दैलेख मालिका-५ मा जन्मिनुभएका टेकेन्द्रजंग शाही पेशाले इलेक्ट्रिकमा सब इञ्जिनियर हुनुहुन्छ । कोहलपुर-११ स्थायी घर हुनुभएका टेकेन्द्र सब इञ्जिनियर भए पनि उहाँको रुचि भनेको सामाजिक कार्य र कला क्षेत्रमा रहेको छ । काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन पस्किरहनुभएका उहाँले निम्न माध्यमिकसम्म दैलेखमा नै त्यसपछि उच्च शिक्षासम्म कोहलपुर र इलेक्ट्रिकमा ओभरसियर भेरी प्राविधिक शिक्षालय नेपालगञ्जबाट गर्नुभएको हो । अध्ययनकै क्रममा सोसल वर्कमा सहभागी उहाँले हास्य कलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेसनसँग सहकार्य गर्नुभयो र यो फाउण्डेसनले जहाँ-जहाँ कार्य गर्यो ती सबैमा सक्रियतापूर्वक आफूलाई संलग्न गराउनुभयो । त्यसो त उहाँले गैरआवासीय नेपाली संघले निर्माण गरेको लाप्राकमा पनि एक वर्ष एनआरएनको टिममा जोडिएर काम गर्नुभयो । धुर्मुस सुन्तली फाउण्डेसनले गिरानचौरमा गरेको कार्यमा भोलेन्टियर भएर उहाँले सामाजिक कार्यमा आफूलाई संलग्न गराउनुभयो । उहाँले गिरानचौरदेखि यो फाउण्डेसनले निर्माण गरेका सबै प्रोजेक्टमा आफूलाई संलग्न गराउनुभयो । उहाँले गिरानचौरदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणसम्ममा यो फाउण्डेसनसँग सहकार्य गर्नुभयो । आफ्नो सानैदेखिको कला क्षेत्रको रुचिका कारण यो फाउण्डेसनसँग जोडिएपछि उहाँमा रहेको कलाकारिताले प्रस्फुटित हुने मौका पनि पायो । संगत गुनाको फल भनेझैँ धुर्मुस सुन्तली फाउण्डेसनसँगको सहकार्यले उहाँलाई यसतर्फ तान्यो । अर्थात् आफ्नो सानैदेखिको रुचि र चाहनाले साकार रूप लियो । सीताराम र कुञ्जनासँग ‘सेन्टी भाइरस’ लगायत केहीमा उहाँको संलग्नता रहृयो । पछिल्लो समय अभिनयसँगै लाइन प्रोड्युसरका रूपमा पनि आफूलाई अघि बढाइरहनुभएका टेकेन्द्रजंग शाहीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला के गर्दै हुनुहुन्छ ?
केही व्यक्तिगत कामहरू, केही सामाजिक कार्य र कला क्षेत्रका कार्यमा नै आफूलाई अघि बढाइरहेको छु । यसैमा व्यस्त छु भन्नुपर्ला ।
तपाईं त इञ्जिनियरिङ क्षेत्रको मान्छे, कसरी आकर्षित हुनुभयो कला क्षेत्रमा ?
हो, यहाँले भनेजस्तै म इञ्जिनियरिङ क्षेत्रको मान्छे हो । म पेशाले इलेक्ट्रिकमा सब इञ्जिनियर भए पनि मेरो अन्तरकुनामा भने कला क्षेत्रले जबरजस्त बास गरेको छ । सायद त्यसैले म यो क्षेत्रमा आफूलाई संलग्न गराउँदै अघि बढिरहेको छु । कसरी आकर्षित हुनुभयो भन्ने प्रश्नमा एउटा त मभित्र यो थियो भने अर्को नेपालमा आएको विनाशकारी भूकम्पपछि सामाजिक कार्यमा जोडिने क्रममा हास्य कलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेसनसँग सहकार्य गर्ने अवसर जुर्यो । यहीँबाट ममा भएका कलाकारिताले प्रस्फुटित हुने मौका पायो ।
नेपाली चलचित्र क्षेत्र फड्को मार्ने क्रममा रहेको छ । राम्रो चलचित्र हेर्न र नराम्रो चलचित्रलाई साइड लाइदिनु दर्शकको कर्तव्य हो । नयाँ पिँढी जो पढेर, सिकेर यो क्षेत्रमा आएको छ यस पिँढीबाट नेपाली चलचित्रले आशा गरेको छ । भोलि नेपाली चलचित्रलाई कहाँ लैजाने उहाँहरूकै हातमा छ । नेपाली चलचित्र क्षेत्र दिन प्रतिदिन व्यापक हुँदै गएको छ । यसमा आउने र आफ्नो भविष्य खोज्नेहरूको संख्या पनि बढ्दो छ । तर, वर्तमानमा देखिएको समस्या भनेको यसको व्यावसायिकता हो । समग्र चलचित्रको मेकिङ राम्रो भयो भने दर्शकले माया गर्छन् । कथा, अभिनय, प्रस्तुतिलगायत पक्ष सशक्त नभई दर्शकलाई कुनै पनि चलचित्रले हलसम्म तान्न सक्दैन । त्यसैले, पछिल्लो समयमा आएका चलचित्रको समग्र मेकिङ पक्षले नै दर्शकलाई हलसम्म तानिरहेको देखिन्छ । मेकिङसँगै कन्टेन्ट नै राम्रो हुनुपर्छ ।
अहिलेसम्म कतिजति प्रस्तुतिमा यहाँ सहभागी हुनुभयो, अभिनय गर्नुभयो ?
मैले आधा दर्जनभन्दा बढीमा अभिनय गरेको छु । केही चलचित्र र केही सिरियल रहेका छन् । यस्तै मैले आफूलाई अभिनयसँगसँगै लाइन प्रोड्युसरका रूपमा पनि अघि बढाइरहेको छु ।
सबैले बुझ्ने भाषामा भन्दा यो लाइन प्रोड्युसर भनेको के हो ?
लाइन प्रोड्युसर भनेको चलचित्र निर्माता नै हो । चलचित्र निर्माणमा केही सहयोग पुर्याउने व्यक्ति वा सानो लगानीकर्तालाई लाइन प्रोड्युसर भनिन्छ । जसले चलचित्र निर्माणका साथै व्यवस्थापनको पनि जिम्मेवारी सम्हालेको हुन्छ । एउटा राम्रो चलचित्र दर्शकसम्म ल्याउनका लागि धेरैको मिहिनेत रहेको हुन्छ । यस्तैमा लाइन प्रोड्युसरको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
यहाँले लाइन प्रोड्युसर भएर निर्माण गरेका केही प्रस्तुतिको नाम लिनुपर्दा ?
केही सिरियल र केही चलचित्र रहेका छन् । ‘दुआली’, यस्तै ‘दरबाङ’ तामाङ जातिको विषय लिएर बनाइएको चलचित्र रहेको छ भने यतिबेला अस्ट्रेलिया र नेपालमा छायांकनको चरणमा रहेको चलचित्र छ । अन्य एक-दुईवटामा पनि कुरा भइरहेको छ । यस्तै आगामी फागुन १४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘लाज शरणम्’मा कलाकारका रूपमा देखिएको छु भने ‘सक्किगो’ मा पनि कलाकारका रूपमा रहेको छु । यसै क्षेत्रमा अभिनयको अनुभव प्राप्त गर्दै आफ्नो करियरलाई सफल बनाउनका लागि चलचित्र क्षेत्रमा आफूलाई पूर्णरूपमा समर्पित गरेर अघि बढिरहेको छु ।
पछिल्लो समयमा नेपाली चलचित्रप्रति नेपाली दर्शकको आकर्षण बढेको हो ?
राम्रा चलचित्रप्रति नेपाली दर्शकको आकर्षण जहिल्यै देखिन्थ्यो । अहिले पनि दर्शकले नेपाली चलचित्रलाई साथ दिएका छन् । राम्रा चलचित्र सिनेमाघरमा आए भने दर्शकले साथ दिन्छन् भन्ने पुष्टि भएको छ । यसबाट के देखिन्छ भने राम्रा चलचित्र बने भने दर्शकले जहिल्यै साथ दिन्छन् ।
दर्शकलाई नेपाली चलचित्र हेर्न हलसम्म केले तानिरहेको छ जस्तो लाग्छ ?
दर्शकलाई यसैले तानिरहेको छ भन्न सकिन्न । तर, समग्र चलचित्रको मेकिङ राम्रो भयो भने दर्शकले माया गर्छन् । कथा, अभिनय, प्रस्तुतिलगायत पक्ष सशक्त नभई दर्शकलाई कुनै पनि चलचित्रले हलसम्म तान्न सक्दैन । त्यसैले, पछिल्लो समयमा आएका चलचित्रको समग्र मेकिङ पक्षले नै दर्शकलाई हलसम्म तानिरहेको देखिन्छ । मेकिङसँगै कन्टेन्ट नै राम्रो हुनुपर्छ ।
नेपाली चलचित्र क्षेत्रलाई राम्रो बनाउन के-कस्ता पहलहरू हुन आवश्यक छन् भन्ने लाग्छ ?
चलचित्र क्षेत्रलाई राम्रो बनाउन सबैभन्दा पहिला त सरकारी क्षेत्रबाट नै विशेष पहलको आवश्यकता छ तर हामीकहाँ अहिलेसम्म त्यसतर्फ पाइला चालेको देखिँदैन जुन बहुत जरुरी कार्य हो । त्यस्तै चलचित्रको ग्रेड छुट्टिन आवश्यक छ । हामीकहाँ अहिले के भएको छ भने पचास लाखमा बनेका चलचित्र र सत्तरी/असी लाखदेखि एक-दुई करोडसम्म बनेका चलचित्रलाई एउटै टोकरीमा हालिएको छ । न्यून बजेटमा बनेका चलचित्र र सम्पूर्ण कुराहरूमा कम्प्रोमाइज नगरीकन बनाएका चलचित्रलाई एउटै टोकरीमा हाल्न मिल्दैन । यसको ग्रेट छुट्टिन आवश्यक छ भन्ने लाग्छ मलाई ।
यहाँ आफू फुर्सदमा के गर्न रुचाउनुहुन्छ ?
पुस्तकहरू पढ्छु । म साहित्यिक कृतिहरू अध्ययन गर्न मन पराउँछु । अलि बढी फुर्सद भयो भने विभिन्न विधाका चलचित्र हेर्छु ।
अन्त्यमा ?
नेपाली चलचित्र क्षेत्र फड्को मार्ने क्रममा रहेको मैले पाएको छु । राम्रो चलचित्र हेर्न र नराम्रो चलचित्रलाई साइड लाइदिनु दर्शकको कर्तव्य हो । नयाँ पिँढी जो पढेर, सिकेर यो क्षेत्रमा आएको छ यस पिँढीबाट नेपाली चलचित्रले आशा गरेको छ । भोलि नेपाली चलचित्रलाई कहाँ लैजाने उहाँहरूकै हातमा छ । नेपाली चलचित्र क्षेत्र दिन प्रतिदिन व्यापक हुँदै गएको छ । यसमा आउने र आफ्नो भविष्य खोज्नेहरूको संख्या पनि बढ्दो छ । तर, वर्तमानमा देखिएको समस्या भनेको यसको व्यावसायिकता हो । चलचित्रको लगानी बालुवामा पानी हुनबाट बचाउन सके मात्र यो क्षेत्रको दिगोपन हुन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच