
✍️ ई. ईश्वरचन्द्र देवकोटा
स्वतन्त्र र समृद्ध नेपालको सपना वास्तवमै हाम्रो साझा सपना हो । देश प्रगति, शान्ति र समृद्धिको मार्गमा अग्रसर होस्, हामी सबै यही चाहन्छौँ । हामीले लागू गर्न सक्ने परिवेश होस् वा नहोस् तर औद्योगिक क्रान्तिका माध्यमबाट सामाजिक र आर्थिक रूपान्तरण ल्याउने उन्नतशील राष्ट्रका दृष्टिकोणहरू हामीले ध्यान दिनुपर्ने हुन्छ, सायद यिनीहरूले मार्ग प्रदर्शन पनि गरून् । विशेष गरी यस्ता राष्ट्रले अवलम्बन गरेका नवीनताका मार्गहरू, समृद्धिका सूत्रहरू र नेतृत्वका शैलीहरू हामीले गहिरिएर सोच्नुपर्ने हुन्छ । देशलाई एक उन्नत र समृद्ध राष्ट्र बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
यो लेखको अभिप्राय अमेरिका जस्तो उन्नतशील राष्ट्रको विकास प्रक्रियाको टिपनटापन टिपोट पेश गर्नु हो । सारांशमा भन्नुपर्दा, अमेरिकाको औद्योगिक सफलताको आधारभूत तत्व यसको व्यापक र कुशल पूर्वाधार हो भन्न सकिन्छ । प्रभावशाली यातायात पूर्वाधार, शिक्षा र सीप विकास, प्रविधि प्रगति र नवाचार, आर्थिक विविधीकरण र औद्योगिकीकरण जस्ता पहलहरू अग्रपंक्तिमा पर्दछन् । साथै, लोकतान्त्रिक शासन र कानुनी राज्य, नागरिक संलग्नता र सार्वजनिक सहभागिता, स्वास्थ्य सेवा र सामाजिक कल्याण, व्यापार र लगानी जस्ता तत्वहरू यसका खम्बाहरू हुन् ।
तथ्यांकले अमेरिका कृषिजन्य उत्पादनमा अग्रणी त हुँदै हो, साथै विभिन्न अनुसन्धान र नवाचारमार्फत् कृषि उत्पादनलाई अधिक प्रभावकारी र दिगो बनाउन विश्वलाई नै अनुकरणीय स्रोत भएको छ ।
विधाताले पोल्टामा पारेको यो राष्ट्रको विशाल प्राकृतिक स्रोतहरू प्रभावकारीरूपमा उपयोग गर्न सक्षम हुनु एक महत्वपूर्ण पाटो हो । भाग्यले यस्तो सम्पत्ति प्रदान गर्न सक्छ तर उचित व्यवस्थापन गरेर यसलाई प्रगति र समृद्धिमा बदल्न सक्नु वास्तवमै प्रशंसनीय हो । नाइजेरिया र भेनेजुएला जस्ता देशहरू प्रचुरमात्रामा प्राकृतिक स्रोतहरूले धनी भए तापनि अझै पनि आर्थिक संकटको सामना गरिरहेका छन् । विशाल खनिज स्रोतहरूको धनी प्रजातान्त्रिक गणतन्त्र कंगो पनि निरन्तर आर्थिक समस्यामा जकडिएको छ । यसैगरी, अर्जेन्टिनाले पनि आफ्नो इतिहासमा विभिन्न चरणहरूमा प्राकृतिक स्रोतहरूको भरपूरताका बाबजुद आर्थिक कठिनाइहरूको सामना गरेको छ ।
जब कि यी समस्याहरू फरक-फरक तहमा देखिएका छन् । मलाई याद छ नेपालकी एकजना सम्मानित सामाजिक परिवर्तनकी प्रतीक र राजनीतिक नेतृ अमेरिकाको विकास प्रक्रिया बुझ्नका लागि भ्रमण कार्यक्रममा आउनुभएको थियो । उहाँसँग मेरो पुस्तौं पुस्ता लामो नाता पनि थियो तर म उहाँलाई सम्मानले आमा भन्ने गर्दथें र उहाँलाई मैले सोधेँ, ‘आमा, हजुरले विकास निरीक्षण गर्ने क्रममा के अनुभूति गर्नुभयो त ?’ उहाँको टिप्पणी धेरै सरल, संक्षिप्त र सटिक थियो । उहाँले भन्नुभयो, ‘बाबु कुरा छर्लंगै बुझियो’- ए मतलब हजुर ? म सोध्दछु, उहाँ भन्नुहुन्छ ‘सम्पत्ति धेरै- मान्छे थोरै’ बुझियो नि ¤ त्यसको मतलब हजुरलाई पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट देखेको काठमाडौं उपत्यकाको समृद्ध हराभरा फाँट लाग्यो होइन त हजुर ?
उहाँले सहमतिका क्रममा अनुहारमा हल्का मुस्कान व्यक्त गर्नुभयो । उहाँ हुनुहुन्थ्यो श्रीमती विद्यादेवी देवकोटा । माथि उदाहरणमा उल्लेखित देशहरू, प्रचुर स्रोतहरू भए पनि कमजोर व्यवस्थापनका कारण अपवाद मान्ने हो भने वास्तविकतामा उहाँको निरीक्षण/अवलोकन, समग्र नै थियो । हो, विशाल उर्वर भूमिहरू, उन्नत खेती प्रविधिहरू र विकसित पूर्वाधारले गर्दा संयुक्त राज्य अमेरिका विश्वको पहिलो कृषिजन्य पदार्थ निर्यातकर्ता बनेको हो । यो तथ्य रोचक पनि हुन आउँछ । किनकि साधारणतया अमेरिकालाई, वर्तमान अन्तर्राष्ट्रिय व्यापार परिस्थितिहरूमा केवल कम्प्युटर, प्लेन, प्रविधि, औद्योगिक उपकरण, औषधि, उपभोग्य सामग्री र विलासी कार, मोबाइल फोन जस्ता सामानहरू निर्यात गर्ने मुलुक सोचिन्छ ।
तथ्यांकले अमेरिका कृषिजन्य उत्पादनमा अग्रणी त हुँदै हो, साथै विभिन्न अनुसन्धान र नवाचारमार्फत् कृषि उत्पादनलाई अधिक प्रभावकारी र दिगो बनाउन विश्वलाई नै अनुकरणीय स्रोत भएको छ । यस सफलताको गुहृयमा अमेरिकाले सन् १८६२ मा ‘मोरिल ऐन’ मार्फत् राज्यहरूलाई संघीय भूमि/जमिनहरू अनुदान गर्ने नीति थियो । राज्यहरूले कृषि, विज्ञान र इञ्जिनियरिङमा केन्द्रित कलेजहरू स्थापनाका लागि ती जमिनहरू बेच्न सक्थे ।
यी सफलताहरू यिनै ‘ल्यान्ड-ग्रान्ट विश्वविद्यालयहरू’ भनेर चिनिने विश्वविद्यालयहरूमा शिक्षा र अनुसन्धान कार्यक्रममा लगानी गरिएको उपलब्धि हो भन्दा अत्युक्ति नहोला । अमेरिकाले शिक्षामा निरन्तर जोड दिइरहेकै छ । हाल व्यापक शैक्षिक सुधारहरू लागू गर्नु, विज्ञान, प्रौद्योगिकी, इञ्जिनियरिङ र गणित शिक्षामा जोड दिनु, भविष्यको दक्ष जनशक्ति तयार पार्नु हो । आउँदा चुनौतीहरूको सामना गर्न र अन्तर्राष्ट्रियरूपमा प्रतिस्पर्धा गर्न वा अग्रपंक्तिमा रहिरहन सक्षम समसामयिक जनशक्ति तयार पार्ने संयुक्त राज्य अमेरिकाको शैक्षिक नीति बनेको छ ।
अमेरिका विधिको शासन भएको देश हो । अमेरिका लामो समयदेखि लोकतान्त्रिक शासन र कानुनी राज्यको समर्थक रहेको छ । लोकतान्त्रिक संस्थाहरूलाई मजबुत बनाउने, जवाफदेहिता सुनिश्चित गर्ने र भ्रष्टाचार निवारण प्रयासले नागरिक र लगानीकर्ताहरूबीच विश्वास बढाउन सक्छ ।
यो चर्चा उच्च शिक्षा अर्थात् कलेजको हो तर यसको पूर्वाधार भनेको माध्यमिक र उच्च माध्यमिक शिक्षा नै हो । अमेरिकामा उच्च माध्यमिक शिक्षाको प्रणाली धेरै प्रभावशाली छ । राम्रो सरकारी र निजी विद्यालयहरूबीच कुनै महत्वपूर्ण भिन्नता छैन । विद्यालयहरू निःशुल्क छन्, स्कुलमा खाना र बस सिस्टम पनि निःशुल्क उपलब्ध छन् । गुणस्तरहीन सरकारी विद्यालयहरूको अनुभव र महँगा निजी विद्यालयहरूको चापमा परेका नेपाली अभिभावकहरू यहाँ आइपुग्दा यस प्रावधानले छक्क पर्नुहुन्छ । अमेरिकाको विकासको बलियो स्तम्भ नै सबैलाई समान गुणस्तरमा शिक्षा उपलब्ध गराउनु नै हो । अपवादहरू यहाँ पनि छन् ।
नेपालमा पनि सन् १९६० मा केवल पाँच प्रतिशत साक्षर थिए भने त्यो बढेर अहिले ७० प्रतिशतभन्दा बढी भएको छ । यस मानेमा शैक्षिक प्रगति ठूलै भएको हो तर यतिखेर सरकारी शिक्षा र प्राइभेट शिक्षामा ठूलो खाडल र अन्तर देखापरेको छ । समान र स्वतन्त्र शैक्षिक अवसर नहुँदासम्म कुनै पनि देशको दिगो विकास सम्भव छैन । नेपालमा सुधार गर्न सकिने र लागू पनि गर्न सकिने सबैभन्दा पहिला यही अमेरिकी शिक्षानीति हामीले सिक्नुपर्ने पहिलो पाठ हो ।
अमेरिकामा पूर्व-पश्चिम र उत्तर-दक्षिण राजमार्गहरूको प्रभावशाली सञ्जाल छ, साथै रेलवे सञ्जाल प्रणालीहरू र अन्य वैकल्पिक यातायात मोडहरू पनि छन् । हुन त नेपालमा पनि महेन्द्र राजमार्ग यस्तै सोचको उपज हो । विकासका लागि एक उदाहरण हो । थप विकास गतिविधिहरू आवश्यक छन् तर दुर्भाग्यबस नेपालमा हामीलाई ज्ञात योजनाहरू पनि विकास गर्न कठिनाइ आइपर्छन् । अन्यथा हामी प्राकृतिक सम्पदाका अत्यन्त धनी छौँ । उदाहरणका लागि जर्मनीका हरेक नदीनालाका जलस्रोत व्यवस्थापन सन् १९८० को दशकमै पूर्णरूपमा विकास भएको हो । जल-यातायात, पिउने पानी, सिँचाइ, औद्योगिक प्रयोग, मनोरञ्जन र जलविद्युत् उत्पादन जस्ता विभिन्न आवश्यकता जे जसरी प्रयोग हुन सक्थे ती सबै भएका हुन् ।
यसैगरी, टेक्सास राज्यमा पनि यसको पानी व्यवस्थापन प्रणालीमा त्यस्तै विकास भएको छ । यद्यपि, टेक्सासमा अझै पनि सुधारको ठाउँ छ । हाम्रा जलस्रोतका परियोजनाहरू भने धेरै त्यसै थन्किएर बसिरहेका छन् । हाम्रो देशको प्राकृतिक बनावट र भइरहेका गाउँ–गाउँ जोड्ने बाटाहरूको सञ्जाल एउटा अनमोल सम्पदा हो । हिमाली हावा, हिमाली पानीका हामी धनी छौँ । कदाचित धीर, स्थिर र पारदर्शी राजनीतिक वातावरण ह्रास भएको अवस्था महसुस हुन्छ । नेपालबाट आउनुहुने दाजुभाइ दिदीबहिनीहरूले मेरो अनुभवको जिज्ञासा गर्दा ः आदरसहित, ‘हेर्नुहोस्, यो अमेरिका भनेको सिधै औंलामा घिउ आउने देश हो । कृपया यसलाई मनन गर्नुहोला है’ भन्न कहिल्यै पनि छुटाउँदिन ।
अमेरिका विधिको शासन भएको देश हो । अमेरिका लामो समयदेखि लोकतान्त्रिक शासन र कानुनी राज्यको समर्थक रहेको छ । लोकतान्त्रिक संस्थाहरूलाई मजबुत बनाउने, जवाफदेहिता सुनिश्चित गर्ने र भ्रष्टाचार निवारण प्रयासले नागरिक र लगानीकर्ताहरूबीच विश्वास बढाउन सक्छ । कानुनी फ्रेमवर्क र कार्यान्वयन संयन्त्रहरू प्रभावकारी बनाउनु हाम्रो चुनौती रहेको छ । मलाई लाग्छ, यो अवस्था चिर्नका लागि नागरिक जागरण आवश्यक छ । अन्त्यमा पूर्वाधार, शिक्षा, प्रविधि, शासन र दिगोपनामा रणनीतिक लगानीमार्फत् हामी आफ्नै सीप र मिहिनेतले समृद्ध नेपालको निर्माण गर्न सक्षम हुने छौँ । समृद्ध, स्थिर र दिगो भविष्य निर्माण गर्न सधैँ सकारात्मक कदमहरू चाल्न हिमालय टाइम्स दैनिकबाट विगत तीन दशकदेखि खेलिँदै आएको भूमिका जसरी नै हामी सबै प्रेरित भइराखौँ ।
(लेखक देवकोटा साहित्यकार, विचारक र वरिष्ठ सिभिल इञ्जिनियर हुनुहुन्छ । उहाँ राजनीतिज्ञ तथा ‘उत्सर्ग प्रेम’ का लेखक राजेश्वर देवकोटाका सुपुत्र हुनुहुन्छ । मूलथलो गोर्खा रहे पनि उहाँ अहिले अमेरिकाको नर्थ क्यारोलिनामा विगत पाँच दशकदेखि बसोबास गरिरहनुभएको छ । तर, मातृभूमिको विकास कसरी हुन्छ भन्ने चिन्तन गरिरहनुहुन्छ र विकसित देशका जस्तै उपलब्धिहरू नेपाली जनताको आँगनमा फलेको, फुलेको हेर्न सदा इच्छुक हुनुहुन्छ : सं.)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच