नेपाली कांग्रेस तथा नेकपा एमाले देशमा दुई दलीय व्यवस्था लागू गर्न चाहन्छन् भन्ने निष्कर्षमा धेरै राजनीतिक दलहरू पुगिसकेका छन् । सम्भवतः यसको सम्भावनालाई देखेर नै होला, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र समाजवादी पार्टी मिलेर समाजवादी मोर्चा बनाइएको थियो । समाजवादी पार्टीमा र जनता समाजवादी पार्टी नेपालमा विभाजन भएपछि यस मोर्चाको सान्दर्भिकता पनि सकिएको छ । गत महिनासम्म स्थानीय तहका उप-निर्वाचनको परिणामले नेकपा माओवादी केन्द्रलाई दोस्रो स्थानमा पुर्याएपछि यसको उत्साहमा वृद्धि भएको छ ।
पार्टी अब आफ्नै क्षमतामा पनि ठूलो दल बन्न सक्दछ भन्ने विश्वास यसका नेताहरूलाई हुन थालेको छ । शायद त्यही भएर नेकपा एकीकृत समाजवादीले पनि कार्यदिशा एक नभएसम्म कुनै पनि कम्युनिष्ट पार्टीसित एकता नगर्ने निर्णय गरेको छ । वरिष्ठ राजनीतिज्ञ, पूर्वमन्त्री र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि दुई दलीय सोचलाई खारेज गर्दै मधेसीहरूबीच मोर्चा अथवा एकताको प्रयासलाई विगत एक वर्षदेखि निरन्तरता दिएका छन् । उनको सोच अहिले आएर प्रभावकारी देखिन थालेको छ ।
जनता प्रगतिशील पार्टी अध्यक्ष त्रिपाठीले आफ्नो अभियानमा रोक लगाएनन् र यसलाई पहिलेकै वार्ता समितिलाई निरन्तरता दिँदै मधेसी दलहरूबीच तत्काल मोर्चा बनाउने अभियानको थालनी गरेका छन् । उनले एक साताभित्रै जनता प्रगतिशील पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र आमजनता पार्टीसित भेटवार्ता गरेका छन् ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले गतवर्ष मधेसी दलहरूसित मोर्चा बनाउने उद्देश्यले पार्टीका वरिष्ठ नेता डा.शिवजी यादव, मोहम्मद साविर हुसैन र पूर्वमन्त्री ईश्वरदयाल मिश्रको सहभागिता भएको एउटा वार्ता टोली नै गठन गरेका थिए । वार्ता टोलीले जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी तथा नागरिक उन्मुक्ति पार्टीसित मोर्चा बनाउने विषयमा वार्ता पनि गरेको थियो । लोकतान्त्रिक समाजवादी पार्टी वस्तुतः पदाधिकारी नै पदाधिकारीहरूले भरिएको पार्टी भएको कारण त्यस पार्टीसित वार्ता भएन । जनमत पार्टीलाई पनि आफ्नो बढ्दो जनाधारको अहंकार थियो । स्थानीय तहको उपनिर्वाचनपछि बल्ल यो पार्टीले धरातलमा खुट्टा टेक्न जानेको छ, होइन भने यो आकाशमै पौडी खेलिरहेको थियो ।
जनता प्रगतिशील पार्टी अध्यक्ष त्रिपाठीले आफ्नो अभियानमा रोक लगाएनन् र यस वर्ष पुनः सोही वार्ता समितिलाई निरन्तरता दिँदै मधेसी दलहरूबीच तत्काल मोर्चा बनाउने अभियानको थालनी गरेका छन् । उनले एक साताभित्रै आफ्नो पार्टीका वरिष्ठ सहयोगीहरूसहित जनता प्रगतिशील पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र आमजनता पार्टीसित भेटवार्ता गरेका छन् । उनको प्रस्तावमा उपरोक्त दलका नेताहरू पनि सकारात्मक देखिएका छन् । दुई दलीय व्यवस्थाको परिकल्पनाले देशमा संघीयता, लोकतन्त्र र गणतन्त्रलाई नै समाप्त गर्ने विषयमा उपरोक्त दलहरू पनि सहमत देखिएका छन् र मोर्चाको आवश्यकतालाई महसुस गरेका छन् । हृदयेश त्रिपाठीले मधेसी दलहरूबीच मोर्चा बनाउने पहल गरेका छन् ।
यस पहलको प्रशंसा पनि भइरहेको छ, यसको औचित्य पनि देखिन्छ तर पद र सत्ताविना बाँच्नै नसकिने मनोरोगबाट ग्रसित मधेसी दलका नेताहरू यसप्रति इमानदार रहनेछन् त ? विसं २०७४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) तथा राष्ट्रिय मधेस समाजवादी पार्टीलाई पनि एक ठाउँमा ल्याउने अथक प्रयत्न त हृदयेश त्रिपाठीले गरेका थिए तर पार्टी एकीकरण पश्चात् सबैभन्दा पहिले उनीलाई नै पाखा लगाउने काम भयो । विसं २०७४ सालको आमनिर्वाचनमा मधेस प्रदेशमा त ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच चुनावी तामलमेल भयो तर बाँकी ६ प्रदेशमा भएन, बाध्य भएर हृदयेश त्रिपाठी नेकपा एमालेको सूर्य चुनाव चिहृन सापट लिएर चुनाव लड्नु परेको थियो ।
उनले चुनाव जितेका पनि थिए । विसं २०४८, ०५१ र ०५६ मा नेपाल सद्भावना पार्टी २०६४ मा तमलोपा र २०७४ मा स्वतन्त्र गरी पाँचपटक चुनाव जित्ने उनी एक्लो मधेसी नेता हुन् । अहिले पनि मधेसी नेताहरू पारिवारवाद, जातिवाद र भ्रष्टाचारबाट ग्रसित छन् । तराई मधेसमा रहँदासम्म क्रान्तिकारी देखिने र काठमाडौंमा आउँदा ठूलो दलको चाकडी गर्ने मनोरोगबाट ग्रसित मधेसी नेताहरूको दिशा र उद्देश्य प्रष्ट छैन । मधेसको एजेण्डा के हो ? यसमा एकता छैन । संसदमा मधेसी दलका नेताहरूले बोलेको आवाज सुनिँदैन ।
हृदयेश त्रिपाठी देशका कुशल, सुयोग्य एवं अनुभवी राजनीतिज्ञ मानिन्छन् । एउटा सांसद, मन्त्री र सार्वजनिक लेखा समितिका सभापतिको रूपमा उनले निर्वाह गरेका भूमिका नयाँ सांसद र मन्त्रीका निम्ति मार्गदर्शक सावित भइरहेको छ । हाल उनले किसानका समस्या, देशमा उद्योग धन्दाको खस्किँदो अवस्था, अर्थतन्त्रमा दखिएको दिशाहीनता, अराजकता र अनिश्चितता तथा उत्पन्न राजनीतिक अस्थिरतालाई आफ्नो प्रमुख राजनीतिक एजेण्डा बनाएका छन् । मधेसका मुद्दा त उनको दलको प्राथमिकतामा भई नै हाल्यो । त्यसैगरी राष्ट्रिय क्रान्ति पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुल राष्ट्र राज्य मानी सोहीअनुसार सरकारले नीति बनाउनुपर्ने माग गरेका छन् ।
उनले जनजाति, मधेसी र खस आर्य गरी तीन भागमा नेपालको राष्ट्रियतालाई परिभाषित गर्दै नेपाललाई बलियो बनाउन मधेसी र जनजातिलाई पनि एक समान अधिकार प्रदान गरिनुपर्ने भन्दै मधेसी र जनजातिको सांस्कृतिक पहिचान पनि राष्ट्रको पहिचान हुनुपर्ने माग गर्दै नयाँ दल खोलेका छन् । मधेसका एजेण्डा पनि उनले छोडेको छैनन् ।
आमजनता पार्टीका अध्यक्ष प्रभु साहले जनताका जल्दाबल्दा समस्यालाई बडो प्रभावकारी रूपमा उठाएका छन् । दक्षिण एशियामै जनतामाथि सर्वाधिक कर लगाउने देशका रूपमा नेपाल चर्चित छ । उनले कर वृद्धिलाई आफ्नो प्रमुख मुद्दा बनाएका छन् । यो मुद्दा राष्ट्रकै मुद्दा बन्न सक्दछ ।
आमजनता पार्टीका अध्यक्ष प्रभु साहले जनताका जल्दाबल्दा समस्यालाई बडो प्रभावकारी रूपमा उठाएका छन् । दक्षिण एशियामा नै जनतामाथि सर्वाधिक कर लगाउने देशका रूपमा नेपाल चर्चित छ । उनले कर वृद्धिलाई आफ्नो प्रमुख मुद्दा बनाएका छन् । यो मुद्दा राष्ट्रकै मुद्दा बन्न सक्दछ, अत्याधिक करको विरोध हृदयेश त्रिपाठीले पनि गर्दै आएका छन् ।
रौतहट-३ बाट लगातार चारपटक चुनाव जितेका प्रभु साहले आफ्नो क्षेत्र र वरिपरि आफ्नो खास प्रभाव बनाएका छन् ।
यसरी हृदयेश त्रिपाठी, राजेन्द्र महतो र प्रभु साहसित स्पष्ट एजेण्डा रहेको मान्न सकिन्छ । मधेस केन्द्रित दलहरूमा व्यक्तिहरू सर्वोच्चताको लडाइँले संगठनलाई छिन्नभिन्न पारेको लामो सूची छ । विसं २००८ सालमा तराई कांग्रेस, २०४६ सालमा नेपाल सद्भावना पार्टी, २०४९ सालमा नेपाल सद्भावना पार्टी (आर), २०५२ सालमा राष्ट्रिय समाजवादी जनता दल, २०५९ मा नेसपा (आनन्दीदेवी), २०६४ मा सद्भावना पार्टी, २०६५ मा नेसा (युनाइटेड), २०६६ मा नेसा (गजेन्द्रवादी), २०६८ मा संघीय सद्भावना पार्टी र २०६८ मै राष्ट्रिय सद्भावना पार्टी गष्ठन भएको थियो ।
अहिले पनि नेपाल सद्भावना पार्टीको अधिकारिताको विवाद निर्वाचन आयोगमा छ । रामकुमार महतो र पूर्वमन्त्री रामचन्द्र कुशवाहाले आफूलाई अध्यक्ष दावी गरिरहेका छन् । जबकि महतो एमाले पृष्ठभूमिका र कुशवाहा नेपाली कांग्रेसको राजनीतिक पृष्ठभूमिका हुन् । राजनीतिक दलको रूपमा २०६४ सालमा उदाएको मधेसी जनअधिकार फोरम नेपालको विभाजनको फेहरिस्त पनि सानो छैन ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) २०६६, मधेसी जनअधिकार फोरम गणतान्त्रिक २०६८, मधेसी जनअधिकार फोरम मधेस २०६४, तराई मधेस फोरम २०६५, राष्ट्रिय मधेस समाजवादी पार्टी २०६९, मधेस क्रान्ति फोरम २०६७, संघीय समाजवादी, फोरम नेपाल (२०७२ मूल संगठन), नेपाल संघीय समाजवादी पार्टी २०७३ (मूल संगठन), समाजवादी पार्टी २०७६, जनता समाजवादी पार्टी नेपाल (२०७७ मूल संगठन), लोकतान्त्रिक समाजवादी पार्टी २०७८, जनता समाजवादी पार्टी २०८१, नेपाल समाजवादी पार्टी २०७९ र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) २०८१ रहेका छन् । २०६४ सालमा खुलेको तराई मधेस लोकतान्त्रिक पार्टी, २०६७ मा तमलोपा नेपाल, २०७४ मा राजपा नेपाल, जनता प्रगतिशील पार्टी २०६८ र राष्ट्रिय मुक्ति पार्टी नेपाल २०८० अस्तित्वमा आएको हो ।
जनमत पार्टीबाट कैलाश महतोको नेतृत्वमा स्वाधीन मधेस जनअभिमान र इरफान अहमद शेखको नेतृत्वमा स्वराज पार्टीको गठन भइसकेको छ । मधेसी दलहरूमा विभाजनको क्रममा जारी नै छ, यस्तोमा मधेसी दलहरूबीच मोर्चा वा एकताको कुरा फगत भ्यागुताको धार्नीमात्रै सावित हुनेछ तथापि हृदयेश त्रिपाठीको नेतृत्वमा जारी यस अभियानले एउटा सकारात्मक सन्देश अवश्य प्रवाहित गरेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच