काठमाडौं । गत असार १६ गते मध्यराति नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे समझदारीको जगमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुलुकका दुई ठूला दल मिलेर प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको पाँच महिना पूरा भएको छ । दुई दलबीच राजनीतिक स्थिरता, मुलुकको अर्थतन्त्र सुधार, संविधान संशोधनका लागि भन्दै सत्ता साझेदारीमा सहमति भएको थियो । तर, संसद्मा झण्डै दुईतिहाइ बहुमत समर्थन रहेको सरकार गठनको पाँच महिना पूरा हुँदा पनि प्रभावकारी काम हुन नसकेको भन्दै चौतर्फी आलोचना हुन थालेको छ । सरकारको चौतर्फी आलोचना भइरहेको बेला स्वयं प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कार्यसम्पादनबाट निराश बन्नुभएको छ । आफू प्रधानमन्त्री भएको पाँच महिना बितिसक्दा पनि सरकारले जनतामा आशा पैदा गर्न नसकेको भन्दै प्रधानमन्त्री निराश बन्नुभएको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग पनि उल्लेख्य र जनताका पक्षमा काम हुन नसकेको भन्दै असन्तुष्टि पोख्नुभएको छ । अपवादबाहेक कुनै पनि मन्त्रालयले देखिनेगरी परिणाम दिन नसकेको प्रधानमन्त्रीको टिप्पणी छ । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले पोखेको असन्तुष्टि उद्धृत गर्दै एक मन्त्रीले भन्नुभयो, ‘बैठकमा प्रधानमन्त्रीले सबै मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि पोख्नुभयो । सरकार बनेको पाँच महिना बितिसक्दा पनि जनताले महसुस गर्ने खालको काम नभएको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले जनताले महसुस गर्नेगरी कार्यसम्पादन गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । कर्मचारीहरूको कार्यशैलीप्रति पनि प्रधानमन्त्रीले असन्तुष्टि पोख्नुभएको छ ।’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूको निष्क्रियता देखेर पनि चिन्ता व्यक्त गर्नुभएको छ । मन्त्री हेरफेरको विषय जोडतोडले उठिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रीहरूको कार्यशैलीलाई लिएर गरेको आलोचना अर्थपूर्ण छ । प्रधानमन्त्री भएपछि ओलीले सुशासनका सबालमा पनि अभिव्यक्ति दिँदै आउनुभएको छ । उहाँले न आफू भ्रष्टाचार गर्छु, न अरूलाई गर्न दिन्छु भन्ने नारा नै तय गरे पनि कार्यान्वयन भने हुन सकेको छैन ।
कांग्रेसलाई आन्तरिक पार्टी समीकरणको चिन्ता
प्रधानमन्त्री ओलीले यस अवधिमा पटक-पटक मन्त्रिमण्डल हेरफेरको प्रयास गरे पनि सत्ता साझेदारको मुख्य घटक नेपाली कांग्रेस भने अनिच्छुक देखिएको छ । मन्त्री परिवर्तन गर्ने प्रधानमन्त्री ओलीका कतिपय प्रयास कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यान्वयन हुन दिनुभएको छैन । कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राम्रो कार्यसम्पादन गरेको भएर नभई सभापति देउवा पार्टीको आन्तरिक समीकरण परिवर्तन हुने डरले मन्त्री परिवर्तनमा अनिच्छुक देखिनुभएको हो । यद्यपि, कांग्रेसमा पनि सरकारमा सहभागी मन्त्रीहरूका काम कारबाहीलाई लिएर चर्को आलोचना भइरहेको छ । अहिले मन्त्री हेरफेर गर्न नहुने दाबी गर्दै नेपाली कांग्रेसका प्रचारविभाग प्रमुख मीन विश्वकर्माले भन्नुभयो, ‘अहिले मन्त्री हेरफेर गर्नु हुँदैन भन्ने बुझाइ कांग्रेसको छ । अहिले नीति तथा कार्यक्रम अर्कैको छ, बजेट अर्कैको छ । अहिलेका मन्त्रीहरूले ढिलासुस्ती नगरे र भ्रष्टाचार नगरे त्यही ठूलो कुरा हो । त्यसैले अहिले मन्त्री फेर्नुहुँदैन, थप घाटा हुन्छ ।’ नेता विश्वकर्माले प्रधानमन्त्री मन्त्रीहरूको कार्यसम्पादनसँग असन्तुष्ट हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने दाबी गर्नुभयो ।
ताली बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँ : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताउनुभएको छ । विश्व ध्यान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले परस्परमा घृणा नभइ विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले आफू ताली बजाउन नभई काम गरेर परिणाम निकाल्नका लागि सरकारमा रहेको बताउनुभयो । आफू काममा विश्वास गर्ने र कामबाट परिणाम निकाल्नमा विश्वास गर्ने व्यक्ति भएको उहाँको जिकिर छ ।
जनतामा बढ्दो निराशा हटाउन कांग्रेस-एमाले सहकार्य : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार सुधार र विकासका लागि कडा प्रयास गरिरहेको दाबी गर्नुभएको छ । उहाँले राजनीतिक स्थिरताको आधारमा सरकार विकास र आर्थिक समृद्धि ल्याउन काम गरिरहेको दाबीसमेत गर्नुभयो । उपप्रधानमन्त्री सिंहले पछिल्लो निर्वाचनपछि बनेको सत्ता गठबन्धन लामो समयसम्म टिक्न नसकेपछि जनतामा बढेको निराशा चिर्नका लागि वर्तमान गठबन्धन गठन भएको पनि स्पष्ट पार्नुभयो । राजनीतिक स्थिरता र स्थायित्वका लागि बनेको वर्तमान सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँको दाबी छ ।
सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको आशाअनुसार वर्तमान सरकार चल्न नसकेको टिप्पणी गर्नुभएको छ । महामन्त्री थापाले सरकारको गठनको उद्देश्य अनुसारको काम हुन नसकेको र जनताको आशाअनुसार सरकार चल्न नसकेको जिकिर गर्दै भन्नुभयो, ‘सरकारको अहिले फेरबदल हुँदैन । तर, सरकारले अहिले गर्न नसकेका कामका बारेमा प्रधानमन्त्री सचेत रहनुपर्छ ।’
कांग्रेस, एमाले, माओवादी र मधेशवादी दल भ्रष्टाचारमा लिप्त : पूर्व-प्रधानमन्त्री डा. भट्टराई
पूर्व–प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरू चरम भ्रष्टाचारमा डुबेको आरोप लगाउनुभएको छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मधेश प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै अध्यक्ष भट्टराईले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेशवादी राजनीतिक दलहरू चरम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभएको हो । आफूले गरेका भ्रष्टाचारहरू लुकाउन सरकार फेरिने र एकले अर्कोलाई आरोप लगाउने गरेको टिप्पणी गर्दै भट्टराईले भन्नुभयो, ‘भ्रष्टाचारतन्त्रमा फसेको राजनीतिलाई भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र देशमा तीव्र विकास र समृद्धि ल्याउने एजेण्डा आफूसँग मात्र छ । भोट किनेर सत्तामा पुग्ने र पालैपालो देशलाई कमजोर बनाउने काम भइरहेको छ । भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउने र सबै भ्रष्टाचारीहरूको छानविन गरेर कठघरामा उभ्याउनु आवश्यक छ ।’






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच