आकाश उज्यालिएको छ । पखेटा फैलाएर उडिरहेका छन्, चराचुरुङ्गी । प्रकृतिले सुशोभित सौन्दर्यतामा पुलकित देखिन्छ पातलो बस्ती । त्यही बस्तीलाई ढाकेर बाक्लो रूपमा फैलिएको छ, जुनार बगैँचा । जुनार बगैँचाका प्रत्येक हाँगा-हाँगामा लटरम्म झुण्डिएका छन्, पाकेका फल । सिन्धुलीको महाभारत पर्वतको काखमा अवस्थित गोलञ्जोर गाउँपालिका-४ तीनकन्याको दृश्य हो, यो । जहाँ, लुकेको छ एउटा कथा–संघर्ष, सम्भावना र सफलताको ।
केही वर्ष अगाडिसम्म यहाँका स्थानीय बासिन्दाको जीवन दयनीय थियो । किसानहरू खेतबारीमा परम्परागत बालीहरू : दलहन, मकै, कोदो, फापर फलाएर जीवन गुजार्थे । यी बालीहरू उत्पादन गर्न गाह्रो त थियो नै, पर्याप्त पनि हुन्नथ्यो । गरिबी र अभावका कारण स्थानीय बासिन्दा रोजगारीको खोजीमा भौतारिन्थे । सडक अभावका कारण गाउँमा यातायातका साधन देख्नसमेत पाइन्नथ्यो । पैदल यात्रा गरेर रोजगारी खोज्दै सहर झर्थे ।
एकदिन गाउँमा कृषि विज्ञहरू पुगे । उनीहरूले किसानहरूलाई सुल्झाए, ‘यस ठाउँको माटो र मौसम जुनार खेतीका लागि उपयुक्त छ, यसको व्यावसायिक खेती गर्नुस्, मनग्य आम्दानी हुन्छ ।’ किसान गुण्डबहादुर ठकुरीले कृषि विज्ञहरूको सुझावलाई आत्मसात गर्नुभयो । उहाँले आफ्नो थोरै जमिनमा जुनारका विरुवा रोपेर व्यावसायिक खेतीको यात्रा सुरु गर्नुभयो । मेहनत र धैर्यताको फलस्वरूप विरुवा रोपेको तीन वर्षदेखि नै जुनारको फलले आम्दानी दिन थाल्यो । जुनारको फलबाट मनग्य आम्दानीको स्वाद चाख्न पाएपछि उहाँले जुनार बगैँचा २५ रोपनीमा विस्तार गर्नुभयो । उहाँले जुनार बेचेर वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्न थाल्नुभएको छ ।
किसान गुण्डबहादुरको यो सफलताका पछाडि धर्मपत्नी देवीकुमारी ठकुरीको विशेष साथ र सहयोग छ । ७० वर्षको उमेरमा पनि उहाँ जुनार खेतीमा सक्रिय हुनुहुन्छ । उहाँले आफ्नो उमेरको तीन दशक बढी जुनार खेतीमा समर्पित गरिसक्नुभयो ।
अहिले उहाँको बगैँचामा जुनार लटरम्मै फलेका छन् । हामी जुनार बगैँचामा पुग्दा बोटका जुनार टिपेर बोरामा हाल्दै हुनुहुन्थ्यो उहाँ । ‘अघिल्लो वर्षभन्दा यसवर्ष जुनार अलिकम फलेको छ,’ देवीकुमारीले भन्नुभयो । ठकुरी दम्पतीले ३५ वर्षदेखि जुनारको व्यावसायिक खेती गर्दै आउनुभएको छ । ‘पाँच लाखदेखि ३५ लाखसम्म वार्षिक रूपमा आम्दानी लिने किसान छन् यहाँ,’ किसान गुण्डबहादुरले भन्नुभयो, ‘जुनार उत्पादन गर्दाको सुरुवाती वर्षमा प्रतिदाना ५० पैसामा बिक्री गरेको जुनार अहिले बगैँचामै प्रतिदाना १० रुपैयाँमा बिक्री हुन्छ । जुनारबाट भएको आम्दानीले काठमाडौंको कपनमा घर, घडेरी जोडेका छौँ । हाम्रो पारिवारिक खर्च यसैले धानेको छ ।’
ठकुरी दम्पतीले आफ्नो मेहनत र इमानदारीबाट केवल आफ्नो सपना मात्रै साकार बनाउनुभएन, रोजगारी पनि सृजना गरिदिनु भएको छ । अहिले गाउँका अधिकांश किसानले आफ्नो पाखा र खेतबारीमा जुनार, सुन्तलाको व्यावसायिक खेती गरिरहेका छन् । आफ्नो पाखाबारी नभएकाहरूले जुनारको व्यावसायिक खेती गर्ने किसानको बगैँचामा रोजगारी पाएका छन् । स्थानीय बासिन्दा दलबहादुर नेपाली र उहाँको धर्मपत्नी ज्ञानुलाई रोजगारीका लागि भौतारिँदै सहर पस्न नपर्ने खुसीले हर्षित तुल्याएको छ । आफ्नै गाउँको माटोको गन्धमा हुर्किने दलबहादुर दम्पतीलाई सहरको धुलो र चिल्ला सडकले कहिल्यै लोभ्याएन ।
पाँच वर्षअघि गाउँमै रहेको व्यावसायिक जुनार बगैँचामा काम गर्न पाउने मौका पाउँदा उनीहरूको जीवनले नयाँ मोड लियो । ‘सहर जाँदा परिवारसँग टाढिनुपथ्र्यो,’ दलबहादुरले भन्नुभयो, ‘गाउँको जुनारले परिवारसँगै बस्ने वातावरण बनायो, ।’ नेपाली दम्पतीले बगैँचामा सिँचाइ, गोडमेल, र जुनार टिप्नेदेखि बजारसम्म पुर्याउने काम गर्छन् । बगैँचाधनी किसानले उनीहरूको लगनशीलता देखेर कहिल्यै असन्तुष्टि जनाएनन् । “गाउँकै खेतबारीमा पसिना बगाउन पाउनु पौरख नै हो,” उहाँले गर्व गर्दै भन्नुभयो ।
जुनार बगैँचाले नेपाली दम्पती जस्ता अरू मजदुरहरूलाई पनि रोजगारी दिएको छ । कुनै बेला विदेश जान लागेकाहरू गाउँ फर्केर व्यावसायिक खेतीप्रति आकर्षित भएका छन् । जुनार खेतीले तीनकन्याका किसानलाई आत्मानिर्भर बनाएको छ नै मजदुर र व्यापारीलाई पनि रोजगारीको अवसर प्रदान गरेको छ ।
बगैँचाका जुनार बजारमा
तीनकन्याका बगैँचामा उत्पादन भएका जुनारले यतिबेला जिल्लाका मुख्य चोक र बजारक्षेत्र पनि भरिएका छन् । किसान र व्यापारीलाई पाकेका जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । सिन्धुलीको रमणीय दृश्य अवलोकन गर्दै बिपी राजमार्गमा यात्रा गर्ने यात्रुहरूका लागि जिल्लाको जुनार मुख्य कोसेली बनेको छ । जुनार पकेट क्षेत्रका किसानहरूले आफ्नो बारी, बगैँचामा उत्पादन गरेका जुनार राजमार्गको छेउमा बिक्रीका लागि राख्छन् । यात्रुहरू त्यही जुनार किनेर कोसेलीको रूपमा लिएर जाने गर्दछन् । ‘जुनार सबैभन्दा बढी बिक्री हुने स्थान भनेकै बिपी राजमार्ग हो,’ जुनार विकास संघ, सिन्धुलीका अध्यक्ष कर्णबहादुर आलेमगरले भन्नुभयो, ‘जुनार तीनकन्याको मात्रै होइन, सिन्धुलीको पहिचान बनिसकेको छ । यसले हामीलाई आर्थिक लाभसँगै आत्मसन्तुष्टि पनि मिलेको छ ।’
राजमार्गमा यात्रा गर्ने अधिकांश यात्रुहरू, सिन्धुलीको जुनारसँग परिचित छन् । कतिपय यात्रुहरू जुनारको मुख्य बजार सेल्फिडाँडा, खनियाँखर्क, खुर्कोट लगायतका स्थानमा आफू सवार सवारीसाधन रोकेर रसिलो जुनारको स्वाद लिएर मात्रै यात्रालाई अगाडि बढाउँछन् । झापा–काठमाडौंसम्मको यात्राका क्रममा खनियाखर्क बजारमा भेटिनुभएका गोपाल काफ्लेले भन्नुभयो, ‘सिजनमा म यहाँको जुनार नखाई यात्रा अगाडि बढाउँदिन । श्रीमतीले पनि सिन्धुलीबाट जुनार लिएर आउनु है भनिकी छिन्, लिएर जान्छु ।’
मंसिरदेखि माघसम्म जुनारको सिजन हो । यस समयमा राजमार्ग छेउका पसल र यहाँका बजारहरू जुनारले भरिएका हुन्छन् । ‘हामीलाई किसानले ताजै जुनार उपलब्ध गराउँछन् । दुई दशकदेखि जनारको व्यापार गर्दै आएको छु । यहाँ जुनार किन्ने मुख्य ग्राहक भनेकै बिपी राजमार्गका यात्रुहरू हुन्,’ खनियाखर्ककी जुनार व्यापारी सावित्रा थापा मगरले सुनाउनुभयो ।
किसान कुसुम कुमारी ठकुरीले भने जुनार किसानले उचित मूल्य नपाएको गुनासो गर्नुभयो । व्यापारीले पसलैपिच्छे फरक-फरक मूल्य लिने गरेकोमा उहाँको आपत्ति छ । ‘बजारमा जुनारको मूल्यमा एकरूपता छैन । व्यापारीअनुसार फरक-फरक छ । किसानसँग प्रतिकिलो ६० देखि ८० रुपैयाँमा किन्छन्, तर व्यापारीले भने ८० देखि १३० रुपैयाँसम्ममा बेचिरहेका छन्,’ उहाँले भन्नुभयो ।
गोलञ्जोरलाई जुनार गाउँपालिका बनाउने प्रयास
तीनकन्या जिल्लाकै जुनार उत्पादनको मुख्य केन्द्रका रूपमा परिचित छ । गोलञ्जोरका ६ वटा वडामा जुनारको व्यावसायिक उत्पादन हुन्छ । रतनचुरा, वितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ जुनारको व्यावसायिक उत्पादन र निर्यातले सबल बन्दै गएको छ । ‘गोलञ्जोरको भूमि जुनार उत्पादनको लागि अत्यन्त उपयोगी मानिन्छ । यसको खेती हाम्रो प्राथमिकतामा छ,’ गाउँपालिका प्रमुख शंकरराज बरालले भन्नुभयो, ‘गोलञ्जोरको मुख्य चिनारी नै जुनार हो । जुनार गोलञ्जोरको मात्रै होइन, जिल्लाको पहिचान बनिसकेको छ ।’
उहाँले जुनारको प्रचार र प्रवद्र्धनका लागि गोलञ्जोर गाउँपालिकाको नाम परिवर्तन गरेर जुनार गाउँपालिका राख्ने प्रयासमा आफू रहेको समेत बताउनुभयो । तर, जुनार उत्पादनमा देखापर्ने रोग किराका विभिन्न समस्या समाधानका लागि थप पहल आवश्यक रहेको उहाँको भनाइ छ । ‘प्रत्येक वर्ष विभिन्न प्रकारका रोग र किराको समस्याले जुनार उत्पादनमा असर पु¥याइरहेको छ । यसले किसानहरूको आम्दानीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ,’ उहाँले चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘रोग र किराको नियन्त्रणका लागि अनुसन्धान र दीर्घकालीन समाधान खोजी गरिदिनुहुन प्रदेश सरकार, संघ सरकार र सरोकारवालासँग विनम्र अनुरोध गर्दछु ।’ जुनारको उत्पादन वृद्धि गर्दै किसानहरूको आयआर्जन विकासमा सहयोग पुर्याउने लक्ष्य गाउँपालिकाको छ ।
कच्ची सडकले ढुवानीमा चुनौती
तीनकन्याको जुनारले स्थानीय हुँदै राष्ट्रिय बजारसम्म आफ्नो पहिचान बनाइसकेको छ । तर, कच्ची सडकको दुर्दशाका कारण बगैँचाको जुनार बजारसम्म ढुवानी गर्न चुनौती कायमै छ । वर्षा हुँदा सडक हिलोले भरिन्छ, ठूला खाल्टा-खुल्टी र हिउँदमा धुलाम्मे सडक उत्तिकै जोखिमपूर्ण छ । हरेक वर्ष किसानले उत्कृष्ट गुणस्तरका जुनार उत्पादन गरे पनि ढुवानी व्यवस्थित नहुँदा मिहेनत अनुसारको फाइदा लिन सकिरहेका छैनन् । वर्षायाममा सडक धुलोमय र हिउँदमा धुलोमय हुने किसानहरूको गुनासो छ । ‘मिहिनेत गरेर उत्पादन गरेका जुनार बिग्रिने डरले बिचौलियालाई सस्तोमा दिन बाध्य छौँ । आफैँले बजार लगेर बेच्न पाए आम्दानी बढ्ने थियो, सडक राम्रो नभएकाले जुनार ढुवानी खर्च अत्यधिक महँगो पर्छ,’ किसान मञ्जु कुमारी आलेमगरले गुनासो गर्नुभयो ।
किसानको जीविका धान्ने बलियो आधार जुनार भए पनि कच्ची सडकले मिहिनेत र परिश्रम अनुसारको प्रतिफल लिन सकिरहेका छैनन् । खनियाखर्क-कमारेभञ्ज्याङ-तीनकन्या सडक चिसापानीसम्म मात्रै कालोपत्रे भएको छ । कालोपत्रे हुन बाँकी रहेको कच्ची सडक स्थानीय नेता र सरकार बर्सेनि स्तरोन्नति गर्ने आश्वासन दिन्छन् । तर, सडकको अवस्था उस्तै रहेको तीनकन्याका स्थानीय बासिन्दा बताउँछन् ।
जुनार उत्पादनबाट किसानको आर्थिकस्तर माथि उठाउन सबैभन्दा पहिले कच्ची सडकको समस्या समाधान गर्नुपर्नेमा किसानहरूको जोड छ । जुनारमा लाग्ने रोगकिरा र सडक समस्याको समाधान गर्नका जिल्ला समन्वय समिति, सिन्धुलीले चासो देखाएको छ ।
जुनार उत्पादित क्षेत्रको अनुगमन गर्न तीनकन्या पुग्नुभएकी उपप्रमुख शान्ता कार्कीले तीनै तहका सरकार र सरोकारवालाहरूसँग छलफल गरेर जुनार किसानका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जुनार सुपरजोन कार्यक्रम कार्यान्वयन
जुनार उत्पादनमा देशकै अग्रणी मानिएको तीनकन्यालाई जुनारको राजधानीका रूपमा पहिचान स्थापित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (जुनार सुपरजोन) कार्यक्रमले महत्वपूर्ण टेवा पुर्याएको छ । गोलञ्जोर गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्म जस्तैः तीनकन्या, रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ, कमलामाई नगरपालिकाको वडा नम्बर ३ जलकन्या र तीनपाटन गाउँपालिकाको वडा नं. १ तोस्रामखोला जुनार सुपरजोनका क्षेत्र हुन् । जुनार सुपरजोन कार्यक्रम कार्यान्वयन भएका यी आठ वटा वडामा जुनार बढाउने, बचाउने र जुनारको बजारीकरण गर्ने कार्यमा कार्यक्रमले किसानलाई सघाउँदै आएको छ ।
जुनार सुपरजोन, सिन्धुलीका प्रमुख यमकुमार श्रेष्ठका अनुसार जुनार सुपरजोन कार्यक्रमले यस क्षेत्रमा हालसम्म २३७ हेक्टरमा जुनार बगैँचा विस्तार गरिसकेको छ । १५ वटा नर्सरीमार्फत गुणस्तरीय जुनारको विरुवा उत्पादन भइरहेको छ भने जुनारमा लाग्ने रोगकिरा नियन्त्रण, सिँचाइ व्यवस्थामा निरन्तर प्राविधिक सहयोग गर्दै आएको छ । जुनारको भण्डारणका लागि १४ वटा कोल्ड स्टोर (प्रत्येकमा ६ मेट्रिक टन जुनार भण्डारण क्षमता रहेको) निर्माण गरिएको छ ।
‘किसानले मंसिर–माघसम्म कोल्डस्टोरमा जुनार भण्डारण गरेर वैशाखमा दोब्बर मूल्यमा बिक्री गर्न पाएका छन्, जसले उनीहरूको आम्दानीमा उल्लेख्य सुधार गरेको छ,’ सुपरजोन कार्यक्रमका प्रमुख श्रेष्ठले भन्नुभयो ।
जुनारको बजारीकरणलाई थप प्रभावकारी बनाउन जुस, वाइन, जामजेली, र जुनारको पातको चिया लगायतका प्रशोधित परिकार उत्पादनका लागि सम्भावना अध्ययन भइरहेको उहाँले बताउनुभयो । स्थानीय होटलहरूमा जुनारका विभिन्न परिकार बिक्री गर्ने व्यवस्था मिलाइनेछ । साथै, जुनार प्रवद्र्धनका लागि होमस्टे सञ्चालन गरेर पर्यटन विकासमा जोड दिइएको उहाँले सुनाउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, सिन्धुलीको तथ्यांकअनुसार, जिल्लामा हाल एक हजार ३१८ हेक्टरमा जुनार र सुन्तलाको खेती भइरहेको छ । यसमध्ये ७९४ हेक्टरका बोटले उत्पादन दिइरहेको छ । जिल्लामा यस वर्ष ५२ करोड बराबरको जुनार, सुन्तला बिक्री हुने आँकलन छ ।
जुनार पकेट क्षेत्रका किसानको मिहिनेत र परिश्रमले सिन्धुलीको पहिचानमा जुनार थपिएको छ । जुनारले किसानलाई आत्मनिर्भर बनाएको छ, व्यापारीलाई स्वरोजगार । जिल्ला जुनारको हबका रूपमा विकासित हुँदा समृद्ध सिन्धुली निर्माणमा सहयोग पुग्छ नै राष्ट्रको आर्थिक आम्दानी बढाउनसमेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच