
पाल्पा । प्रजातन्त्र सेनानीहरुले आफ्नो योगदान ओझेलमा परेको बताएका छन् । नेपाली काँग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको तेस्रो जिल्ला अधिवेशनमा बोल्ने अधिकांश प्रजातन्त्र सेनानीका नेताहरुले पार्टीको वेवास्ताका कारण आफुहरुको योगदान ओझेलमा परेको बताए हुन् ।
प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य हरिराज गौतमले मुुलुुकमा व्यवस्था परिवर्तनका लागि आफुहरुले जेल, नेल खेप्नु परेको स्मरण गर्दै अहिले त्यो योगदान ओझेलमा परेको बताउनुभयो । उहाँले पार्टीलाई सशक्त ढंगले अगाडि बढाउन पुराना र नयाँ व्यक्तिहरुलाई सँगै लिएर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । मुलुक परिवर्तनमा योगदान दिएका व्यक्तिहरुको पार्टीले सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेता गौतमले संगठनलाई शुद्धीकरण गर्न जरुरी रहेको बताउँदै शुद्धीकरण नगर्दासम्म संघ बलियो बनाउन नसकिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य विधान श्रेष्ठले आफुले व्यवस्था परिवर्तनका लागि ज्यान फालेर लागेको स्मरण गर्दै अहिले सम्म कुनै पदको लागि लोभ नगरेको बताउनुभयो । उहाँले पार्टीमा लागेर कर्म गर्न तर पदकको आशा नगर्न सबैलाई आग्रह गर्नुभयो । नेता श्रेष्ठले भन्नुभयो ‘राजनीति गर्दै जाँदा कहिले नसोचेको पद समेत पाइन्छ, त्यसैले धैर्य भएर बसौं ।’ उहाँले जुनसुकै बेला पनि राजनीति दुर्घटना हुन सक्ने भएकाले सचेत भएर लाग्न पार्टी नेतृत्वलाई आग्रह समेत गर्नुभयो । उहाँले राजनीतिलाई सहि बाटोमा लैजान प्रजातन्त्र सेनानी एक पटक फेरि जाग्न जरुरी रहेको बताउनुभयो ।
प्रजातन्त्र सेनानी राजेन्द्र गोपाल सिहले पार्टीले नियमन नगर्दा प्रजातन्त्र सेनानीहरुको योगदान ओझेलमा परेको बताउनुभयो । उहाँले भन्नुभयो ‘ हाम्रो सर्वोच्च निकाय भनेको पार्टी हो,पार्टीले नियमन नगर्दा सेनानीहरुको योगदानको सम्मान हुन सक्दैन ।’ नेता सिंहले प्रजातन्त्र ल्याउन योगदान पु¥याएका व्यक्तिहरुको अभिलेख राख्न समेत पार्टीलाई आग्रह गर्नुभयो ।
प्रजातन्त्र सेनानी डा. राम प्रासाद ज्ञावालीले काँग्रेस अहिले पार्टी नभएर पाटी भएको बताउनुभयो । ज्ञवालीले भन्नुभयो ‘पार्टी पौवा जस्तै बनेको छ, । पार्टीमा योगदान दिनेहरुको कुनै रेकर्ड छैन ।’ अर्का प्रजातन्त्र सेनानी कृष्ण प्रसाद पौडेलले विद्यार्थी राजनीति गर्दा भोग्नु परेका पिडाको स्मरण गर्दै त्यति बेला गरेको योग्दान अहिले ओझेलमा परेको गुनासो गर्नुभयो । तर काँग्रेस नेताहरु भने प्रजातन्त्र सेनानीरुको योगदान महत्वपूर्ण रहेको र उनीहरुको पार्टीले सम्मान गरेको दावी गर्दै आएका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भरत कुमार शाहले मुलुक परिवर्तनमा प्रजातन्त्र सेनानीहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । संघको अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै उहाँले प्रजातन्त्र सेनानीको सक्रियताका कारण नेपालमा परिवर्तन सम्भव भएको र नेपाली जनताले आजसम्म जे जति अधिकार प्राप्त गरेका छन् त्यसमा प्रजातन्त्र सेनानीको भूमिका रहेकोे उल्लेख गर्नु भयो ।
निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था फालेर बहुदलीय प्रणाली स्थापनामा प्रजातन्त्र सेनानीहरुको सक्रियता, सजग, दूरदर्शी र नेतृत्वदायी भूमिका रहेको नेता शाहले उल्लेख गर्नुभयो । ‘प्रजातन्त्र सेनानीको सक्रिय भूमिकाबिना नेपालमा परिवर्तन सम्भव थिएन,’ उहाँले भन्नुभयो । प्रजातन्त्र सेनानीहरु क्रान्तिकारी, आन्दोलनकारी र संघर्षशील हुने गरेको तथा परिवर्तनको पक्षमा काम गर्दै आएको उहाँको भनाइ थियो । नेता शाहले आफुले पनि प्रजातन्त्र ल्याउन ज्यानकै बाजी लगाएको स्मरण गर्दै कठिन परिस्थितिमा सेनानीहरुले काम गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘प्रजातन्त्र त्यत्तिकै आएको हैन, दुःख गरेर ल्याइएको हो । त्यसको संरक्षण गर्ने दायित्व पनि हाम्रै हो ।’ नेता शाहले अहिलेको व्यवस्थालाई यताउती हुन नदिई सबै सेनानीहरु अब एक भएर देश र पार्टी बनाउने दिशामा लाग्न जरुरी रहेको औल्याउनुभयो । नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान दिएका प्रजातन्त्र सेनानीहरु सधै देशका लागि अमर रहेको बताउनुभयो ।
उहाँले हिजोका दिनहरुमा देश परिवर्तनमा खेलेको भूमिका अहिले पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्नुभयो । सभापति श्रेष्ठले भन्नुभयो ‘प्रजातन्त्र सेनानीहरुलाई साथमा लिएर पार्टी र मुलुक रुपान्तरणमा अब पाल्पा काँग्रेस लाग्छ ।’ उहाँले प्रजातन्त्र सेनानीहरुको जिल्लामा रेकर्ड राखिएको र उनीहरुको योगदानको कदरस्वरुप सम्मान समेत गर्दै आएको बताउनुभयो । सभापति श्रेष्ठले पार्टीलाई विधिवत, संस्थागत र भातृ संस्थाहरुलाई चलायमान बनाउने काममा पार्टी सक्रिय भएर लागेको उल्लेख गर्नुभयो । संघका जिल्ला अध्यक्ष यमलाल तिमिल्सेना,सहिद पुत्री विष्णुदेबी आचार्य, नेपाली काँग्रेस पाल्पाका प्रवक्ता शोवाकर न्यौपाने लगायतले प्रजातन्त्र सेनानीहरुको योगदान कसैले पनि विर्सन नहुने धारणा व्यक्त गर्नुभयाे ।
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको अध्यक्ष यमलाल तिमिल्सेना सर्वसम्मत चयन हुनुभएको छ । संघको तानसेनमा भएको तेस्रो जिल्ला अधिवेशनले तिमिल्सेनालाई अध्यक्षमा चयन गरेको हो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका निष्ठावान राजनीतिज्ञ तिमिल्सेना अध्यक्षमा चयन हुनुलाई नेता कार्यकर्ताले सकारात्मक भनी टिप्पणी गरेका छन् । पूरै जीवन प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनमा ब्यतित गर्नुभएका उहाँलाई संघले जिल्लाको जिम्मेवारी सुम्पिदिएको हो । पार्टीमा अत्यन्त सरल र इमान्दार नेताको छवि बनाउनु भएका तिमिल्सेना विद्यार्थी राजनीतिबाटै पार्टी राजनीतिमा आउनुभएको हो ।
तिमिल्सेनाको नेतृत्वमा चयन भएको समितिको उपाध्यक्षमा कृष्णप्रसाद भट्टराई, सचिव निर्मल न्यौपाने हुनुहुन्छ। यस्तै सदस्यहरुमा प्रकाशलाल श्रेष्ठ, कृष्ण लम्साल,तुङ्ख राज पौड्याल, हरिहर भट्टराई, तुल्सीराम न्यौपाने, शालिकराम पाण्डे, यदु पाण्डे चयन भएको संघले जनाएको छ । यस्तै अधिवेशनले महाधिवेशन केन्द्रीय प्रतिनिधि समेत छनौट गरेको छ ।
जसमा निलराज नेपाल, हुमनाथ न्यौपाने, सुन्दरप्रसाद देवकोटा, विष्णुदेवी घिमिरे र गणेश खनाल चयन भएको निर्वाचन अधिकृत केशवराज अधिकारीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच