‘आफ्नो बाटो आफ्नै पाइला’ प्राडा.कुलप्रसाद कोइरालाकृत पुस्तक हो । स्वनामधन्य कोइराला बारे नेपाली साहित्य र प्राध्यापन क्षेत्रका प्रायः व्यक्तिहरूलाई जानकारी नै छ । उहाँ ओखलढुङ्गा जिल्लाको रातमाटेमा जन्मिनुभएको हो र मधेसका विभिन्न ठाउँमा बसाइँ सरेर बस्नुभएको हो । संस्कृतध्यायी पण्डित परिवारमा जन्मिनुभएका उहाँ आफूले पनि सोही क्षेत्रको अध्ययन गरी प्राध्यापन क्षेत्रमा प्रवेश गरेर अन्ततः त्रिभुवन विद्यावारिधिको अनुसन्धान पूरा गरी प्राध्यापकको उपाधिसमेत प्राप्त गर्नुभएको छ । उहाँ नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति समेत बन्नुभयो । संस्कृत वाङ्मयको गहिरो ज्ञान हासिल गर्नुभएका प्रा.डा.कोइराला राम्रो वक्ता र लेखक साहित्यकार समेत हुनुहुन्छ ।
आफ्नो पारिवारिक विषय, पढाइसम्बन्धी जानकारी, राजनीतिक संलग्नता र जेलजीवन, उच्च स्तरका नेताहरूसँगको सम्बन्ध र भेटघाट, विभिन्न देशको भ्रमणको चर्चा, राष्ट्रिय विकास सेवामा जाँदाको अनुभव, प्राध्यापनमा संलग्न हुँदाको क्षण, नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति हुँदा गरेका सुधारका काम र पाएका हण्डरलगायत विषय यहाँ समेटिएका छन् ।
निडर, निर्भिक र स्पष्टवक्ता कोइरालाका पछिल्लो समयमा विभिन्न शीर्षकका पुस्तक छिटोछिटो प्रकाशित भइरहेका छन् । यही क्रममा पछिल्लो पटक प्रकाशित भएका उहाँका जुम्ल्याहा पुस्तकहरूमध्येको एक पुस्तक हो ‘आफ्नो बाटो आफ्नै पाइला’ यो उहाँको संस्मरणहरूको सङ्ग्रह हो । वर्तमान समयमा पाठकहरूले बढी रुचाउने विधामा नियात्रा, संस्मरण र बढी फुर्सद हुनेहरूका लागि उपन्यास हो । त्यसो त लेखकको स्तर र प्रसिद्धि हेरेर पनि पुस्तकहरू पढ्ने पनि गरिन्छ । अर्कोतिर लेखकको सम्पर्क र पाठकको आवश्यकताका आधारमा पनि पुस्तकहरूको चयन गर्ने गरिन्छ । यस पुस्तको प्रकाशक सुन्दर स्वदेश पब्लिकेसन काठमाडौं रहेको छ भने यो यस पुस्तकको पहिलो संस्करण हो जुन २०८१ साल असारमा सार्वजनिक भएको जनाइएको छ ।
यसको सर्वाधिकार लेखकमै छ । सहारा प्रिन्ट कनेक्सन, डिल्लीबजार काठमाडौंमा मुद्रण भएको यस पुस्तकको लेआउट सुमन कार्कीको छ । पुस्तको आवरण आकर्षक छ । भड्किलो र उत्ताउलो नदेखिने सादा कालो रङको पृष्ठभूमिका रहेको आवरणमा बीचमा सेता ठूला अक्षरमा पुस्तकको शीर्षक दिइएको छ भने तल साना पहेँला अक्षरमा लेखकको नाम राखिएको छ । पुस्तकको शीर्षकलाई सार्थकता दिनेगरी माथि बाटो र त्यहाँ सानो स्वरूपमा बटुवा हिँडिरहेको देखाइएको छ । पृष्ठावरणमा फोटोसहित लेखक कोइरालाको समग्रमा परिचय राखिएको छ ।
यहाँ उहाँको पारिवारिक विवरण, सेवाको विवरण, उहाँद्वारा लेखिएका र सम्पादन गरिएको पुस्तकहरू तथा उहाँ प्रजातान्त्रिक विचारधाराबाट डोहोरिनुभएको र विचारमा खरो व्यक्ति भएका कारण आस्थाका आधारमा भोगेको जेलजीवनको विवरणसमेत यहाँ दिइएको छ । यही प्रकाशक संस्थाको लोगोसहित नाम दिएको छ । डिएमआई साइजको यस पुस्तकको छपाइ स्तरीय छ तर यसो भन्दाभन्दै पनि अशुद्धिहरू चाहिँ बाक्लै भेटिन्छन् भन्न बाध्य हुनुपरेको छ । पहेँलो हलुका कागज प्रयोग भएको यस पुस्तकमा भूमिका खण्डसमेत गरी २३८ पृष्ठ छन् र मूल्य ४५० रुपैयाँ रहेको छ ।
भूमिका खण्डमा प्रा.पुरुषोत्तम दाहालको ‘नियतिको भाषालाई नलुकाई छापिएका कुलप्रसाद’ रहेको छ । यसबाहेक लेखकहरूको खत्तेर लगाइएको छैन । यस पुस्तकमा ‘लेखकीय’ पनि पाइएन । पाठकले पढेर बनाउने धारणा नै लेखकको विचार हो भन्ने लेखकहरूकै पंक्तिमा प्राडा.कोइराला पनि पर्नुभएको जस्तो देखिएको छ । विषयसूचीबाट जानकारी भएका आधारमा यस पुस्तकमा चार दर्जन जति संस्मरणात्मक लेखहरू समावेश गरिएका छन् । यी सबै लेखमा संस्मरणलाई सुहाउने खालका शीर्षक राखिएका छन् । तीन शब्ददेखि छ-सात शब्दसम्मका शीर्षक समावेश गरिएको पाइन्छ । शीर्षकले समेटेको संस्मरणात्मक लेख विविध विषयका छन् ।
यस पुस्तकमा रहेका लेख छोटाछोटा छन् र पढ्दा रमाइलो लाग्ने खालका छन् दुई-तीनवटा लेख भने अलिक लामा छन् तर नियात्रात्मक संस्मरण भएका कारण एकदम रुचिकर छन् । यी लेखहरूमा प्राडा.कोइरालाका विविध विषय समेटेर तयार पारिएका लेख छन् । आफ्नो पारिवारिक विषय, पढाइसम्बन्धी जानकारी, राजनीतिक संलग्नता र जेलजीवन, उच्चस्तरका नेताहरूसँगको सम्बन्ध र भेटघाट, विभिन्न देशको भ्रमणको चर्चा, राष्ट्रिय विकास सेवामा जाँदाको अनुभव, प्राध्यापनमा संलग्न हुँदाको क्षण, नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति हुँदा गरेका सुधारका काम र पाएका हण्डरलगायत विषय यहाँ समेटिएका छन् ।
एकजना विद्वान व्यक्तित्वबाट लेखिएको यो पुस्तक उहाँको निजी जीवन बुझ्नका लागि मात्र होइन नेपालको राजनीति, प्रशासन, नेताहरूको प्रवृत्तिलगायत विषय बारे जानकारी राख्नेका लागि ज्यादै उपयोगी छन् । संस्मरणहरू समावेश भइसकेपछि सन्दर्भ सामग्री पनि राखिएको छ । यहाँ बद्रीनारायण गौतम, पुरुषोत्तम दाहाल, विनोद दाहाल, नयनाथ पौडेल र जनार्दन लामिछानेका पुस्तकलाई सन्दर्भ सामग्री बताइएको छ । अन्तिममा अमेरिकाको भ्रमणमा खिचिएका उहाँ संबद्ध केही तस्वीर संलग्न गरिएका छन् । पुस्तकका लागि प्राडा.कोइरालालाई हार्दिक बधाई र पुस्तकको सफलताको शुभकामना । साथै उहाँको सिर्जनाले निरन्तरता पाइरहोस् र अन्यान्न पुस्तकहरू पनि पढ्न पाइयोस्, उहाँलाई अग्रिम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच