![यस्तो छ तपाईंको माघ ११ गते शुक्रबारको राशिफल](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/Rashifal-Narayan-bhandari.jpg)
नेपालमा ठूला भनिएका दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच आपसमा आरोप-प्रत्यारोपको शृंखला चलिरहेको छ । माओवादीसँगको सत्ता गठबन्धन तोडेर नेपाली कांग्रेससँग गठबन्धन गर्नुको एमालेको विभिन्न प्रकरणका फायल आफूले खोल्न लागेकोले हो भन्ने आरोपहरू माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पटक-पटक दोहोर्याइरहनुभएको छ । अर्कातिर एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि माओवादीकै कारण यसो गर्नुपरेको भन्दै आउनुभएको छ । एमालेको केन्द्रीय कमिटीको बैठकमा समेत उहाँले माओवादीप्रति लक्षित आरोप लगाउनुभएको छ । राजनीतिक विचारमा सबैले आफूलाई कम्युनिष्ट मान्ने गरेका भए पनि व्यवहारमा तिनका बीचको समातनता कायम हुन नसकेकाले नेपालमा कम्युनिष्टहरू सत्र चिरामा विभाजित बनेका छन् ।
सानाठूला विभिन्न कम्युनिष्ट पार्टीमध्येका ठूला पार्टी हुन् नेकपा एमाले र माओवादी केन्द्र । दुबै कम्युनिष्ट पार्टी भए पनि यिनका बीचमा व्यापक असमानता र असमझदारी रहँदै आएको छ । नेकपा एमालेले पनि माले नाममा रहेको बेला झापामा सामन्तीहरूको सफाया नाममा व्यक्ति हत्या गरेको थियो तर पछिल्लो समयमा उसले त्यसमा आत्मालोचना गर्दै त्यो आपूmले गरेको ऐतिहासिक भूल हो भनेर स्वीकारिसकेको छ । माओवादीले भने मालेले जस्तो दुई–चारजनाको होइन १७ हजार जनाभन्दा बढीको जीवन जाने गरी सशस्त्र विद्रोह गरेको छ र त्यो शृंखला त्यति पुरानो भइसकेको छैन । हालको पुस्तालाई समेत जानकारी भएको त्यो शृंखला देखेका र भोगेका मानिस हाम्रो समाजमा व्यापक रूपमा रहँदै आएका छन् । एमालेले भने वर्तमान राज्यप्रणालीलाई नै भित्रैदेखि आत्मसात गरिसकेको छ ।
पहिले प्रजातन्त्रको पुनस्र्थापनाको समयताका एमालले पनि यस प्रणालीलाई माध्यम बनाएर जनगणतन्त्र वा साम्यवादसम्म पुग्ने नीति लिएको भनेर चर्चा हुने गरेको थियो । बिस्तारै त्यस्तो चर्चा हराउँदै गयो र यही प्रणालीलाई आत्मसात गर्दै आएको छ । राजनीतिक हिंसाको विपक्षमा उभिएको र त्यसको व्यापक रूपमा विरोधसमेत गर्दै आएको हुनाले अब एमाले नाममा मात्र कम्युनिष्टका रूपमा रहेको छ । उता माओवादी केन्द्र भने रक्तरञ्जित विद्रोहको बाटो त्यागेर बहुदलीय प्रणालीमा प्रवेश गरेको दुई दशक पनि भएको छैन । संविधानसभाबाट संविधानको निर्माण र गणतन्त्रको माग गर्दै आएको माओवादीका उक्त माग भने अरूले समेत स्वीकार गरेको अवस्था छ ।
हिंसाको व्यापकता र शृंखला रोकियोस् भन्ने चाहना र बाध्यताले माओवादीका उक्त माग अरूले स्वीकार्नुपरेको भन्ने वर्तमान राजनीतिको गतिले समेत पुष्टि गर्दै आएको छ । यस विषयमा संसद्मा दोहोरी चलेको धेरै भएको छैन । हालका दिनहरूमा पनि यस्ता आरोप-प्रत्यारोपका दोहोरीहरू चलिरहेका छन् । दुई ठूला कम्युनिष्ट पार्टीहरूले खेलेको यस्तो दोहोरीको अन्य पार्टी मूक दर्शक बन्नुमात्र परेको छ । वास्तवमा दोहरी कम्युनिष्ट पार्टी तथा अन्यका बीचमा हुनुपथ्र्यो तर भइरहेको छ उनीहरूकै बीचमा । यसले गर्दा अरूलाई आराम भइरहेको स्थिति छ । माओवादी पार्टीभित्र अहिले विशेष महाधिवेशनको माग भइरहेको छ ।
त्यहाँ यस्ता विषय उठाउने उद्देश्य हुनसक्छ । माओवादीका अध्यक्ष प्रचण्डले आजकाल सत्तारुढ दलहरूलाई विभिन्न आपेक्ष लगाउने गर्नुभएको छ । आफू सरकारमा रहेको बेला भ्रष्टाचारका फाइलहरू खोल्न थालेपछि एमाले र नेपाली कांग्रेसले गठबन्धन गरेर सरकार बनाएका हुन् भन्ने ओरोप उहाँले पटक-पटक दोहोर्याउने गर्नुभएको र आफ्नै पार्टीका केही कमजोरी पनि स्वीकार्दै आउनुभएको छ । वर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि माओवादीमाथि व्यंग्यवाण प्रहार गरिरहनुभएकै छ । उहाँले आफ्नो पार्टीको केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा पनि यस्ता केही दोषारोपण गर्नुभएको छ । माओवादी अवसरवादी पार्टी हो र पूर्वराजासँग उसको उठबस छ भनेर उहाँले माओवादीलाई भन्नुभएको छ ।
उपनिर्वाचनका माध्यमबाट माओवादी पहिलो पार्टी भयो भन्नु र संसद्मा माओवादीले पाएको ३२ सिटलाई जादुको नम्बर भन्नु सत्तालिप्साको कुरूप तस्वीर हो भन्ने उहाँको मत हो । उहाँले आफू प्रधानमन्त्री भएयताको उपलब्धि उल्लेख गर्नुका साथै भरखरै आफ्नो पार्टीबाट भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई कारबाही गरेको विषयलाई बैठकबाट अनुमोदन गराउनुभयो । सहकारीको विषयलाई पनि बैठकमा चर्चामा ल्याइयो । यसरी अर्काको पार्टीको र नेताको आलोचनादेखि आफ्नो पार्टीका विषय जो बाहिर आलोचनाको केन्द्रमा रहँदै आएका छन् तिनको समेत चर्चा र अनुमोदन एमालेको केन्द्रीय कमिटीको बेठकबाट भएका थिए । अरूको आलोचना एकातिर छ तर आफ्नै आलोचना पनि भइरहेको सन्दर्भलाई चाहिँ सही भनेर अनुमोदन एमालेबाट भएको विषय भने आलोचनामै रहनेछ ।
हिजोका दिनमा जसरी नेपालका कम्युनिष्टहरू एक हुन सकेनन् आज पनि त्यस्तै भइरहेकै छ । पञ्चायत कालमा त्यसको दोष पञ्चायतलाई लगाएर पञ्चायतले ‘फुटाउ र शासन गर’को नीतिका कारण त्यस्तो भएको थियो भनिएला तर आजका दिनमा त्यसो गर्ने अवस्था, आवश्यकता र सम्भावना समेत छैन । त्यसो हो भने किन त आज पनि कम्युनिष्टहरूबीच एकता हुन सकिरहेको छैन, आरोप-प्रत्यारोपको तहमा उत्रिरहेका छन् ? एकता हुन नसकेको मात्र होइन तिनका बीच चरम वैमनस्य रहँदै आएको छ र कम्युनिष्ट पार्टीका नाममा बीसौं पार्टी रहेका छन् । अहिले पनि यिनका बीच एकता हुन नदिने, फुटाएर चिराचिरा बनाइदिने कुनै राजनीतिक शक्ति छ र ? छैन भने त यस्तो अवस्थाको सिर्जना हुनु नपर्ने होइन र ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच