हिमालय टाइम्सले पूरा २९ वर्ष पार गरेको छ र ३० वर्षको लक्का हुँदै परिपक्वतातर्फ उन्मुख छ । म यसबेला स्थापना कालदेखि आजसम्म सम्पूर्ण यस राष्ट्रिय दैनिकमा आबद्धहरू सबैमा हार्दिक बधाई दिन्छु । हिमालय टाइम्स के कस्तो आरोहण र अवरोहणको अवस्थाबाट गुज्रियो होला त्यसको अन्तरंग कथा बुझेकाहरूले नै बताउन सक्लान् अथवा जसले नियतिको कठोर परीक्षा दिन विवश भए उनीहरूलाई थाहा होला । मैले थाहा पाएका आधारमा वर्तमानसम्म एकल प्रयासको निदाल भएर रहनुभएका उज्ज्वल शर्माको प्रशंसा गर्दछु । म र हामी धेरै साथीहरू विगत पाँच वर्षयता हिमालय टाइम्सका साथमा छौँ । सहकार्यमा छौँ र संलग्न छौँ । कुनै पनि चिसो क्षण वा तातो क्षण अनुभव गर्नुपरेको छैन । एकाम्य पारिवारिक शैलीमा हिमालय टाइम्सको यात्रा चलिरहेको छ । विश्वास गरौँ : भविष्यमा लामो समयसम्म हिमालय टाइम्सको संस्थागत यात्रामा विराम लाग्ने छैन र निरन्तर रहनेछ ।
स्वतन्त्रता र समृद्धि दुवै नै परिवार, समाज र राज्य र राज्यहरूसँग सम्बन्धित रहेका छन् । यी दुवैको मूल भनेको संगठित राज्य र राजनीतिक प्रणाली हुन् । स्वतन्त्रतालाई लाञ्छित वा निषेध गर्न खोज्नेहरूले स्वच्छन्दता र अराजकताको भाष्य गरेको सुनिन्छ ।
प्रेस भन्नाले हिजोका दिनमा राजनीतिमा दबाबको अर्थमा बुझिने गथ्र्यो । विचार, माग र संगठन निर्माणको क्षेत्र थियो । शासक र शासित बीचको प्रिय अप्रिय सम्बन्धको बोधक जस्तो थियो । स्वार्थ समूहको प्रतिनिधि जस्तो लाग्थ्यो । आम मानिसको भाषाभन्दा पनि प्रतिनिधिमूलक मुद्दाहरूको प्रक्षेपणका अर्थमा बुझ्ने गरिन्थ्यो । सूचना संकलन, परिमार्जन, र प्रक्षेपणको अर्थ थियो । शासक र नागरिकसमक्ष एक-अर्काका जानकारी पठाउने, एक समुदायले अर्को समुदायसम्म अभिमत पुर्याउने सेतुको काम गथ्र्यो प्रेसले । अब परिस्थिति फरक भएको छ । विस्तारै यो सूचना, ज्ञान र दबाबको समवेत संज्ञा हुन पुगेको छ । सूचना सम्प्रेषणका लागि प्रेस भन्नाले हिजो कागजमा छपाइ, विस्तारै रेडियो र मध्यान्तरमा टेलिभिजन जस्तो भयो । तर, अब यसले सूचना प्रविधिको तीव्र विकास र दबाबका कारण फरक माध्यमहरूको समग्र अर्थ दिनुपर्ने भएको छ । तैपनि यसको मूल आधार स्वतन्त्रता मात्रै हो । स्वतन्त्रताको आयाम परिवर्तन भएको छैन । स्वतन्त्रताविहीन प्रेसको कल्पना असम्भव हुन्छ । स्वतन्त्रतासँग सहकार्य हुन्छ र हुनुपर्छ समृद्धिको । समृद्धि वैशाखी जस्तो हुन्छ स्वतन्त्रताको भने स्वतन्त्रता स्वाभिमान, मर्यादा र समृद्धिको सशक्त आधार ।
भनिन्छ, मानिस प्रकृतिका धेरै घटक मध्येको एक घटक हो । उसलाई प्रकृतिको अधीनस्थ हुनु नियति नै हो । तर, प्रकृतिको अधीनस्थ रहे पनि ऊ सर्वाधिक स्वतन्त्र हुन्छ । यो सूत्र सबै प्राणीमा समान रूपले लागू हुन्छ । मानिस अरूभन्दा केही कुरामा फरक जस्तो छ : पहिलो ऊ राम्रो गरी प्रश्न गर्न सक्छ, भविष्यका लागि सञ्चित गर्न प्रयास गर्छ, थप अध्ययन र अनुसन्धान गर्छ र परिणाम अर्थात् निष्कर्ष खोज्छ । अरू विषय त कुनै न कुनै प्राणीसँग मेल खाइरहेका भेटिन्छन् । स्वतन्त्रता सबै जीवधारीको समान आकांक्षा हो । मानिसको सर्वोत्कृष्ट चाहना । स्वतन्त्रताबिना समृद्धिको परिकल्पना निरर्थक बहस हुने गर्छ ।
स्वतन्त्रता र समृद्धि दुवै नै परिवार, समाज र राज्य र राज्यहरूसँग सम्बन्धित रहेका छन् । यी दुवैको मूल भनेको संगठित राज्य र राजनीतिक प्रणाली हुन् । स्वतन्त्रतालाई लाञ्छित वा निषेध गर्न खोज्नेहरूले स्वच्छन्दता र अराजकताको भाष्य गरेको सुनिन्छ । तर, संस्कृत शब्दबाट बनेको यो शब्दमा स्व र तन्त्रको जोड छ । स्व को अर्थ आफू र तन्त्रको अर्थ अधीन, नियन्त्रण । आफूले आफैँलाई नियन्त्रण गर्ने प्रक्रिया हो स्वतन्त्रता । यसैकारण राज्य वा समाज कठोर नियन्त्रणकारी बनेकोमा व्यक्तिलाई मन पर्दैन । त्यस समय मानिसले आत्म नियन्त्रणको कुरा गर्छ र परनियन्त्रणविरुद्ध विद्रोह गर्छ । अर्को अर्थमा स्वतन्त्रता अधिकारको रूपमा स्थापित छ । मौलिक वा मानव अधिकारको परिभाषा विस्तारित भएर अहिले तेस्रो पुस्ता अधिकारको बहस सुरु भएको छ । पशु अधिकार, प्रकृतिको अधिकारसम्म अधिकारले छुन लागेको छ । प्राणीहरूको जीवनका लागि पशु, पंक्षी, किटपतंग र वातावरणको समवेत योगदान रहेको हुन्छ । मानव अधिकारको विषय यसैकारण सीमित होइन, फराक भएको छ । स्वस्थ जन्मन पाउने, बाँच्न पाउने अधिकारसँग समवेत योगदान जोडिएको छ ।
समृद्धि भौतिक मात्रै हुन्छ कि आत्मिक वा आध्यात्मिक पनि । दार्शनकि विमर्शतिर नलागौँ । भौतिक, अभौतिक, लौकिक पारलौकिक, आत्मिक वा शारीरिक, मानसिक अनेक प्रश्नहरू जोडिएका हुन्छन् समृिद्धसँग । तर, सामान्य रूपमा हामीले उठाएको प्रसंग भौतिक नै हो समृद्धिको अर्थ । पहिलो भौतिक र भौतिक विकासका आधारमा मानसिक समृद्धिलाई जोड्न खोजिएको छ । ग्रह ज्ञानको, संसारको रहस्यको, सन्धिलाई स्वतन्त्रता र समृद्धिसँग जोड्न लाग्यौँ भने समुद्रमा पौडी खेल्न पसेजस्तो हुन्छ कि आकाशमा उड्न खोज्ने चंगा जस्तो । राज्यमा बस्ने मानिसहरूले देखाउने सपना जस्तो पनि होइन स्वतन्त्रता र समृद्धि । एक प्रेमीले आफ्नी प्रेमिकालाई चन्द्रमा तारा टिपेर ल्याउने स्वैरकल्पना जस्तो पनि होइन स्वतन्त्रता र समृद्धि ।
संसारका कुरा छाडौँ, जमिनमा उभिएको हामी नेपालीहरूको जीवनलाई स्तरोन्नति गर्दै न्यूनतम आवश्यकता र बाँकी संसारसँग थोरै भए पनि प्रतिष्ठा आर्जन गर्नसक्ने हैसियतको खोजी हो हाम्रो समृद्धि । यसैकारण स्वतन्त्रता छाडातन्त्र होइन, स्वतन्त्रता अराजकता पनि होइन । कमसेकम कानुन प्रयोग हुने अवस्था होस् स्वतन्त्रताको । अराजकता र स्वच्छन्दता मानिस एक्लो छ भने, एक्लै कोठामा लुकेर बसेको छ भने होला, तर पनि उसले आफैँलाई घात हुने गरी स्वतन्त्रताको प्रयोग गर्न पाउँदैन, वर्जनीय छ । परिवार, समाज र राज्यँग व्यक्ति जोडिनासाथ स्वतन्त्रतासँग मर्यादा र अनुशासनको सहकार्य सुरु हुन्छ । एक–अर्काको स्वतन्त्रताको रक्षाको जिम्मेदारी बढ्छ । भनिन्छ : तिम्रो अधिकार वा स्वतन्त्रता अर्काको नाक सुरु भएपछि अन्त्य हुन्छ । अर्थात् दोस्रो व्यक्तिको स्वतन्त्रता र अधिकारको सीमा सुरु भएपछि आफ्नो स्वतन्त्रताको, आफ्नो अधिकारको सीमा अन्त्य हुने गर्छ । यही अर्थमा हामीले स्वतन्त्रतालाई बुझेका छौँ ।
तर, यहाँनेर केही गम्भीर प्रश्नहरू उठ्न सक्छन् । स्वतन्त्रताको सीमा भएन भने चोर, ठग, उपद्रयाहा, हत्यारा, हिंसक, सबैको व्यक्तिगत अधिकारबारे के भन्नुपर्ने ? तर यस्ता कुकर्महरू समाज र राज्यविरुद्ध, अनि सभ्य व्यक्ति र परिवारविरुद्ध घात हुन् र यस्ता कुकर्महरूलाई स्वतन्त्रताका नाममा छुट हुन सक्दैन । अकुण्ठित मौलिक हक वा अधिकारको अर्थ यसरी गलत तरिकाले लाउन पाइँदैन । यस्तै गलत अर्थको सहारामा निरंकुशतावादीहरूले आम नागरिकका अधिकार र हकमाथि नियन्त्रण गरेका हुन्छन् ।
गरिबको जीवनरेखामाथि नउठेसम्म समृद्धि सपनाबाहेक केही हुने छैन । हिमालय टाइम्स सदा स्वतन्त्रताको पक्षपोषणमा लाग्दै विपन्नलाई, अशक्तलाई ज्ञान र सीपमार्फत योग्य र सबल बनाउने पक्षमा, अवसरको समानताका पक्षमा अर्थात समतामूलक र समानतावादी समाजको निर्माणमा योगदान दिन अग्रसर हुनेछ ।
अर्को प्रश्न उठ्नसक्छ स्वतन्त्रता र समृद्धि सँगसँगै हिँड्न सक्छन् कि सक्दैनन् ? यो प्रश्न उठाउनेहरूले कुनै समय वर्ग संघर्षको नारा दिएर आततायी निरंकुशता प्रयोग गरे, कुनै समय सैनिक शासनको अभ्यास गरे, कुनै समय पूर्ण राजसंस्थाको नाम दिएर जनविरोधी शासन चलाए, कुनै समय धार्मिक अतिवादको आवरण भिरे र सत्ताभोग गरे । यी सबै निरंकुशतन्त्रका पर्याय भए र जनतामारा सत्ता भए । शासक निर्वाचनबाट पनि निरंकुश हुनसक्छ भन्ने कुरा हिट्लरदेखि, असदसम्म, पुटिनदेखि यस्ता अनेक दृष्टान्त छन् । मूल कुरा मानिसको मर्यादा र प्रतिष्ठाको रक्षा गर्दै समृद्धिको यात्रामा सहकार्य गर्ने मान्यता नै स्वतन्त्रता हो । कतिपय निरंकुशताले आर्थिक वृद्धि र विकास गरेको छ तर मानव गरिमाको अपमान गरिरहेको छ । कतिपय स्वतन्त्रताको मात्रै कुरा गर्दा नागरिकमा अराजकता र शासकहरूमा भ्रष्टाचार व्याप्त देखिन्छ । यदि मानव मर्यादा र समृद्धिको पक्षलाई समवेत गराउन सकिएन भने अर्थहीन हुन पुग्छन् दुवै विषय ।
अहिले नेपाल यस्तै अर्थहीन अवस्थामा पुगेको छ । शासन भ्रष्ट छ नागरिक अराजक । आकण्ठ भ्रष्टाचारमा डुबेको शासन, विवेक गुमाएको अराजक समाज भएको देशमा स्वतन्त्रता र समृद्धिको सपना शिवशर्माको सातुसरह हुनेछ । मलाई स्वतन्त्रताको सन्दर्भमा बिपी कोइरालाले लेख्नुभएको यो पंक्तिले छाएको छ । उहाँ लेख्नुहुन्छ : मान्छेको विशिष्ट स्वभाव केले प्रमाणित गर्छ भने ऊ प्रकृतिको घटक हो र ऊ यसका नियमहरूको अधीनमा छ । तर, यति निहित रहँदारहँदै पनि ऊ स्वतन्त्र छ र त्यसलाई निरन्तर बढाउँदै लाने उपक्रममा ऊ व्यस्त छ । उसको इतिहास भन्नु आफ्नो स्वतन्त्रतालाई थप बलियो बनाउँदै निरन्तर प्रयासको लेखाजोखा हो ।
हिमालय टाइम्सको मात्रै होइन सम्पूर्ण सञ्चार क्षेत्रको, आम नागरिकको खोजी र समर्पण स्वतन्त्रताको प्राथमिकतामा निहित छ । निषेधित वा अनुबन्धित नागरिक र संस्थाहरूको भूमिका सशक्त हुन सक्दैन । तैपनि संस्थागत अनुशासन हुन्छन् र तिनलाई उल्लंघन गर्नुको अर्थ अराजकता नै हुन्छ । यतिखेर नेपाल अरराजकताको उत्कर्षमा छ र अत्यन्त नकारात्मक चरित्रको पक्षपोषण गरिरहेको अवस्था छ । सिर्जनात्मकता गुम्दै छ र मानिसमा एक प्रकारको प्रतिक्रियात्मकता बढ्दै देखिन्छ । नेपालले यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेको छ । यो प्रणालीका पक्षमा नेपालको सञ्चार क्षेत्र दृढतापूर्वक उभिएको थियो र आज पनि त्यतिकै छ । समानुपातिक प्रतिनिधित्व र समावेशिताको प्रावधानले प्रणालीलाई निकै यथार्थपरक बनाएको पनि छ । तर संविधानले जातीय रेखा खिचेर विपन्नताको खिल्ली उडाएको स्पष्ट छ । आरक्षण विपन्नका लागि हुनुपर्ने थियो । भौगोलिक रूपले सीमान्त क्षेत्रका पक्षमा हुनुपर्ने थियो । तर, जातीय विभेदको भाष्यले गरिबलाई सम्मान गरेको छैन । गरिबको जीवनरेखा माथि नउठेसम्म समृद्धि सपनाबाहेक केही हुने छैन । हिमालय टाइम्स सदा स्वतन्त्रताको पक्ष पोषणमा लाग्दै विपन्नलाई, अशक्तलाई ज्ञान र सीपमार्फत योग्य र सबल बनाउने पक्षमा, अवसरको समानताका पक्षमा अर्थात् समतामूलक र समानतावादी समाजको निर्माणमा योगदान दिन अग्रसर हुनेछ । विगत ३० वर्षको समीक्षा पाठकहरूले गर्नुभएको होला । तर, यसको भविष्यको सुन्दर पक्ष भनेको निरन्तर विपन्नलाई समृद्ध बनाउने, न्यायपूर्ण, विवेकपूर्ण गतिशील समाज निर्माण गर्ने र स्वतन्त्रताको आधारलाई थप सशक्त गराउनेमा केन्द्रित हुनुपर्छ र हुन्छ भन्ने मेरो मान्यता छ ।
अन्तमा बिपी कोइरालाले आफ्नो जेल डायरीमा उल्लेख गर्नुभएको लाइमन अबोटको यो कथनलाई उद्धरण गर्न चाहन्छु : तिम्रो असली जीवन तिम्रो पछाडि होइन, अगाडि हुन्छ । पुरानो सालमा होइन नयाँ सालमा तिम्रो सम्भावना हुन्छ । हामी पनि नयाँ सालको सम्भावनाको खोजीमा छौँ आशा र भरोसा छ नयाँ साल थप सुखद हुनेछन् र हिमालय टाइम्सको यात्रा निरन्तर जारी रहनेछ । (लेखक प्रा. दाहाल हिमालय टाइम्सका प्रधान सम्पादक हुनुहुन्छ ।)







बाढीले मनास्लु पदमार्ग अवरुद्ध, लार्केपास
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द,
भोटेकोशी बाढी महाविपत्ति हो, पीडितलाई
मकवानपुरमा मादक पदार्थ सेवनपछि कुटपिट,
‘पीडितकेन्द्रित पुनर्निर्माण’ मा ध्यान दिनुस्ः
देवीघाटको ताँदी नदीमा बेलीब्रिज जडान