गत हप्ता तीनवटा साना ठूला देशले तीनजना महत्वपूर्ण व्यक्ति गुमायो । उहाँहरू हुनुहुन्थ्यो : अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर, भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह र नेपालको कूटनीतिक क्षेत्रमा प्रख्यात विन्देश्वरी शाह । अमेरिका जस्तो विकसित, महाशक्ति राष्ट्रको प्रमुख कार्टर नेपाल जस्तो सानो देशका मित्र हुनुहुन्थ्यो । सन् १९७७ तिर बीपी कोइरालालाई जेलमा राख्ने निर्दलीय सत्तालाई उहाँले राष्ट्रपतिकै स्थानबाट दबाब दिनुभएको थियो । वाटरगेट काण्डले आहत भएको अमेरिकी लोकतन्त्रलाई मानव अधिकारको सही लिक र लोकतन्त्रको सही अभ्यासतर्फ डोर्याउन कार्टरको योगदान महत्वपूर्ण थियो । साम्यवादी देश चीनसँगको कूटनीतिक सम्बन्धलाई उहाँले जति महत्व दिनुभएको थियो त्यति नै मानव अधिकारको प्रश्नमा उहाँ दृढ रहनुभयो । त्यस समय अर्को महाशक्ति राष्ट्र सोभियत संघ भए पनि कार्टर असहज हुनुभएको थिएन । रुससँग पनि उहाँको सम्बन्धको आधारलाई मानव अधिकारसँग जोड्ने गर्नुहुन्थ्यो ।
अमेरिकाको राष्ट्रपतिले अमेरिकी स्वार्थविपरीत जाने अवस्था हुँदैन । अमेरिकी स्वार्थको परिधिभित्रै रहेर सायद उहाँले संसारमा मानव अधिकारको विषयलाई प्रमुखताकासाथ उठाइरहनुभयो । कार्टरलाई अन्तर्राष्ट्रिय रूपमा चर्चित, गरिमामय पुरस्कार नोवल पुरस्कार समेत प्राप्त हुनुले उहाँको दृढता र मानव अधिकारप्रति विश्वव्यापी आग्रहनै मुख्य कारण हुनसक्छ । कार्टरले नेपालमा लोकतान्त्रिक संस्कृतिलाई उच्च महत्व दिनुभएको थियो । कार्टर फाउण्डेशनमार्फत नेपालमा लोकतन्त्र, मानव अधिकारको स्थापना, विकास तथा सामाजिक न्याय र लोकतान्त्रिक संस्कृतिको विस्तारमा सहयोग पु¥याउनुभएको सबैलाई जानकारीमा छ । लोकतन्त्रको जग निर्वाचनको स्वच्छता र निष्पक्षतामा निर्भर रहन्छ भन्ने सार्वजनिक सत्यतालाई अनुभव गर्दै विगत वर्षका राष्ट्रिय निर्वाचनहरूमा कार्टर फाउण्डेशनले पर्यवेक्षणको कामसमेत गर्दै आएको छ । स्वयं राष्ट्रपति कार्टर निर्वाचन पर्यवेक्षण क्रममा नेपाल आउनुभएको बिर्सन सकिँदैन । सदा हँसिलो, सहयोगी भावको, नेपाल र नेपालीप्रति सदा सहयोगी तत्कालीन राष्ट्रपति कार्टरको निधनले निश्चय पनि नेपालीहरूलाई दुखित तुल्याएको छ ।
छिमेकी मित्र राष्ट्र भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह धेरै अर्थमा नेपालीहरूले स्मरण गरिरहनुपर्ने नामभित्र पर्छ । नेपालमा द्वन्द्व र हिंसाको चरम मार भइरहेको समयमा हिंसालाई शान्तिपूर्ण लोकतान्त्रिक अवतरणमा ल्याउन उहाँसहित उहाँले नेतृत्व गरेको सरकारले निष्पन्न गरेको भूमिकाको स्मृति धेरैको मनमा ताजै छ । हुन त पहिलो चरणको आरम्भ जुन रूपमा भए पनि, विकसित जसरी भए पनि २०५२ देखि २०६२ सम्म नेपालमा भएको हिंसाले भारतको पनि टाउको दुखाउने अवस्था देखिएको थियो । फरक तरिकाले हिंसालाई सहयोग गरेको भारतीय नेतृत्वले अन्ततः यसको समाधानमा पहल गर्दा प्रधानमन्त्री मनमोहन सिंहको सकारात्मक सोच अवश्य प्रतिबिम्बन भएको मान्नुपर्ने हुन्छ ।
मनमोहन सिंहले नेतृत्व सम्हाल्दा भारतीय अर्थतन्त्र डाँवाडोल भएको विश्लेषण थियो । अर्थशास्त्रका ज्ञाता, अर्थ कूटनीतिमा निपूण र अत्यन्त शालीन मनमोहन सिंहको नेतृत्वले भारतीय अर्थतन्त्रको मजबुत आधार खडा गरेको देखिन्छ । सदा प्रतिस्पर्धी चीनले माओ सेतुङकालको गरिबीबाट उक्सिने प्रयत्न गरिरहेको समय भारत भने दिनप्रतिदिन आर्थिक मन्दीको भाषमा पर्दै थियो । चीनले माओको आर्थिक नीतिलाई देङ सियाओपिङको वैचारिक पद चिहृन अंकुरित गरेपछि समृद्धिको शिखरतर्फ लागेको समयमा भारतको अवस्था नाजुक थियो । तर, मनमोहन सिंहको आर्थिक सुधारनीति प्रभावकारी भयो र डेढ दशकभित्रैमा भारत अौद्योगिक, सामरिक, कृिष, प्रविधि हर क्षेत्रमा उन्नत भएको अवस्था छ । वार्षिक आर्थिक वृद्धिदर यतिखेर चीनकै हाराहारीमा भारतको हुनुका पछि मनमोहन सिंहको चिन्तन, योजना र ज्ञानको भूमिका छ भन्ने यथार्थ निःसन्देह स्वीकार गर्न सकिने विषय हो । भारत-नेपालको सँधियार भएको हुनाले कतिपय सन्दर्भमा प्रशस्त मतभेद रहेका छन् । तर भारतीय नेतृत्वमा सकारात्मक सोच भएका अवस्थामा ती सोच गौण हुने छन् भन्नेमा नेपालीहरूको विश्वास छ । मनमोहन सिंहको देहमुक्तिले दक्षिण एसियाले एक शालीन विद्वान्, नेपालले एक सहयोगी र भारतले आफ्नो आर्थिक सुधारका एक अनन्य व्यक्तित्व गुमाएको छ ।
नेपाल भौगोलिक हिसाबले, तुलनात्मक विकास र जनसंख्याको हिसाबले, प्रविधिको दृष्टिकोणले स-सानो देश भए पनि भौगोलिक रणनीतिक अवस्थितिका कारण अत्यन्त महत्वपूर्ण छ भन्नेमा कुनै द्विविधा छैन । यो भू-अवस्थितिको जटिलताका कारण उत्तर–दक्षिणसँगका नेपालका सम्बन्धहरू पनि जटिल छन् भन्ने तथ्य नेपालीहरूले सदाकाल अनुभव गरिरहनुपर्ने विषय हो । त्यसमा पनि नीतिगत विवाद भएको समयमा कूटनीतिक क्षेत्रमा होस् कि राजनीतिक नेतृत्वमा होस् काम गर्न अति संवेदनशील नभई हुँदैन । भावनाको धरहरा चढेर संवेदनशील समस्याको सामना गर्न सकिँदैन । यस्तोमा कूटनीतिक सामथ्र्य जरुरी पर्छ । नेपालको अत्यन्त जटिल सम्बन्ध रहेको समयमा भारतका लागि नेपालको राजदूत भएर विश्वासपूर्वक प्रतिभा देखाउनु भएकी विन्देश्वरी शाहको पार्थिव अवशान भएको छ । विसं २०४५/०४६ को अवस्था कस्तो थियो भन्ने अनुभव गर्नेहरूको संख्या घट्दै गए पनि विन्देश्वरीको योगदान सदा स्मृतिमा रहने हुन्छ ।
विन्देश्वरी शाह आजका प्रख्यात बैंकर्स अनिल शाहकी आमा, डा.नारायण केशरी शाहकी पत्नी अथवा राजनीति, मानव अधिकार र कूटनीतिक क्षेत्रका स्वनामधन्य व्यक्तित्व ऋषिकेश शाहकी भाइ बुहारी भनेरभन्दा पनि देशको प्रतिभाशाली विदुषी र कूटनीतिक क्षेत्रकी मूर्धन्य विज्ञ भनेर चिनिनुहुन्छ । भारतमा जन्मेर अमेरिकाका ख्यातिप्राप्त विश्वविद्यालयहरूबाट शैक्षिक उपाधि हासिल शाह सन् १९५९ मा परराष्ट्र सेवामा प्रवेश गर्नुभएको थियो । त्यो समयमा बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार थियो । ०१७ को निर्दलीय परिवर्तनपछि जुन समयमा अमेरिकाका लागि नेपाली राजदूत मातृकाप्रसाद कोइराला हुनुहुन्थ्यो त्यो समयमा शाहले अमेरिकामा समेत कूटनीतिक भूमिका निर्वाह गर्नुभएको थियो ।
शाहले सन् १९७१ मा बंगलादेशको जन्म भएपछि कार्यवाहक राजदूतको भूमिका निभाउनुभयो र सन् १९८८ मा भारतका लागि राजदूत नियुक्त हुनुभयो । भारतले व्यापार तथा पारवहन सन्धि पुन: नवीकरण गर्न अनाकानी गर्दै नेपालमा नाकाबन्दी लगाउने तयारीमा थियो । तर तत्कालीन नेपालका राजा वीरेन्द्र, प्रधानमन्त्री मरिचमान सिंहदेखि राजदूत विन्देश्वरी कसैले पनि भारतीय सर्तलाई स्वीकार नगरेपछि भारतले एक वर्षभन्दा बढी समय नाकाबन्दी लगाएको थियो । त्यति कठिन समयमा शाह भारतको नयाँदिल्लीमा नेपाल-भारत सम्बन्धका तिक्तता अन्त्य गर्न, नेपालको स्वाभिमान गिर्न नदिन प्रयत्नरत हुनुहुन्थ्यो । नाकाबन्दीकै बेला नेपालमा बहुदल स्थापित गर्न अवसर जुट्यो र उहाँलाई ०४७ पछि पहिलो निर्वाचित सरकारले फिर्ता बोलायो । तीस वर्षे सेवाअवधिको निर्णय गर्दै तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारले धेरै राष्ट्रसेवक कर्मचारीहरूलाई अवकाश दिएपछि शाह पनि सेवानिवृत्त हुनुभएको थियो । यसरी नेपालले लामो कूटनीतिक अनुभव भएकी, विदुषी शाहलाई पनि भौतिक रूपमा गुमाएको छ । हामी फरक देशका पृथक प्रतिभाका धनी दिवंगत यी तिनैजनाप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दछौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच