झापा । तीनदिन अघि गृहजिल्ला झापा आउनु भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा आफ्नो निर्वाचन क्षेत्र झापा १ का विभिन्न कार्यक्रममा व्यस्त हुनुहुन्छ । उहाँ पार्टी कामका सँगसँगै निर्वाचन क्षेत्रका विकास निर्माण, प्रकृति, वन्यजन्तु तथा मानव सिर्जित समस्या समाधानमा व्यस्त हुनु भएको हो ।
उहाँ विज्ञ र मन्त्रीसहितको टोलीका साथ समस्याको सुनुवाइ र त्यसको समाधान खोजीमा जुट्नु भएको छ । मंगलबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, कोशी प्रदेशका पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डलसहितको टोलीसँग दिनभर महामन्त्री शर्मा व्यस्त रहनु भएको झापा १ का कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले बताउनुभयो ।
मंगलबार बिहान गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान धुलाबारीमा आयोजित मानव हात्ती द्वन्द्व व्यवस्थापन विषयको छलफलमा मन्त्री र विज्ञसहितको टोली सहभागी बन्यो । सो कार्यक्रम महामन्त्री शर्माको सचिवालयले संयोजन गरेको हो । छलफलमा अब मानव हात्ती द्वन्द्व होइन, मानव हात्ती मैत्री सम्बन्ध स्थापित हुने निचोड निकालिएको छ । मन्त्री शाही समक्ष १४ बुँदे माग राखिएको छ ।
हात्ती प्रवेश मार्गमा तटबन्धन चाँडो गर्नु गर्न, बालीबीमा कार्यान्वयन, जैविक करिडोर निर्माण, हात्ती मैत्री पर्यटन विकासका लागि बजेट, हात्ती पीडित कृषकलाई वैकल्पिक बाली तर्फ आकर्षित, सोलार फेन्सिङलाई मर्मत, आरआरटीको टिमलाई सवारी साधानको व्यवस्था, जीपीएस प्रविधि प्रयोग, हात्ती क्षेत्र मैत्री वनको विकास, राहत सहज रुपमा पाउन कानुनी झन्झटको हटाउने, हात्ती प्रभावित क्षेत्रका लागि डेडिकेटेड सेवा उपलब्ध, मृतकका परिवारलाई राहतका लागि कार्यविधि बनाउने र कार्यान्वयन गर्ने, मानव हात्ती द्वन्द व्यवस्थापन, पर्यापर्यटनको विकासलगायत विषय कार्यान्वयन गर्न माग गरिएको छ ।
सोही टोलीले मंगलबार नै मेचीनगर नगरपालिका-१३ को निचाझोडा सिमसार पर्या-पर्यटन क्षेत्रको अवलोकन गरेको छ । त्यसैगरी भद्रपुर नगरपालिका-१० को ऐतिहासिक क्षेत्र चन्द्रगढको अवलोकन पछि मेचीनगर-४ को बाहुनडाँगी बजार पूर्व हात्ती प्रवेश मार्गमा पुगेर समस्याको जानकारी लिएको छ । निरीक्षण गरेका क्षेत्रको टोलीले बस्तुस्थितिसमेत बुझेको छ ।
टोलीले समस्या समाधानका विषयमा स्थानीय सरकार, सुरक्षा निकाय र स्थानीयवासीसँग छलफल गरेको टोलीमा सहभागी मन्त्री शाहीका जलवायु विज्ञ सल्लाहकार मञ्जित ढकालले बताउनुभयो । उहाँले ती क्षेत्रको समस्या पहिचान र निराकरणको उपायमा केन्द्रित रहेर सर्वपक्षीय संवाद भएको जानकारी दिनुभयो ।
टोलीले निरीक्षण गरेका स्थान महामन्त्री शर्माको निर्वाचन क्षेत्रमा पर्छन् । झापा १ का सांसदसमेत रहनु भएको शर्माले आफ्नो क्षेत्रको समस्या स्वयंले जानकारी गराउँदै समाधानका लागि टोलीको ध्यानाकर्षण गराउनु भएको हो ।
झापा १ को समस्या पहिचान, समाधान र विकासको सम्भावनाका विषयमा केन्द्रित रहेर ती काम गरिएको शर्माको सचिवालयले जनाएको छ । सोही क्रममा वनमन्त्री शाहीले धार्मिकस्थल मेचीनगर १३ को पाउपाथीभराको अवलोकन र दर्शनसमेत गर्नु भएको छ ।
मन्त्रीद्वय शाही र मण्डल, कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव नरेश सुवेदी, कोशी टपु वन्यजन्तुका प्रमुख विज्ञ हरिभक्त आचार्य र विज्ञसहितको टोलीलाई कांग्रेस झापा सभापति देउकुमार थेवे, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले समस्याका बारेमा थप जानकारी गराउनु भएको छ ।
वनमन्त्री शाहीले गर्न सकिने काम तत्कालै गर्ने र सरकारले आउने बजेटमा रकम विनियोजन गरेर विकासका लागि समावेश गरेर जाने आश्वासन दिनुभएको छ । हात्तीको दीर्घकालीन समाधानका लागि कार्यविधि बनाएर आगामी बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रदेश वनमन्त्री मण्डलले मानव हात्ती द्वन्द्व समाधानका लागि मानव पनि दोषी रहेको बताउँदै सुध्रनु पर्ने बताउनुभयो । उहाँले मान्छे पनि बस्ने र जनावरलाई पनि संरक्षण गर्ने नीतिमा जोड दिँदै मन्त्री मण्डलले बजेट अभावले प्रदेश सरकारले काम गर्न सकेको स्वीकार गर्नु भएको छ । उहाँले निचाझोडा र चन्द्रगढको स्पष्ट खाका सहितको योजना लिएर मन्त्रालय आउन आग्रह गर्नुभएको छ ।
संघीय र प्रदेश मन्त्री, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव, प्रदेश वन मन्त्रालयका सचिव तथा विज्ञसहितको टोलीले सम्बन्धित क्षेत्रको निरीक्षण र वास्तविक अवस्थाको जानकारी लिएकोले समस्या समाधान हुने आस जागेको क्षेत्रीय सभापति बुढाथोकीको प्रतिक्रिया छ ।
आइतबार झापा आउनु भएको महामन्त्री शर्माले सोही दिन पार्टीको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै निर्वाचन क्षेत्रको समस्या, पर्या-पर्यटन, विकास निर्माणका बारेमा मन्त्री, विज्ञ र सर्वपक्षीय टोलीलाई जानकारी गराउने बताउनु भएको थियो । सोमबार शर्माले चिया क्षेत्रको समस्याको जानकारी लिनु भएको थियो । सोही दिन उहाँले निर्वाचन क्षेत्रमा सचिवालयको सुभारम्भ समेत गर्नु भएको थियो ।
आज कांग्रेस कोशी प्रदेशको ६ महिने कचनकवल-सगरमाथा जागरण अभियानको शुभरम्भमा सहभागी हुने महामन्त्री शर्माले भोलि (पुस २५ गते) बुद्धशान्तिमा निर्माण भएको ४७६ मिटर लामो झोलुङ्गे पुलको उद्घाटन गर्नु हुनेछ ।
टिमाइखोला माथि बनेको नेपालको तेस्रो लामो सो झोलुङ्गे पुलले बुद्धशान्ति गाउँपालिकाको ४ र ६ नम्बर वडालाई जोड्छ । महामन्त्री शर्मा त्यसपछि पनि केही दिन निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रममा व्यस्त रहने उहाँको सचिवालयले जनाएको छ ।
झापा १ बाट निर्वाचित भएपछि महिनाको दुई पटक निर्वाचन क्षेत्रमा आइरहनु भएको शर्मा स्थानीयको दु:ख, सुखमा सहभागी हुने गर्नु भएको छ । केही समय अघि "सांसद बेपत्ता" भन्दै क्षेत्रबासी नै सडकमा उत्रेपछि सांसद शर्माले गृहनगरको एक कार्यक्रममा हालै आक्रोश व्यक्त गर्नु भएको थियोे । सो कार्यक्रममा शर्माले भन्नुभएको थियो,"सांसद हरायो नभन्नुस्, सिधै प्रहरीमा उजुर गर्नुस् ।"
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच