाई घरआँगनमै सरकार रहेको आभास भएको छ : उपराष्ट्रपति

फाइल तस्बिर

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरआँगनमै सरकार रहेको आभास गराएको बताउनुभएको छ ।

तीसौँ महानगर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्थानीय निकायको सक्रियताबाट जनताले आफ्नै घरआँगनमा सहज सेवा पाएका बताउनुभयो ।

काठमाडौं महानगरले आयोजना गरेको उक्त कार्यक्रममा उपराष्ट्रपतिले सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण काठमाडौं महानगर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय केन्द्रबिन्दु हो भन्नुभयो । उहाँले विश्वसम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान संरक्षणमा जोड दिनुभयो ।

महानगरले मतदातालाई प्रवाह गरेका सेवा अन्य स्थानीय तहका लागि अनुकरणीय रहेका उल्लेख गर्दै उहाँले सङ्घीयता कार्यान्वयनमा युवावर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उपराष्ट्रपति यादवले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवर्द्धन, मठमन्दिरजस्ता सम्पदाको संरक्षण, पोखरीको पुनःस्थापना, एकीकृत सहरी विकास गरेकामा महानगरको सराहना गर्नुभयो ।

महानगर प्रमुख बालेन्द्र शाहले ७७ वटै जिल्लाका नागरिकका लागि बस्न  लायक महानगर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो । उपप्रमुख सुनिता डङ्गोलले पूर्वाधार विकासलाई महानगरले पहिलो प्राथमिकता दिएको जानकारी दिनुभयो ।

विसं १९९६ पुस ३ गते स्थापना भएको सफाइ अड्डालाई २०५२ मङ्सिर २९ गते काठमाडौं महानगर घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?