इलामको सिमाना डाँडा पर्यटकहरुको रोजाइमा

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । इलाम जिल्लाको सूर्योदय नगरपालिका-२ स्थित सिमाना डाँडा पर्यटकहरुको गन्तव्यस्थल बनेको छ । स्थानीयबासीले परिवारका सदस्यको मृत्युपछि अन्तिम संस्कार गर्ने सिमाना डाँडा पछिल्लो समय विश्वभरबाट दैनिक पुग्ने पर्यटकहरुको गन्तव्यस्थल बनेको हो ।

१० वर्ष अघिसम्म सिमाना डाँडा स्थानीयबासीले आफ्ना परिवारका सदस्य मृत्यु भएपछि अन्तिम संस्कार गर्ने क्षेत्र थियो । मृत आत्माको घरले भरिएको सिमाना डाँडामा एक्लै त के सामुहिक रुपमा जो कोहि पुग्न डराउँथे ।

तर अहिले सिमाना डाँडा दैनिक सयौँ पर्यटकहरुको गन्तव्यस्थल बनेको छ । नेपाल भारत सिमा क्षेत्रमा रहेको सिमाना डाँडामा भारतबाट दैनिक हजारौँको संख्यामा पर्यटक पुग्छन् । नेपालबाट भारतीय बाटो हुँदै सीमा क्षेत्रमा पुग्ने पर्यटकको संख्या सयौँको छ । सिमाना डाँडा भारतको पर्यटकीय सहर दार्जीलिङ्ग भ्रमण गर्ने पर्यटकको एक गन्तव्य बनेको हो । सूर्योदय नगरपालिका १० फिक्कलबाट सिमाना पुगेका पर्यटक प्रविन तिम्सिनाको भनाइमा सिमाना पर्यटकीय गन्तव्य बन्छ भन्ने कल्पना थिएन ।

भारतको पश्चिम बंगालको सिलिगुडीहुँदै दार्जिलिङ्ग घुम्न पुग्ने पर्यटकले सिमाना डाँडा छुटाउँदैनन् । नेपाल भारतको दशगजा क्षेत्रमा रहेको सिमाना डाँडा आफैमा प्राकृतिक टावर हो । डाँडाबाट नेपाल भारतको सिमा क्षेत्रको ऐतिहासिक सहर मानेभञ्ज्याङ्गसँगै थुप्रै भु-भागको दृश्यावलोकन गर्न पाइन्छ ।

अझ यहाँ पर्यटक लोभिनुमा आँखै अगाडी देखिने कंचनजंघा र कुम्भकर्ण हिमालको दृश्य हो । चिसो हावापानीसँगै अन्तराष्ट्रिय सिमा क्षेत्र, प्राकृतिक सुन्दरता र हिमश्रङ्खलासँग रमाउन पाउँदा भारतबाट आइपुग्ने पर्यटक खुशी हुने गरेका छन् ।

१० वर्ष अघिसम्म पर्यटक भ्रमण गराउन खटिएका गाडी चालक र गाइडले पर्यटकलाई रिफ्रेस बनाउन ५ मिनेट गाडीबाट ओराल्थे । पर्यटकहरुको चहलपहल भएको मौका छोपी स्थानीय एक महिलाले चिया पसल खोलिन् । क्रमस स्थानीयबासीले व्यवसाय संचालनका लागि टहरा बनाए । त्यससँगै सिमाना पर्यटकहरुको गन्तव्य मात्रै भएको छैन, स्थानीयका लागि आयश्रोतको माध्यम बनेको पनि बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?