काठमाडौं । चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १८८ नाघेको छ । मंगलबार बिहान स्थानीय समयानुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिंग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार स्थानीय समयानुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु (गहिराइ) १० किलोमिटर रहेको छ ।
भूकम्पपछि चिनियाँ राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्दारको प्रयास गर्न निर्देशन दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सिले महत्वपूर्ण निर्देशन दिँदै घाइतेहरूको उद्दार र उपचारका लागि सक्दो प्रयास गर्न आग्रह गर्नुभएको हो । साथै, उहाँले प्रभावित बासिन्दालाई उचित रूपमा पुनस्र्थापना गर्न पनि आग्रह गर्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्य तथा प्रधानमन्त्री ली छ्याङले मंगलबार उद्दार कार्य सञ्चालन गर्न आहृवान गर्नुभएको थियो । उहाँले भूकम्प प्रभावित क्षेत्र चिसो पठार क्षेत्रमा पर्ने भएकाले प्रभावित जनताको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र जाडोमा न्यानो रहनका लागि हरसम्भव उपाय अपनाउनुपर्ने बताउनुभयो ।
सीसीटीभीका अनुसार भूकम्पको केन्द्रबिन्दुको पाँच किलोमिटर आसपासमा सातवटा गाउँ रहेका छन् । त्यस्तै केन्द्रबिन्दुको २० किलोमिटर आसपासमा भने दुईवटा शहर रहेका छन् । भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्वीरहरूसमेत सार्वजनिक भएका छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दार टोली खटिइसकेका छन् ।
यूएस जियोलोजिकल सर्भेले भने उक्त भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको समाचारहरू आएका छन् ।
यसअघि सन् २००८ मा चीनको सिचुवान प्रान्तमा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ७० हजार जनाको मृत्यु भएको थियो । त्यस्तै नेपालमा २०७२ साल वैशाख १२ गते ७.६ म्याग्निच्युडको गोरखा भूकम्पमा परी करिब ९ हजारको मृत्यु भएको थियो ।
नेपालमा सामान्य असर, १३ जना घाइते
मंगलबार बिहान चीनमा केन्द्रविन्दु भएर गएको भूकम्पले नेपालमासमेत असर परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दुईवटा घरमा पूर्ण क्षति भएको छ भने ११ वटा घरमा सामान्य क्षति पुगेको छ । ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, काभ्रे, बारा, काठमाडौं सिन्धुपाल्चोक र रामेछापमा भूकम्पले क्षति पुर्याएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ओखलढुंगामा भूकम्पले दुईवटा घरमा सामान्य र एउटा घरमा पूर्ण क्षति तुल्याएको छ । सोलुखुम्बुमा पाँचवटा घरमा क्षति गरेको छ । संखुवासभा, सिन्धुपाल्चोक र रामेछापका एक-एक घरमा सामान्य क्षति पुगेको छ । प्रहरी मुख्यालयका अनुसार काठमाडौंसहित तीन जिल्लाहरू क्रमशः काभ्रे र सिन्धुपाल्चोकमा गरी १३ जना घाइते भएका छन् ।
चीनले लगायो सगरमाथा प्रवेशमा रोक
चीनले भूकम्पपछि पर्यटकलाई सगरमाथा क्षेत्र प्रवेशमा अस्थायी रोक लगाएको छ । तिब्बतको दिंग्री आसपास मंगलबार बिहान ७ म्याग्निच्युड (भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार)को भूकम्प गएपछि चीनले आफ्नोतर्फबाट हुने सगरमाथा क्षेत्र प्रवेशमा रोक लगाएको हो ।
नेपालबाट भने यस सम्बन्धमा कुनै निर्णय भएको छैन । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले पर्यटनको सिजन नभएकाले हिमाल आरोहण र सगरमाथा आधार शिविरमा पर्यटक नै नरहेको जानकारी दिनुभयो । चीनले विश्वको सर्वोच्च शिखर सगरमाथालाई ‘चोमालोङ्मा’ भन्छ ।
भूकम्पविद् भन्छन् : तत्काल ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन
पटक-पटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरूले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरूको भनाइ छ । खानी तथा भू-गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताउनुभयो । भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको उहाँले उल्लेख गर्नुभयो । ‘पटकपटक भूकम्प गइरहेको स्थानमा भूकम्पको शक्ति जम्मा भइरहेको हुन्छ । उक्त ठाउँमा स-साना भूकम्प गइरहेका हुन्छन् भने भविष्यमा ठूलो भूकम्प जानसक्ने सम्भावना हुन्छ,’ उहाँले भन्नुभयोे, ‘तर अहिलेसम्म भूकम्प जाने भविष्यवाणी भने गर्न सकिएको छैन ।’
नेपालमा जाने भूकम्पसित त्यो सम्बन्धित नरहेको उहाँले बताउनुभयो । ‘नेपालमा गइरहनेभन्दा धेरै फरक हुन्छ यो तिब्बततिर जाने भूकम्प,’ उहाँले हिमालय टाइम्ससँग भन्नुभयो । तिब्बतको भूकम्प नेपालमा जानेभन्दा ‘ठ्याक्कै अपोजिट’ किसिमको भएको उहाँले उल्लेख गर्नुभयो । ‘साधारणतया भन्दाखेरी नेपालमा जाने भूकम्प जाँदा हाम्रा हिमालका चट्टानहरू दक्षिणतर्फ सर्छन् भने यो भूकम्पको चाहिँ उत्तरतर्फ चिप्लिन्छन्, उत्तरतर्फ सर्छ,’ उहाँले भन्नुभयो । उहाँले अगाडि भन्नुभयोे, ‘उत्तरतर्फबाट डाउन भएर, हाम्रोमा माथि आउँछ, त्यहाँ चाहिँ तल जान्छ । उत्तरतर्फ तल जाने खालको यो भूकम्प चाहिँ ।’
भूकम्प जाने ठाउँ अनुसार यसको प्रकृति फरक हुन्छ । ‘नेपालभित्र करिब दुई सेन्टिमिटर इण्डियन प्लेट सर्छ, बाँकी दुई सेन्टिमिटर चाहिँ उत्तरतर्फ सर्छ, भनेको तिब्बततिर-त्योभन्दा माथि,’ उहाँले भन्नुभयोे, ‘लामो क्षेत्रमा भयो त्यो चाहिँ । नेपालमा छोटो ठाउँमा भयो, तिब्बतमा लामो ठाउँमा भयो ।’ भूकम्पको प्रकृति नै उत्तरतर्फ र यताको फरक हुने उहाँले स्पष्ट पार्नुभयो । नेपालमा सञ्चित भूकम्पीय शक्ति तिब्बतको भूकम्पले नघटाउने उहाँले जानकारी दिनुभयो । ‘त्यो भूकम्पले हाम्रो नेपालमा असर गर्ने अथवा यहाँको शक्ति क्षीण गराउने, लैजाने भन्ने हुँदैन,’ उहाँले भन्नुभयो । नेपालको पूर्व वा पश्चिमतर्फ सञ्चित भूकम्पीय शक्ति त्यसले कम गर्दैन । त्यसले नेपालमा भूकम्पको जोखिम घटाउँदैन ।
पश्चिम नेपालमा उच्च जोखिम
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठा भूकम्पविद् लोकविजय अधिकारीका अनुसार तथ्यांक हेर्दा पनि पछिल्लो समयमा पश्चिम नेपालमा बढी भूकम्पहरू गइरहेको छ । उहाँले दैनिक रूपमा साना र बेलाबेला मझौला किसिमका भूकम्प गइरहेका घटनाले उक्त क्षेत्रमा भूकम्पीय रूपमा जोखिम रहेको देखाएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘त्यहाँ भूकम्पीय शक्ति सञ्चित भएको हो । जति पनि साना र मझौला भूकम्प गइरहेका छन् त्यसले यो ठाउँमा ठूलो भूकम्प जाने शक्ति छ । भूकम्पीय जोखिममा हामी छौं भन्ने यसले संकेत गर्छ ।’ पृथ्वीको सतहमुनि रहेको भारतीय प्लेट प्रतिवर्ष दुई सेन्टिमिटरको दरले उत्तरमा युरेसियन प्लेटतर्फ सरिरहेकाले हिमालय क्षेत्रमा भूकम्पीय दरार पैदा भइरहेको विज्ञहरू बताउँछन् । त्यसकारण नेपालमा भूकम्पको जोखिम रहेको भन्दै अधिकारीले भन्नुभयो, ‘जति धेरै समय, त्यति धेरै शक्ति सञ्चय हुने भयो । जति धेरै समयसम्म शक्ति बाहिर निस्किएन वा भूकम्प गएन ठूलो भूकम्प जाने सम्भावना भयो ।’ अहिलेसम्मको अध्ययनले गोरखाभन्दा पश्चिम भारतको देहरादुनभन्दा पूर्वको करिब ८०० किलोमिटर भू-भागमा सन् १५०५ यता महाभूकम्प नगएको हुँदा यो क्षेत्रमा जोखिम रहेको अधिकारी जस्ता विज्ञहरू बताउँछन् । उहाँले भन्नुभयोे, ‘प्लेटहरू सर्ने कारणले जुन दुई सेन्टिमिटरका दरले नेपालभित्र प्रतिवर्ष सञ्चित हुने शक्ति हो, त्यो ५०० वर्षयता भूकम्प नगएका कारणले जम्मा भएर बसेको छ । त्यसमा आठ म्याग्निच्युड वा त्योभन्दा बढीको भूकम्प निम्त्याउन सक्ने शक्ति छ ।’
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले चीनको तिब्बत क्षेत्रमा मंगलबार गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकका परिवारलाई हार्दिक समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा दिनुभएको सन्देशमा भनिएको छ, ‘तिब्बत स्वायत्त क्षेत्रमा आएको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति म गहिरो दुःख व्यक्त गर्दछु । मृतकका परिवारजनलाई हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यस दुःखद् घडीमा नेपाल जनगणतन्त्र चीनको सरकार र जनताको साथमा दृढतापूर्वक उभिएको छ ।’ राष्ट्रपति पौडेलले नेपाल सरकार र नेपाली जनताका तर्फबाट समवेदना व्यक्त गर्दै चीन सरकार र पीडित जनतालाई आवश्यक सहयोग गर्न नेपाल तयार रहेको जनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच