तलकोट, सुनिकोट, धमेना र काँडा गाविसका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू,
तपाईंहरू सबैलाई उपत्यकाको ललितपुर जिल्लाको महिला प्रशिक्षण केन्द्रबाट सम्झना छ, नमस्कार छ । यतिखेर म प्रहरीहरूको कडा निगरानीमा कोठाभित्र बन्दी अवस्थामा छु । यो कोठामा मलगायत २२ जना आन्दोलनकारी साथीहरू छौं । तत्कालीन लोकप्रिय राजा वीरेन्द्रको बंशनाश भएपछि राजा बन्न पुगेका ज्ञानेन्द्र शाहको शासनशैली मन नपरेर सो प्रतिगमन कदमको विरोध गर्दा प्रशासनले लगाएको कफ्र्यू उलंघन गरेबापत अहिले म नजरबन्दमा परेको छु । यसरी प्रहरीहरूले व्यापक धरपक्कड र लाठीचार्ज गरेपछि कांग्रेस नेता महन्त ठाकुर, जीवन शाही, सुरेश भट्टलगायत मलाई पनि लट्ठीले गोडा र पिठ्यूमा चार/पाँच पटक पिट्यो, अनि वसन्तपुरबाट पक्रेर ट्रकमा राखी राति ९ः०० बजेतिर यता ल्यायो । यसरी थुनेर राखेको आज २७ दिन भयो ।
उपत्यकाका प्रत्येक आमसभा र विरोध सभाहरूमा भाषण गर्दा र गीत गाउँदा मेरो गला अवरुद्ध भएको छ । म साथीहरूसँग बोल्न पनि सक्दिन । कागजमा लेखेर साथीहरूलाई आफ्ना मनका कुरा व्यक्त गर्दछु । मेरो स्वास्थ्य अवस्था देखेर यो स्थानमा थुन्निएर बस्नुभएका लगभग २०० जति बन्दीहरू साह्र्रै दुःख मानिरहेका छन् । देशका विभिन्न भागबाट आएका साथीहरू यता छौं । बझाङबाट म मात्र छु । बाजुरा, अछाम र महाकाली अञ्चलका साथीहरू यहाँ छैनन् । डोटीका साथीहरू लक्ष्मीराज पाठक हुनुहुन्छ । यो ठाउँ अत्यन्त चिसो छ । माघ महिना अझ चिसो त हुने नै भयो । दिउँसो हुस्सु हटेको बखत घाम ताप्न मन लाग्छ तर भित्री ढोकामा प्रहरी बसेकाले जान पाउँदैनौं ।
डा.तुलसी गिरी र कीर्तिनिधि विष्टलाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाएर राजा आफैं अध्यक्ष बन्नु नेपाली राजनीतिक इतिहासमा हाँस्यास्पद विषयबाहेक केही होइन । जनप्रतिनिधिमूलक संसद् विघटन गरी जनताद्वारा चुनिएका प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न आरेप लगाई अपदस्थ गरी थुन्नुले प्रजातन्त्रको हत्या गरेको मानिन्छ ।
दिनभर पनि पातलो सिरक ओडेर ओछ्यानमा नै बस्छौं । प्रत्येक साथीहरूका समय बिताउन आआफ्ना क्रियाकलाप हुन्छन् । म भने लेखेर बस्छु । निद्रा लागे सुतिदिन्छु । देशको राजनीतिक माहौल अति ठोस रूपमा अघि बढिरहेको छ । उपत्यका र बाहिरका हजारौं प्रजातन्त्रवादी र परिवर्तनकामी साथीहरू थुनिएका खबरहरू बाहिर आइरहेका छन् । दाङ जिल्लाका उमेशचन्द्र थापालाई गोली हानी हत्या गरेको दुःखद खबर आइरहेको छ । प्रदर्शनकारीमाथि पानीका फोहोरा फालिरहेको छ, रबरका गोली वर्षाइरहेको छ र व्यापक रूपमा लाठी प्रहार गरी कैयौं साथीहरूलाई निर्ममतापूर्वक दमन गरिरहेको छ वर्तमान राजाको सरकारले भन्ने सुनिन्छ ।
राजाको शासनशैलीको विरुद्धमा उभिनु सामान्य विषय होइन । म निडर भएर सुरुदेखि विरोधमा उभिरहेको छु । अझ डा.तुलसी गिरी र कीर्तिनिधि विष्टलाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाएर आफैं अध्यक्ष बन्नु नेपाली राजनीतिक इतिहासमा हास्यास्पद विषयबाहेक केही होइन । जनप्रतिनिधिमूलक संसद् विघटन गरी जनताद्वारा चुनिएका प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न आरेप लगाई अपदस्थ गरी थुनिदिनुले प्रजातन्त्रको हत्या गरेको मानिन्छ । जसलाई प्रतिगमनको कदम नभनेर के भन्ने ? शेरबहादुर देउवा डडेलधुरा जिल्लाको रुवाखोलामा विसं २००३ सालमा पिता प्रसादसिंह देउवा र आमा द्रौपदीदेवीका कोखबाट जन्मेका इमानदार राजनीतिक नेता हुन् ।
पहाडको हावापानीमा हुर्केका चोखो दालभात तरकारी र गाई भैंसीको दूध, दही, मोही (छाई) खाएर डोटीको उचाकोटमा हाइस्कुलमा पढेका हाम्रै मान्छे हुन् । यी निडर र कपटरहित नेता पनि हुन् । अन्यायको विरोध गर्ने नेता र दुःख पाएका, काम गर्ने अवसरबाट वञ्चित पारिएका कार्यकर्ताको हितमा बोल्ने भएकाले म प्रजातान्त्रिक कांग्रेस पार्टीमा लागेको हूँ । यहाँभित्र पनि कांग्रेसका साथीहरू हामीलाई तान्त्रिक भनेर बोउँदारहेछन् । आन्दोलन सफल भएपछि एक न एक दिन त दुवै पार्टी एक हुने नै छन् मेरो ब्रहृमले यही भन्छ तर बाँच्न भने मुस्किल देखिरहेको छु । यतिका राजबन्दीहरूलाई यो सरकारले कति दिनसम्म थुनेर राख्छ, के खुवाउँछ ? सायद राजाको कदम ठीक छ भनी कागजमा सही गराएर छोड्न पनि सक्छ तर हामी कोही पनि यस्तो घृणित र अप्रजातान्त्रिक कदम चाल्दैनौं ।
बरु कारागारमा जीवन बिताउन तयार छौं । बाहिर गइहालियो भने क्रान्ति गर्छौं । क्रान्ति गर्दा अवश्य पनि सरकारले दमन गर्ला, गोली चलाउला । त्यस बखत हामीलाई बाँच्न गाह्र्रो होला । नागरिक आन्दोलनको अगुवाइ गरेर आन्दोलनको नेतृत्वमा अग्रपंक्तिमा उभिएका हामी श्याम श्रेष्ठ, कृष्ण पहाडी, मलाई र एक-दुईजना अरू साथीहरूलाई निशाना बनाएको कुरा पूर्वजानकारी पाएको पनि छु । यदि त्यस्तो भइहाल्यो भने मेरो शव रातापानी घाटमा राम्ररी जलाउनु । जिल्लाभरिका र सदरमुकामभन्दा माथिल्लो भेगका दाजुभाइले मेरो नाममा स्मृतिसभा गर्नु, कतै मिल्ने ठाउँमा शालिक निर्माण गर्नु, एकातिर मैले गाएका दुई हरफ देउडा गीत लेख्नु, अर्कोतिर मैले रचना गरेका लोकतन्त्रका पक्षका कविता उतार्नु । हाँसीहाँसी मेरो शालिकमा माल्यार्पण गर्नु, नरुनु । बस यति नै । बाँचिहालियो भने त भेट हुँने नै छ ।
अब केही चर्चा भात्याखोला, मस्टा, रिलु र माथि उल्लेख गरेका सबै गाउँविकास समितिका बासिन्दाले पाएका र भोग्दै आएका जीवनचर्याका बारे संक्षिप्त चर्चा गर्न मन लागेर लेख्दैछु । भात्याखोला, मस्टाका जनताले पनि केही दुःख त पाएका छन् सबै गरिब छैनन् पेटभरि खान पाएका छन् धेरैले । औल भएका कारण अन्न उब्जनी हुन्छ । सदरमुकाम नजिक छ ठाउँको चालचलन पनि बुझेका छन्, धेरै जनाले तर गरिब वर्गले त यो भेगमा पनि दुःख पाएका छन् । रिलुका जनताले कति बेसाहा बोके, भोकले कतिले अकालमा ज्यान गुमाए । दय, ठगुन्ना, रिलु गाउँका मानिसको आयआर्जनले नपुगेर वर्षेनी गरगहना बिक्री गरेर पेट पाल्नुपरेका जिउँदा कहानी मैले राम्ररी देखेको छु । थाहा पाएको छु ।
यस्तो किन भयो ? गहिरिएर सोच्नु जरुरी छ । निराकरण गर्नु पनि आवश्यक छ । यसका लागि यही धुलोमा यही माटोमा हुर्केको मानिसले मात्र समाज परिवर्तन गर्न सक्छ, अलि परको सुकिला गाउँका मानिसले दुःख बुझ्न अलि कठिन होला । बीचमा मेलाबिसौनाको डाँडोले छेके तापनि तलकोटी जनताको जीवनचर्या पनि उस्तै हो । म तलकोटको मान्छे । अझ बडीगाउँ किदन्न, पडाल्त, रजाडा, रैसल्लीका गाउँका मानिसको आयआर्जन लवाइखुवाइका बारे म चिरपरिचित मानिस हूँ । पितापुर्खाले पाएको दुःखको सम्झना गर्दा यो मुटुमा काँडाले चसक्क घोचे जस्तो महसुस हुन्छ । बेसाहा गर्न पैसा नपाउँदा पाँगरका रोटी खुवाएर बालबच्चा पालेको त्यो गरिबी इतिहास साँचेर राखेको छु ।
यति हुँदा पनि करानका जनतामा शिक्षाप्रतिको माया अटुट छ र थियो । त्यस्तो गरिबीको रेखामुनिका जनतालाई गाँस, बास र कपासको जोहो कुन सरकारले गर्ने ? नेतृत्व कसले गर्ने सोचनीय विषय छ । सुनिकोटदेखि तलकोट दरासम्मको विकासको रेखांकन स्थानीय जनताले गर्दा बल्ल साँचो विकास गरेको ठहरिन्छ । वारि र पारिका जनताको आगमनका लागि र ताक्लाकोटसम्म जयपृथ्वी राजमार्ग नपुर्याएसम्म विकासले गति लिन सक्दैन । त्यसका लागि रातापानी भन्ने ठाउँमा सेती नदीमाथि गाडी आगमनका लागि नेपाल सरकारले पक्की पुल निर्माण गर्नुपर्छ ।
सो अभियान यहाँका जनताले गर्नुपर्छ । जसको नेतृत्व भोलिका दिनमा म गर्नेछु तर राजाले आफ्नो भूल स्वीकार्नुपर्छ, संसद् पुनःस्थापना गर्नुपर्छ । प्रजातान्त्रिक तवरले चुनाव हुनुपर्छ । संसद्मा त्यस भेगबाट पंक्तिकारले जिम्मेवारी पाउनुपर्छ, भारदारी शैलीको राजनीतिको पूर्णरूपमा अन्त्य हुनुपर्छ, अन्त्य हुनेछ । सामन्ती शोषक वर्गलाई राजनीतिक अधिकार दिनुहुँदैन, कोदाको रोटीको महत्व बुझिदिनुपर्छ ।
यो भौतिक शरीरको मलाई त्यति माया पनि छैन । मातृभूमि हाम्री आमा हुन् । आमाको सेवा गर्यो भने स्वर्गलोक प्राप्ति होला । मेरो अस्थायी घर सुकेधारा काठमाडौंमा श्रीमती, छोराहरू र छोरी बसेका छन् । उनीहरूको मलाई जति चिन्ता छ, त्यति नै चिन्ता प्रजातन्त्रको, बझाङको र देउडा लोक संस्कृतिको छ ।
अब थोरै चर्चा काडा गाउँविकास समितिका जनताले पाएका दुःखका बारे पनि गरौं । यी भुइँमान्छेलाई मीठो खाना के हो ? कहिले मिठो खाना खाइन्छ ? राम्रो लुगा के हो ? कहिले सुकिलो लुगा लगाइन्छ ? सरकार के हो ? जनप्रतिनिधिबाट र सरकारबाट निमुखा सीमान्तकृत वर्गलाई छुट्याउने बजेट र सुविधाका बारेमा केही पनि ज्ञान छैन । प्रकृतिको अथाहा विकासको सम्भावना बोकेको भए तापनि धूली, धलौन, न्यूना, ज्याति, लाफणी, बलौणी, सैनगाउँलगायतका मानिसलाई केही थाहा छैन । ६ महिना अर्धपेटले बाँचेका यहाँका मानिसको जीवनचर्या देख्दा साँच्चिकै दया लागेर आउँछ तर के गर्ने ? कारागारको भित्ता हेर्दै सम्झिरहेको छु, सुनको टुक्रा हो धुली धलौन तर बास्ना आउने कसरी बनाउने ?
र, कसले बनाउने ? भन्ने बारे चिन्ता छ । त्यही माटो र आमा गंगामतीदेवीको कोखबाट जन्मेको मलाई साँच्चिनै जन्मभूमिको यादले पोल्छ । भारी बोक्दा गरिब दाजुभाइको निधारबाट पसिना चुहिएको यादले मेरो मन भारी हुन्छ । विसंं २०४३, ०४८ र ०५६ सालमा काडा गाउँविकासका धेरै बस्तीमा म पुगेको छु । कलाकारका तर्फबाट पनि त्यहाँका दाजुभाइ दिदीबहिनीबाट धेरै माया पाएको छु । यदि आन्दोलन सफल भयो, सकुशल रूपमा जिल्लामा म पुगेँ भने पुनः एकपटक जिल्ला भ्रमण गर्नेछु, काँडा पुग्नेछु ।
दाजुभाइ हो ! अब अलिकति चर्चा शिक्षा क्षेत्रका बारे पनि गर्छु । शिक्षा विकासको मेरुदण्ड हो, ज्ञानको ज्योति हो । शिक्षा प्राप्त गर्ने व्यक्ति निडर हुन्छ । स्व.कृष्णप्रसाद कोइरालाले फाटेको लुगा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरलाई उपहार पठाएका थिए रे । बिपी कोइरालाले राणातन्त्रविरोधी भएर प्रजातन्त्रको शंख फुके र नेपाली काङ्ग्रेसका संस्थापक नेता बने । पुष्पलालले गरिब जनताको प्रतिनिधित्व गर्दै तत्कालीन कम्युनिष्ट पार्टीको स्थापना गरे । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमानसिंहले तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री पदमा रही देशको सेवा गरभन्दा इनकार गरी किसुनजी (कृष्णप्रसाद भट्टराई) लाई अघि सारे ।
यी सबै गुण दिलाएको शिक्षाले नै हो । यिनै कुरालाई ध्यानमा राखी मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले सदरमुकामस्थित सत्यवादी हाईस्कुलको स्थापना गरे । मेरो दाजु देवीचन्द्र जोशीले तलकोटस्थित दुर्गाभवानी माविको स्थापना गरे । यसमा मेरो पनि महत्वपूर्ण योगदान रहेको छ । दुई पटकसम्म एसएलसी उत्तीर्ण हुन नसक्दा २०४२ सालमा नखु कारागारबाट निस्केपछि म बझाङ पुगेँ । दाजुको सल्लाह अनुसार आफैं गार्ड बसी तत्कालीन विद्यार्थीलाई हरेक विषयमा चिट चोर्न लगाएँ । यसो गरेबापत तत्कालीन सुपरिटेन्ट दीर्घराज जोशी र जिशिअका अगाडि नौपटक विद्यालय हाताभित्र उठबस गरेँ । एसएलसीको परिणाममा चारजना रमानन्द सिंह, जयबहादुर बोहोरा, रामबहादुर विष्टमध्ये दयका रोहित जेठारा उत्तीर्ण भए । विद्यालयको अस्तित्व जोगियो । त्यो सुनौलो इतिहास म सम्झिरहेको छु । सायद ती विद्यार्थी र तलकोटी जनताले पनि सम्झिरहेका होलान् ।
यो भौतिक शरीरको मलाई त्यति माया पनि छैन । मातृभूमि हाम्री आमा हुन् । आमाको सेवा गर्यो भने स्वर्गलोक प्राप्ति होला । मेरो अस्थायी घर सुकेधारा काठमाडौंमा श्रीमती प्रार्थना खनाल, छोराहरू सुश्रुत, लोकेश्वर र छोरी शृंखला बसेका छन् । उनीहरूको मलाई जति चिन्ता छ, त्यति नै चिन्ता प्रजातन्त्रको छ, बझाङको छ र देउडा लोकसंस्कृतिको छ ।
तपाईंको प्यारो कलाकार-नन्दकृष्ण जोशी । बन्दीगृह ।।
महिला प्रशिक्षण केन्द्र जावलाखेल ललितपुर
बन्दी अवस्थामा
२०६२ फागुन १० गते
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच