नर्थ अन्नपूर्ण आधार शिविरमा रु एक करोडको पूर्वाधार थपिदैं

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रु एक करोडको लागतमा भौतिक संरचना निर्माण गरिने भएको छ ।

म्याग्दीको प्रमुख पर्यटकीयस्थल बन्दै गएको बेसक्याम्पमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी चालु आर्थिक बर्षमा सेल्टर, शौचालय, खानेपानी, चौतारी, टि-सप र खुल्ला म्यूजियम बनाउने गरी बजेट विनियोजन भएको छ ।

गाउँपालिकाले दुई वटा सेल्टर लज सन्धिखर्क, भुसकेटमेला, शौचालय र खानेपानी हुमखोला, फुतफुते, गुफाफाँट, भुसकेटमेलामा बनाउने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । “अहिले अस्थायी प्रकृतिका संरचना बनाइने छ, अब पूर्वाधारमा प्राथमिकता दिएर बजेट बिनियोजन हुन्छ” गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो ।

उहाँका अनुसार सडक सञ्जाल जोडेर पदमार्गअन्तर्गत पर्ने फुतफुते झरना सहित पर्यटकको आश्रयस्थल रहेका स्थानमा टि-सप समेत बनाइने छ । “अब टेन्ट र खानाबस्नको समस्या नहुने गरी नै संरचना थपिदैछ, पर्यटकलाई कुनैपनि समस्या हुन नदिने गरी पूर्वाधारमा प्राथमिकता दिएका छौ” अध्यक्ष पुनले भन्नुभयो । पदमार्गमा ब्यवसाय गर्नेहरूलाई फोहोर ब्यवस्थापन सहित विभिन्न सर्तहरू समेत गाउँपालिकाले राखेको छ ।

पर्यटकहरूलाई आकस्मिक आश्रयस्थलको आवश्यकता परेका अन्य क्षेत्रहरूमा समेत अस्थायी प्रकृतिका संरचनाका लागि समेत गाउँपालिकाको सर्वे टोलीले थप अध्ययन गर्ने प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले बताउनुभयो । “सुविधा थपिदैं जान्छ, अहिलेका संरचनाहरूलाई दिगो बनाउन आवश्यक छ” अधिकृत कँडेलले भन्नुभयो ।

गाउँपालिकाले फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथममा पहिलो आरोहण गरेर इतिहास रचेको स्थानमा रहेका प्रमाणहरूको संरक्षणका लागि खुल्ला म्यूजियम समेत बनाउने बताइएको छ ।

आरोहण दलको नेतृत्व मौरिस हर्जोगले बेसक्याम्पमा छोडेका प्रमाणको संरक्षणका लागि परिवारले समेत सघाउने प्रतिबद्धता जनाएका छन् । नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटो सडक सञ्जाल जोडिएकाले पर्यटकलाई सहज छ ।

हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा ‘मौरिस हर्जोग’ पदमार्गस्थलको यात्रालाई थप अविस्मरणीय बनाउन आर्कषक पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने पर्यटन ब्यवसायीको भनाई छ ।

नर्थ अन्नपूर्ण हिमालको मुख्य आधार शिविर चार हजार ३०५ मिटर उचाइमा पर्छ भने अन्नपूर्ण फ्रेन्क, तिलिचो पिक, वराहशिखर र नीलगिरि साउथ हिमालले घेरिएको समथर फाँटबाट दर्जनौँ हिमशृंखलाको अवलोकन तथा विशाल पञ्चकुण्ड ताल यहाँको थप आकर्षण हो । विश्वको दसौँ र नेपालको आठौँ अग्लो अन्नपूर्ण प्रथमको नर्थ हिमालबाटै सुरु गरेका म्याग्दीमा जन्मिएका पर्वतारोही निर्मल पूर्जाले विश्व किर्तीमानी कायम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?