विश्वभर नै फेसन शोको खास आकर्षण छ । कुनै पनि डिजाइनरले रचनात्मक ढंगले तयार गरेको पहिरनलाई ग्राहक वा दर्शकसमक्ष पुर्याउने एउटा माध्यमका रूपमा फेसन शो आयोजना गरिन्छ । यसलाई मोडलहरूले र्याम्पमा प्रस्तुत गर्ने गर्छन् । पछिल्लो समय नेपाली युवायुवतीहरूले पनि मोडलिङमा आफूलाई अब्बलरूपमा प्रस्तुत गर्दै आइरहेका छन् । यस्तैमा मोडलिङमा अन्तर्राष्ट्रिय छवि बनाउन सफल नाम हो दीपक घिमिरे । अन्तर्राष्ट्रिय मोडलको छवि बनाउनुभएका घिमिरे विभिन्न फेसन विक, क्याटवाक, सौन्दर्य प्रतियोगिताका साथै गीतका भिडियोहरूमा अभिनय गर्नमा व्यस्त हुनुहुन्छ । ‘तिमी नै तिमी’, ‘मायालु साबुन’, ‘पानी पिउने’, ‘अञ्जानैमा’, ‘मेक इट लार्ज’ लगायतका ६० भन्दा बढी गीतका भिडियोमा उहाँले अभिनय गर्नुभएको छ । इन्टरनेसनल रनवे मोडलका रूपमा ख्याति कमाउनुभएका घिमिरे विभिन्न सौन्दर्य प्रतियोगिताको जजका रूपमा पनि रहँदै आउनुभएको छ भने इभेन्ट अर्गनाइजरका रूपमा काम गर्दै आउनुभएको छ । उहाँले बलिउडका केही इभेन्टहरूको पनि म्यानेज गर्नुभएको छ । घिमिरेले भारतमा मोडलिङको अध्ययन गर्नुभएको हो भने मोडलिङ एवं ¥याम्पका लागि विभिन्न देश पुग्नुभएको छ । चिटिक्क मिलेको अग्लो शरीर अनि लुक्सका साथै उहाँमा रहेको बौद्धिकताका कारण घिमिरेलाई यो क्षेत्रमा सफलता मिलेको छ । ‘म मिहिनेतका साथ आफ्नो क्षेत्रमा हर समय बेष्ट दिने कोसिसमा हुन्छु,’ उहाँ भन्नुहुन्छ । सानैदेखि आफू फरक खालको कार्य गर्न रुचाएकै कारण अहिलेको सफलता प्राप्त गर्दै गएको उहाँको अनुभव छ । ‘म मोडलिङमै करिअर बनाएर स्थापित हुन्छु भनेर यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर अघि बढिरहेको छु र एकखालको पहिचान बन्न गएको पाउँछु,’ उहाँ भन्नुहुन्छ । आफूभित्र मोडलिङमा ‘पोटेन्सियालिटी’ रहेछजस्तो लागेका कारण पनि यो क्षेत्रमा आएको उहाँको भनाइ छ । मानिसको जीवनशैली प्रस्तुत गर्ने कला मोडलिङ रहेको बताउनुहुने दीपक घिमिरेसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला के गर्दै हुनुहुन्छ ?
मोडलिङका साथै इभेन्ट अर्गनाइज र अभिनयमा नै आफूलाई व्यस्त राख्दै आइरहेको छु । यस्तै विभिन्न सौन्दर्य प्रतियोगिताको निर्णायकका रूपमा सहभागी हुँदै आएको छ ।
कसरी आकर्षित हुनुभयो यो क्षेत्रमा ?
मेरो सानैदेखिको रुचिको विषय हो मोडलिङ र अभिनय । त्यसैले यस क्षेत्रलाई नै आफ्नो प्रोफेसन बनाएँ । आफूभित्र मोडलिङमा ‘पोटेन्सियालिटी’ रहेछजस्तो लागेका कारण पनि यो क्षेत्रमा आएँ ।
मोडलिङमा ‘ब्रेन विथ ब्युटी’ सूत्र धेरै हदसम्म लागू हुने गर्छ । एउटा मोडल शारीरिक सौन्दर्यमा मात्र सीमित नभई उसमा आवश्यक ज्ञान पनि हुन आवश्यक छ । समाजमा भइरहेका देशको इतिहास, समाजको गति र परिवेशको ज्ञान हुनुपर्छ । यसबाहेक आफ्नो पेशाप्रतिको ज्ञान अत्यावश्यक छ । मिहिनेत, कडा अभ्यास र हँसिलो तथा मिलनसार स्वभाव सफल मोडलमा हुनुपर्ने गुण हुन् । मोडल भनेकै नमुना, त्यसैले नमुना त हुनै पर्यो । तर, के गर्दा आफूलाई राम्रो र अरूलाई प्रभावित पार्ने आउट लुकमा ढाल्न सकिन्छ त्यो त गर्नैपर्छ, प्रतिभा अन्तरनिहित हुने भए पनि स्वरूप पनि पत्यारलाग्दो त हुनुपर्छ तर जबरजस्ती होइन, सुहाउने गरी ।
यहाँ जुन क्षेत्रमा हुनुहुन्छ, त्यो क्षेत्र भनेको आफ्नो शरीरलाई फिट बनाइराख्नुपर्छ अर्थात् हरकुराले स्वस्थ रहन जरुरी छ, यसका लागि यहाँले आफ्नो खानपानमा विशेष ध्यान दिनुहुन्छ कि ? अर्थात् कसरी आफूलाई मेन्टेन गरिरहनुभएको छ ?
मैले प्रायः खाने भनेको सादा नेपाली खाना नै हो । म खानामा त्यति चुजी छैन । महत्वपूर्ण कुरा म जंकफुड खान्न । यस्तै, माछामासु पनि कम नै खाने गरेको छु । कन्टिनेन्टल खानेकुराचाहिँ मलाई अलि बढी मन पर्छ । यहाँले भने जस्तै आफ्नो शरीरको ख्याल गर्दै खानपानमा ध्यान दिइरहेको हुन्छु । म मेरो फिटनेसप्रति सचेत रहन्छु । हरेक बिहान लगभग एक घण्टा एक्सरसाइज गर्छु, ध्यानमा बस्छु । ब्याडमिन्टन खेल्छु र स्विमिङ गर्छु । जसले मलाई मेरो शरीरलाई फिट राख्न सहयोग पुर्याएको छ । मलाई के लाग्छ भने ममात्रै होइन हरेक मानिस स्वस्थ रहनुपर्छ, फिट रहनुपर्छ । आफ्नो स्वास्थ्यलाई विशेष ध्यान पुर्याउनुपर्छ । स्वस्थ शरीरमा नै स्वस्थ विचार आउँछ । हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्दै समय छुट्याउन जरुरी छ ।
पहिरनमा यहाँको कुनै विशेष रहने गर्छ कि ?
मेरो क्षेत्र यस्तो हो कि जसमा फिट शरीर र पहिरनको विशेष महत्वछ । म पहिरनमा ब्राण्ड कन्सस नै छु । मेरो ६ फिट १ इन्च हाइट भएकाले पनि मलाई विदेशी ब्राण्डमै सहज महसुस हुन्छ । मलाई सेतो र कालो रङ बढी मन पर्छ । पहिरन होस् या फुटवेयर कालो र सेतो कलेक्सन बढी रहेको छ ।
यहाँले केही वर्षअघि अमेरिकामा भएको रनवे फेसन शोमा र्याम्पमा हिँडेर अन्तर्राष्ट्रिय मोडलको छवि बनाउनुभएको थियो, कसरी सम्झिनुहुन्छ त्यस क्षणलाई ?
हो, केही वर्षपहिला अमेरिकामा आयोजित ‘फेशन विक’ ‘क्याटवाक’ मा म सहभागी भएको थिएँ । यो मेरो मोडलिङको करिअरको ट्रनिङ प्वाइन्ट रहेको छ ।
फेसन शो कति प्रकारका हुने गर्छन् सामान्यतया ?
सामान्यतया फर्मल, मास प्रोडक्सन, सूचनामूलक, डिजाइनर, च्यारिटी र प्रायोजित फेसन शो हुने गर्दछन् । नेपालमा भने सामान्यतया तीन प्रकारका फेसन शो गरिन्छ, जसमा मास प्रोडक्सन, कमर्सियल बढी भएको देखिन्छ । रचनात्मक (डिजाइनर) फेसन शो भने एकदम कम देखिन्छ, जुन महत्वपूर्ण र फाइदाजनक शो हो ।
मौसमी फेसन शो पनि हुने गरेको पाइन्छ नि ?
सर्वसाधारणलाई लक्षित गरेर ‘मास प्रोडक्सन’ फेसन शो गरिन्छ । आमसर्वसाधारणका लागि कस्तो पहिरन शैली सुहाउँदो र उपयोगी हुन्छ भनेर सोहीबमोजिमको डिजाइन यसमा प्रदर्शन गरिएको हुन्छ । मास प्रोडक्सन कुनै कम्पनीले आफ्नो कम्पनीको कपडा बिक्री गर्न गरिने मौसमी फेसन शो हो । कमर्सियल शोमा सीमित डिजाइनका लुगा प्रदर्शन गरिन्छ । यो मास प्रोडक्सनभन्दा महँगो पर्छ । यसमा बुटिक, डिजाइनरका लुगा हुन्छन्, जुन बजारमा पाउने लुगाभन्दा पृथक् खालका हुन्छन् ।
फेसन शो कसले हेर्छन् ?
फेसन शोमा व्यापारी, कपडा कारखानाका सञ्चालक र डिजाइनरहरूको सहभागिता हुने गर्दछ । किनभने फेसन शोमार्फत् ती डिजाइन हेरेर उनीहरूको कारखानामा भएका कपडाबाट त्यो डिजाइन बनाउन सकिन्छ कि सकिँंदैन वा आफ्नो भएको कपडाबाट कस्तो डिजाइन बनाउन सकिन्छ भनेर आँकलन गर्न सक्छन् । उनीहरूलाई मन परेको खण्डमा त्यो डिजाइनरलाई हायर (कन्ट्रक) गरेर लुगा बनाइन्छ ।
नेपालमा फेसन शो कस्तो रहेको पाउनुहुन्छ ?
पछिल्लो १०-१५ वर्षयता हेर्ने हो नेपालमा पनि फेसन शोको ट्रेन्ड निकै बढेको छ । शोमा मोडल, डिजाइनर र मेकअप आर्टिस्टले आ-आफ्ना प्रस्तुति र सिर्जनाको प्रदर्शन गर्छन् । तर, पनि नेपालमा अन्तर्राष्ट्रिस्तरको फेसन शो भने आयोजना हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय फेसन शोमा मोडललाई अदृश्य नमुनाका रूपमा प्रस्तुत गरिएको देखिन्छ । लुगालाई नै मुख्य केन्द्रित गरिएको हुन्छ । त्यही भएर विदेशमा जिउडालअनुसार पहिरन शैली मिल्दो मोडल प्रस्तुत गरिन्छ । नेपालमा भने पहिरन शैलीभन्दा पनि मोडल चिटिक्क परेको खोज्ने गरिन्छ । त्यसैले हामीकहाँ व्यावसायिक प्रयोजनले भन्दा पनि देखासिकीले अन्धाधुन्ध फेसन शो गर्ने लहड रहेको पाइन्छ ।
नेपाल र नेपालबाहिरको मोडलिङमा के-कस्ता फरक पाउनुहुन्छ ?
नेपाल र नेपालबाहिरको मोडलिङमा धेरै फरक छ । पहिलो कुरा त मोडलिङको बजार नै ठूलो छ हाम्रोभन्दा । उनीहरू हामीभन्दा प्रोफेसनल छन् । समय पालनामा उनीहरू अगाडि छन् । सिस्टमेटिक वेमा मोडलिङको विकास भइरहेको छ । हामी यी कुरामा अलिक पछाडि छौँ । नेपालले मोडलिङ क्षेत्रलाई सुधार्नका लागि पहिलो कुरा त सोच नै परिवर्तन गर्नुपर्छ । मोडलिङ भन्नासाथै हाम्रो समाजले एकदमै संकुचित भएर हेर्छ । यो पनि सम्मानजनक क्षेत्र हो भनेर सोच्दैन । जम्मै कुरा समाजले के भन्ला भनेर अड्किन्छ हाम्रोमा । यो सोचलाई फराकिलो बनाएर सबैले जति सकिन्छ, योगदान दियो भने सुधार हुन्छ ।
मोडलिङ के हो ?
मानिसको जीवनशैली प्रस्तुत गर्ने कला हो मोडलिङ । यो नयाँँ पुस्तालाई बदलिँदो संसारसँग अपडेट गराइराख्ने विधा पनि हो । पछिल्लो समय विश्वव्यापीकरणसँगै नेपालमा पनि मोडलिङ एउटा छुट्टै विधाका रूपमा विकसित भएको छ । विशेषगरी युवापुस्ता यसप्रति आकर्षित छन् ।
सफल मोडल बन्नका लागि के आवश्यक हुन्छ ?
मलाई के लाग्छ भने यसका लागि फिटनेसमा ध्यान दिनुपर्छ । मोडलिङमा ‘ब्रेन विथ ब्युटी’ सूत्र धेरै हदसम्म लागू हुने गर्छ । एउटा मोडल शारीरिक सौन्दर्यमा मात्र सीमित नभई उसमा आवश्यक ज्ञान पनि हुन आवश्यक छ । समाजमा भइरहेका देशको इतिहास, समाजको गति र परिवेशको ज्ञान हुनुपर्छ । यसबाहेक आफ्नो पेशाप्रतिको ज्ञान अत्यावश्यक छ । मिहिनेत, कडा अभ्यास र हँसिलो तथा मिलनसार स्वभाव सफल मोडलमा हुनुपर्ने गुण हुन् जस्तो लाग्छ । ‘मोडल भनेकै नमुना, त्यसैले नमुना त हुनै पर्यो । तर, के गर्दा आफूलाई राम्रो र अरूलाई प्रभावित पार्ने आउट लुकमा ढाल्न सकिन्छ त्यो त गर्नैपर्छ, प्रतिभा अन्तरनिहित हुने भए पनि स्वरूप पनि पत्यारलाग्दो त हुनुपर्छ तर जबरजस्ती होइन, सुहाउने गरी ।
यो क्षेत्रमा आउन चाहनेलाई के भन्नुहुन्छ ?
यो क्षेत्रमा आउन चाहनेका लागि आफूमा खुबी छ भने त्यसमा निखार ल्याएर आउन सुझाव दिन्छु । मोडलिङ र ग्ल्यामरमा टिक्न समयअनुसार अपडेट हुनैपर्छ । अपडेट हुँदै नयाँ कामका लागि आफूलाई तयार पार्नेलाई अवसरका प्रशस्तै ढोका खुला रहेका छन् । यो क्षेत्रमा होमिएपछि यहाँ रहेका सम्भावना र उघ्रिने ढोकाको उपयोग गर्दै आफ्नो ‘करियर’ अघि बढाउन सकिन्छ । बाहिरबाट हेर्दा जुन खालको देखिए पनि धरातलमा त्यस्तो हुँदैन । झट्ट हेर्दा लोभ लाग्ने खालको जस्तो देखिए पनि भित्र आएपछि त्यस्तो नहुन सक्छ । देख्दा सजिलो देखिन्छ तर मिहिनेत बढी लाग्छ । आफ्नो कलाले सबैलाई खुसी पार्न सक्नुपर्छ । कतिपयले त मोडलिङ सुरु गर्नासाथ छोडेका पनि छन् । हरेक क्षेत्रमा राम्रा र नराम्रा पक्ष त हुन्छन् नै । यो क्षेत्रमा पनि त्यस्तो पाइन्छ । यतिकै लहै-लहैमा होइन बुझेर, अध्ययन गरेर आउनुहोस् भन्न चाहन्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच