काठमाडौं । मलेसियामा अर्को साताबाट सुरु हुने यु-१९ विश्वकप क्रिकेटमा सहभागी हुने नेपाली क्रिकेट टिमको बिदाइ गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरूको बिदाइ गरेका हुन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामनासहित टोलीको बिदाइ गर्नुभएको थियो ।
बिदाइ कार्यक्रममा बोल्दै मन्त्री तेजुलाल चौधरीले उमेरमा सानो भए पनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले क्यानले पछिल्लो समय गर्दै आएको कामप्रति धन्यवाद व्यक्त गर्दै विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्नका लागि विद्यालयहरूसँग पनि सहकार्य गर्न सकिने बताउनुभयो । प्रशिक्षक महेशप्रसाद रिजालले प्रतियोगिताका लागि राम्रो तयारी भएको बताउनुभयो ।
सिनियर महिला टिमकी कप्तान इन्दु बर्माले विश्वकपमा छनोट भएर इतिहास रचेकोमा बधाई दिँदै विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेर आउन शुभकामना दिनुभएको थियो । नेपाली यु–१९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्नेछ ।
पूजा कप्तानीमा १५ सदस्यीय टिम
क्यानले विश्वकप खेल्न पूजा महतोको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको थियो । नेपाली टिममा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहनुभएको छ ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । समूहमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दैछ । त्यस्तै जनवरी २२ मा अष्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् ।
मलेसियामा जनवरी १८ देखि सुरु हुने यस विश्वकपमा १६ देशले भाग लिँदै छन् । जसमा नेपालसहित आयोजक मलेसिया, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इण्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका छन् ।
क्षमता अनुसारको खेल देखाउनु होला : सचिव खड्का
नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले यु-१९ महिला विश्वकप क्रिकेट प्रतियोगितामा क्षमता अनुसारको खेल देखाउन आग्रह गर्नुभएको छ । विश्वकप खेल्न जाने टोलीलाई बिदाई कार्यक्रममा सचिव खड्काले विश्वकपमा हुने गतिविधिले नेपाली क्रिकेटको पहिचान झल्काउने बताउनुभएको हो ।
‘नेपाली क्रिकेटलाई विश्वले नै हेरिराखेको अवस्थामा यहाँहरूले अन द फिल्ड र अफ द फिल्ड गरेको सम्पूर्ण गतिविधि नेपाली क्रिकेटको चिनो पहिचानलाई झल्काउने छ । त्यसैले प्रतियोगितामा क्षमता अनुसारको खेल देखाउनुहोला । त्यसका लागि यहाँहरूलाई क्रिकेटको संघको तर्फबाट शुभकामना छ,’ पारसले भन्नुभयो ।
सचिव खड्काले क्रिकेट संघको तर्फबाट धेरै प्रेसर नभएको उल्लेख गर्नुभयो । ‘यो प्रतियोगितामा यहाँहरू सबैजनालाई हाम्रोतर्फबाट क्रिकेट संघको तर्फबाट धेरै प्रेसर छैन । पहिलो पटक खेल्दै हुनुहुन्छ । राम्रो वातावरणमा हुर्केका महिला क्रिकेटमा नेपाल क्रिकेट संघले चाहेर पनि दिन नसक्दा पनि विश्वकपमा सहभागिता जनाउँदै हुनुहुन्छ । विश्वकप भन्नासाथ सम्पूर्ण क्रिकेटिङ राष्ट्रहरू हुनेछन्,’ उहाँले भन्नुभयो । यो प्रतियोगिताले आगामी दिनमा नेपाली क्रिकेटलाई अझै बलियो बनाउन सहयोग पुग्ने उहाँको विश्वास थियो ।
राम्रो छाप छोड्नेछौं : कप्तान महत्तो
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको कप्तान पूजा महतोले विश्वकपमा राम्रो छाप छोड्ने बताउनुभएको छ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा कप्तान पूजाले विश्वकपमा नेपालको छाप छोड्ने बताउनुभएको हो । ‘राम्रो क्रिकेट खेल्नेछौं । किनकि राम्रो क्रिकेट खेलेपछि जे पनि हुनसक्छ । हामीले यो टुर्नामेन्टहरूमा सिकेका छौं । मलाई पुरै विश्वास छ । मेरो टिम विश्वकपमा केही राम्रो छाप छोड्नेछौं’, उहाँको भनाइ थियो ।
उहाँले महिला क्रिकेटमा नयाँ इतिहास बनाउँदै आएको बताउनुभयो । ‘सुरुदेखि नै हामीले महिला क्रिकेटमा नयाँ इतिहास बनाइराखेका छौं । विश्वकप छनोट भयौं । एसिया कपमा पाकिस्तानलाई जित्यौं । हाम्रो गोल धेरै नै सेट छ । विश्वकपमा पनि एउटा नयाँ इतिहास बनाउने छौं,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच