काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा फकिएपछि नेकपा (माओवादी केन्द्र)मा मतभेद देखिएको छ । दुई कार्यकाल मुलुकको उपराष्ट्रप्रमुख भइसक्नुभएका पुन पुनः राजनीतिमा फर्किएपछि माओवादीभित्र विरोध सुरु भएको हो । काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमै माओवादी नेताहरूले पुनको राजनीतिमा फर्कने निर्णयको विरोध गरेका छन् । पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने कुराले राम्रो सन्देश नदिएको केन्द्रीय सदस्यहरूले बताएका हुन् ।
बैठकको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै माओवादी नेता सुदन किरातीले पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने कुराले राम्रो सन्देश नदिएको बताउनुभयो । सम्माननीयलाई पार्टीले अझ सम्माननीय बनाउनु सक्नुपर्ने उहाँको भनाइ थियो । ‘पार्टीले सम्माननीयलाई अझ सम्माननीय बनाउनु सक्नुपर्छ । आलोचनाभन्दा माथि राखौं बरू पाठशाला बनाऊँ’, केन्द्रीय समिति बैठकमा उहाँले भन्नुभयो, ‘हामीबाटै नयाँ परम्परा र संस्कृतिको आधार स्तम्भ खडा गरौं । उदाहरणीय बनाऔं । १२ हातको सरस्वतीलाई तीन हातको मन्दिरमा नराखौं ।’
यस्तै, माओवादी केन्द्रीय सदस्य इन्द्र आङ्बोले पनि पूर्वसम्माननीयहरू राजनीतिमा आउने कुरा राम्रो नरहेको टिप्पणी गर्नुभयो । ‘केन्द्रको पदाधिकारी, सिनियर नेताहरू वैचारिक र खोज अनुसन्धानमा लागौं । पार्टीमा संगठनको जिम्मा नयाँ पुस्तालाई दिऔं,’ उहाँले भन्नुभयो, ‘पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई राजनीतिमा होइन, अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरले जस्तो सामाजिक क्षेत्रमा काम गरौं ।’ केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पनि प्रमुख पदमा पुगेकालाई राजनीतिमा ल्याउने विषय पश्चगामी कदम हुने बताउनुभयो । जो कोहीले पनि निश्चित जिम्मेवारी, निश्चित उमेर र निश्चित अवधि पूरा गरेपछि सक्रिय पार्टीको संगठनात्मक जीवनबाट बिदा लिनुपर्ने उहाँको भनाइ थियो । ‘पार्टीको सदस्यता त्याग गरेर राज्यको माथिल्लो जिम्मामा पुगेका जस्तै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख आदिहरू पुनः सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुन्छ,’ न्यौपानेले सामाजिक सञ्जालमै लेख्नुभएको छ, ‘बरू सुरुमै सक्रिय संगठनात्मक जीवनमा नफर्कने व्यक्तिहरूलाई त्यस्ता जिम्मामा पठाउनुपर्छ । नत्र त संगठनात्मक जीवनमा प्रवेशको ढोका खुला हुने तर, निस्कने ढोका सबै बन्द गर्दा नयाँहरूको प्रवेश हुँदैन र पार्टीको संगठनात्मक जीवन संग्रहालयमा बदलिन्छ ।’ अध्यक्ष ‘प्रचण्ड’ले आइतबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षपछिको वरीयतामा पुनलाई पार्टीसमक्ष प्रस्तुत गर्नुभएको थियो । माओवादी युद्धमा कमाण्डर रहनुभएका पुन प्रचण्डका विश्वासिलामध्येका एक हुनुहुन्छ । प्रचण्डकै जोडबलमा पुनलाई २०७२ सालपछि दुई कार्यकाल उपराष्ट्रपति बनाइएको थियो ।
सबै नेता-कार्यकर्ता श्रम र उत्पादनमा जोडिनुपर्ने
माओवादी केन्द्रीय सदस्यहरूले प्रष्ट विचार र राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सोमबार बोलेका ८० जना केन्द्रीय सदस्यहरूले नेताहरूको जीवनशैली खुला पुस्तकको पानाजस्तो हुनुपर्नेमा जोड दिएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डसहित सबै नेता कार्यकर्ता श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा केन्द्रीय सदस्यहरूले राखेको उहाँले बताउनुभयो । ‘अध्यक्षसहित सबै नेता कार्यकर्ता श्रम र उत्पादनमा जोडिनुपर्छ । कम्तीमा महिनामा तीनपटक अध्यक्ष पनि जोडिनुपर्छ भन्नेछ । दण्डहिनताको अन्त्य गरिनुपर्छ भन्नेछ’, उहाँले भन्नुभयो । पार्टी महाधिवेशनबारे मिश्रित प्रतिक्रिया नेताहरूले दिएको उहाँले बताउनुभयो । ‘महाधिवेशन गर्ने कुरामा सबैको सहमति छ । अभियानमा गएरमात्रै महाधिवेशनको मिति कार्यतालिका तोक्नुपर्छ भन्ने अधिकांशको भनाइ छ,’ उहाँले भन्नुभयो, ‘केहीले अहिले नै मिति नतोकौं पनि भन्नुभएको छ । महाधिवेशनको बारेमा मिश्रित कुरा आएका छन् ।’
कसैलाई घोचपेच गर्न राजनीतिक प्रतिवेदन ल्याएको होइन : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कसैलाई घोचपेच या लक्षित गरेर आफूले राजनीतिक प्रतिवेदन नल्याएको स्पष्टीकरण दिनुभएको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनबारे स्पष्टीकरण दिँदै प्रचण्डले कसैलाई घोचपेच, काखापाखा र लक्षित गरेर नल्याएको बताउनुभएको हो । बरू बैठक छिटो सकेर नतिजा निकाल्न फिल्डमा जानुपर्ने उहाँले बताउनुभएको एक केन्द्रीय सदस्यले बताउनुभयो । ‘कुनै प्रवृत्ति विशेषलाई घोचपेच गर्ने या कसैलाई नकारात्मक भाष्य बनाउनेतिर मेरो प्रस्ताव छैन’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भन्नुभयो, ‘सबैका विचार, भावना र चिन्ता समेटिने ढंगले, अहिले देशको वर्ष संघर्ष र आवश्यकतालाई केन्द्रमा राखेर फिल्डमा गएर संगठनलाई सुदृढ गर्ने उद्देश्यका साथ राखिएको छ ।’
एमाले केन्द्रीय कमिटी बैठक लम्बियो
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक लम्बिएको छ । दुईदिन बस्ने भनिएको बैठकमा नेताहरूले बोल्ने क्रम बाँकी रहेकाले आज (मंगलबार) पनि बैठक बस्ने भएको हो । सोमबारसम्म ६४ जना केन्द्रीय सदस्यले बोलेको केन्द्रीय सदस्य गणेश पहाडीले बताउनुभयो । ‘भूगोलका ६४ जना र गैरभूगोलका १० जनाले आफ्नो कुरा राखेपछि अहिले पोलिटब्यूरो सदस्यहरूले बोल्न थालेका छन्,’ उहाँले भन्नुभयो । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बोल्न तीन मिनेटको समय छुट्याइएको छ । तर, ठूलो कमिटी भएकाले बैठक लम्बिएको उहाँले बताउनुभयो । एमालेमा ३३१ सदस्यीय केन्द्रीय कमिटी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच