तपाईंले एकताका चिया र मःम खाँदै गरेका रोचक तस्बिरहरू सामाजिक सञ्जालमा पक्कै देख्नुभयो होला । ‘सालको पात टपरी’ बोलको गीत आफ्नै आवाजमा सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २५ गते फेसबुकमा स्टाटस लेख्नुभयो, ‘मलाई अचम्म लाग्यो, टिकटक हेर्दै जाँदा आफ्नै आवाजको जस्तो गीत सुनियो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगगरी यसरी आफ्नो स्वरमा गीत बनाउने प्रविधि पनि आइसक्यो । प्रविधिको विकास हुनु राम्रो हो ।’
उहाँले सामाजिक सञ्जालका प्रयोगकर्तालाई सचेत पार्दै लेख्नुभयो, ‘तर आफूले बोल्दै नबोलेका कुराहरू पनि यसरी आइरहेका छन् कि जस्तो पो लाग्दै छ । प्रविधिले सजिलो मात्र होइन, दुरुपयोगको चुनौती पनि थप्छ ।’
त्यस्तै ‘डिप फेक’ प्रविधिको दुरुपयोग गरेर नायिकाको अश्लील भिडियो सार्वजनिक भइरहेका छन्, जसकारण नायिकाको चरित्रमै प्रश्न उठ्ने गरेको छ । यस्ता भिडियोबाट बलिउडका नायिका काजोल अग्रवाल, कट्रिना कैफ र रश्मिका मन्दनालगायत कलाकार प्रविधिको सिकार भएका छन् र कानुनी कारबाही गर्नसमेत लागि परेका समाचारहरू पनि पढेकै छौँ ।
एआईले के-के गर्न सक्छ ?
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक कृत्रिम बुद्धि हो । सरल भाषामा भन्नुपर्दा तपाईं हामीले दिएको कुरा मान्ने, बुझ्ने, स्थान, अनुहार चिन्ने र आफैँ सोचविचार गर्नसक्ने कृत्रिम बुद्धि नै एआई हो । यो मानिसको निर्देशन बुझ्ने, सोअनुसार काम गर्ने, मानिसलाई चिन्ने, गाडी आफैँ हाँक्ने, कुनै खेल निकै सोचविचार गरेर खेल्नेलगायत काम गर्नसक्ने मानव निर्मित कम्प्युटर प्रोग्राम हो । मानिसमा भएको क्षमतालाई ‘प्रोग्रामिङ’ मार्फत मेसिनमा नक्कल गरिसकेपछि जब यसले मानिसले जस्तै सोच्न र क्रियाकलाप गर्न थाल्छ, तब त्यसलाई आर्टिफिसियल इन्टेलिजेन्स भनिन्छ ।
एआई एक कृत्रिम बुद्धि हो । सरल भाषामा भन्नुपर्दा तपाईं हामीले दिएको कुरा मान्ने, बुझ्ने, स्थान, अनुहार चिन्ने र आफैँ सोचविचार गर्नसक्ने कृत्रिम बुद्धि नै एआई हो ।
यस्तो कृत्रिम बुद्धिले मानिसलाई विभिन्न ज्ञान, सीपका क्षेत्रमा सहयोग गर्छ । एआईले मेसिनलाई सोच्न सक्ने र आफैँ निर्णय लिनसक्ने बनाउँछ । यो मानिसले बनाएको भए पनि मानिसभन्दा निकै गुणा तेज मानिएको छ । एआईमा आफैँ सिक्नसक्ने क्षमता हुन्छ, यो ‘डिप लर्निङ’मा आधारित हुने गर्दछ ।
अहिले एआईको प्रयोग धेरै ठाउँमा भइरहेको छ । विश्वका ठूला प्रविधि कम्पनी गुगल, माइक्रोसफ्ट, युट्युब, फेसबुक, एप्पललगायत कम्पनीले एआईको प्रयोग गरिरहेका छन् । जस्तो कुनै विषयमा एउटा निबन्ध लेख भन्नासाथ निबन्ध तयार हुने, यस्तो यस्तो प्रयोग गरेर दृश्य भएको चित्र बनाऊ भनेर आदेश दिँदा चित्र बनाएर दिने, मानवीय भाषा बुझ्ने र अनुवाद गर्नसक्ने, आदेश बुझेर तत्काल केही सेकेण्डमै भिडियो तयार गर्ने लगायतका काम एआईमार्फत भइरहेका छन् । यसले मानव समाजमा सकारात्मक र नकारात्मक दुवै किसिमले परिवर्तन ल्याएको छ ।
एआईले हाम्रो जीवन र काम गर्ने तरिकामा परिवर्तन ल्याएको मात्र छैन भविष्यमा शिक्षा, स्वास्थ्य, यातायात, विज्ञान, कला, मनोरञ्जनलगायत हरेक क्षेत्रमा उलेख्य रूपमा रूपान्तरण गर्ने पक्का नै छ । अहिले विश्वमा प्रचलित च्याटजिपिटी, डाल-ई, बार्ड र अल्फाकोड जस्ता एआई सफ्टवेयरले सिर्जना गरेका लेख, रचना, निबन्ध, कविता, चुट्किलादेखि कम्प्युटर कोड, रेखाचित्र, तस्बिर, चित्र र कलाकृति मान्छेका रचनासँग मेल खाने देखिन्छ ।
अहिलेका स्मार्टफोनमा एआई प्रविधिको प्रयोग हुन थालेको छ । मोबाइलमा हुने फेस रिकग्निसन, थम प्रिन्ट स्क्यानरलगायत सुविधा एआई नै हो । मोबाइल गेममा पनि एआईको प्रयोग भइरहेको छ । जसमा कुनै साथीबिना एपको अनेकौँ भर्चुअल खेलाडीसँग गेम खेल्न सक्छौँ ।
केही समयअघि सुजन चापागाईंको फूल गीत नारायण गोपालको आवाजमा भएको सुनियो । स्वर्गीय गायक नारायण गोपालले यो गीत गाउन कसरी सक्नुभयो ? यो पनि एआईको एक अंग जेनेरेटिभ एआईको कमाल हो । यस्तो जेनेरेटिभ एआई टुलले गीत गाउने शैली, आवाजको पिचलगायत पहिचान गरेर तपाईंको आवाजलाई कुनै चर्चित गायक वा सेलिब्रिटीको आवाजमा बदल्न सक्छ ।
मेसिन लर्निङ र डिप लर्निङमा के छ फरक ?
यी दुवै शब्दावली एक-अर्काका परिपूरक भए पनि यसबीच निकै फरक छ । डिप लर्निङ, मेसिन लर्निङकै एउटा हिस्सा हो । मेसिन लर्निङमा प्रोग्रामरले डाटा फिड गर्छन् । सामान्य भाषामा भन्नुपर्दा मसिनको पढाइ मेसिन लर्निङ हो । डिजिटल डिभाइसले अंक, अक्षर, तस्बिर, आवाज जस्ता डाटा प्राप्त गर्दा यो के हो भनेर बुझ्ने क्षमता नै मेसिन लर्निङ हो ।
एआईले कतिको जागिर खोसेको छ भनिरहँदा यसले जागिर पनि दिइरहेको छ । अहिले नयाँ पुस्ताले यसको प्रयोग गरेर केही नयाँ गर्ने हो भने जागिरबाट विमुख हुनुपर्ने छैन ।
एआईको मेरुदण्ड डिप लर्निङ प्रयोग गरेर विश्वमा थुप्रै एआई प्रविधिका टुल विकास भएका छन् । डिप लर्निङ मानव मस्तिष्कको आधारमा तयार गरिएको एउटा मोडेल हो । यसले मेसिन लर्निङमा भएका कमजोरीलाई समाधान गर्छ । अहिले हामीले दैनिक जीवनमा प्रयोग गरिरहेका विभिन्न एप्लिकेसन, भाषा अनुवाद, फेस रिकग्निसन, अटो रिप्लाईलगायत विभिन्न एआई टुल डिप लर्निङका उपज हुन् ।
एआईबाट अवसर पनि छ
अहिले विश्वमा प्रम्ट इञ्जिनियरिङको खुबै चर्चा भएको सुनिन्छ । एआईसँग कुरा गर्ने वा कुरा बुझाउने प्रक्रिया नै प्रम्ट इञ्जिनियरिङ हो । यस्तो प्रम्ट भनेको एआईलाई प्रयोगकर्ताले दिने निर्देशन हो । यो एक लाइन, दुई लाइन, एक पेज, दुई पेज जति पनि हुनसक्छ । सजिलो भाषामा भन्नुपर्दा यो भनेको एआईसँग कुरा गरेर आउटपुट निकाल्ने कार्य हो । विश्वमा अहिले प्रम्ट इञ्जिनियरिङको माग धेरै बढेको छ । विशेषगरी ग्राफिक डिजाइनिङमा विश्वभरि लाखौँको संख्यामा यस्ता प्रम्ट इञ्जिनियरका लागि रोजगारी खुलिरहेको छ । जे भए पनि काम लिनलाई एआईसँग कुरा गर्ने मान्छे त चाहियो नि । त्यसैले प्रम्ट इञ्जिनियरको माग विश्व बजारमा ठूलो रहेको छ ।
एआईले कतिको जागिर खोसेको छ भनिरहँदा यसले जागिर पनि दिइरहेको छ । अहिले नयाँ पुस्ताले यसको प्रयोग गरेर केही नयाँ गर्ने हो भने जागिरबाट विमुख हुनुपर्ने छैन । एउटा कुरा जोडिहाल्न मन लाग्यो कुनै बेला गाडी आउँदा भरियाले हाम्रो रोजगारी खायो भन्थे होला तर त्यसलाई एउटै डब्बामा हालेर हेर्न मिल्दैन । रोजगारी खोस्नेले सँगसँगै थप रोजगारी पनि सृजना गरेको हुन्छ ।
यति भन्दै गर्दा अल्बर्ट आइन्स्टाइनपछि सर्वाधिक तीक्ष्ण मानिएका स्टिफन हकिङदेखि व्यवसायी एलन मस्क र माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्ससम्मले भविष्यमा मानिसले सुपर-स्मार्ट मेसिन अर्थात् रोबटबाट कडा चुनौती झेल्नुपर्ने चेतावनी पनि नदिएका होइनन् । तर, यसलाई कसरी प्रयोग गर्ने ? भन्ने नीति विश्व समुदायले लिनैपर्छ, जोखिम सबै आयामहरूमा हुने गर्दछ ।
यसैकारण वैज्ञानिकसमेत रहेका मस्कजस्ता व्यवसायी ‘ओपन एआई’ जस्ता परियोजनामा लगानी गरिरहेका छन् । यसको उद्देश्य अन्धाधुन्दा रोबट उत्पादन र प्रयोगको साटो मानव सहयोगी बुद्धिमान मेसिन निर्माण गर्नु हो ।
(लेखक ढुंगाना फ्रन्ट एण्ड डेभलपर तथा युआई, युएक्स डिजाइनर हुनुहुन्छ ।)







मत्स्य केन्द्रद्वारा चार करोड ३८
समयमै काम नसक्ने सात निर्माण
चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा