काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले १३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासाहरू रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको एकाइ प्रमुख डाक्टर अनुप बास्तोलाले जानकारी गराउनुभयो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालय मातहत तथा समग्रमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या संकलन तथा समाधान गर्ने उद्देश्यले गत महिना एकाइ गठन गर्ने निर्णय गर्नुभएको थियो । पैसा नलाग्ने नम्बर १११५ तथा मन्त्रालयको हृवाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२ का साथै मन्त्रालयको आधिकारिक फेसबुक र एक्स हृयाण्डलमा गएर सेवा सम्बन्धमा गुनासो तथा जानकारी दुवै लिने प्रबन्ध गरिएको छ ।
एकाइमा गत पुस ९ गतेसम्म प्राप्त विवरणअनुसार सबैभन्दा धेरै गुनासा अस्पताल सेवासँग सम्बन्धित ४१ दर्ता भएका छन् । यसैगरी बिमा सेवा २५, पारिश्रमिकसम्बन्धी १४, प्रशासनिक १५ गुनासा दर्ता भएका छन् । सुझावसम्बन्धी आठ तथा अन्य २१ गुनासा दर्ता भएकामा आवश्यकताअनुसार तत्काल तथा प्राथमिकता दिएर सम्बोधन गरिएको एकाइ प्रमुख बास्तोलाले जानकारी दिनुभयो । यसअघि भइरहेको रोग तथा खोपसम्बन्धी जानकारी लिनेदिने काम पनि एकाइले गरिरहेको उहाँको भनाइ छ ।
मन्त्री पौडेलले आमनागरिकको चाहनाअनुसार स्वास्थ्य सेवा सुधार गर्ने क्रममा गुनासो सुन्दै सुनुवाइसमेत गर्ने गरी आवश्यक परे नीतिसम्बन्धी सुधारसमेत गर्न सक्ने उद्देश्यले एकाइ गठन गरिएको बताउनुभयो । ‘आमनागरिकलाई आफ्ना गुनासा भन्ने ठाउँ उपलब्ध होस् भनेर एकाइ गठन गरिएको हो,’ उहाँले भन्नुभयो, ‘आएका गुनासा हरसम्भव सम्बोधनको प्रयास भइरहेको छ । तपाईंका गुनासा निर्धक्कसँग राख्नुहोस् ।’ उहाँले नागरिकका धेरै समस्या परेका विषय नीतिगत सुधार आवश्यक परे गर्न तयार रहेको पनि बताउनुभयो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पैसा नलाग्ने र गुनासासमेत सम्बोधन हुने भएकाले हेल्लो हेल्थमा गुनासा राख्न आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच