अर्जुनका नाति, अभिमन्युका छोरा हुन् परीक्षित । उनले कलियुगमाथि विजय पाएका थिए । कलिमाथि विजय पाएका परीक्षितलाई ऋषिपुत्रको श्राप परेको थियो । श्रापमुक्त हुनका लागि उनले श्रीमद्भागवत महापुराणको श्रवण गरेका थिए । परीक्षित श्रोता थिए भने व्यासपुत्र शुकदेव वक्ताका रूपमा थिए । वक्ता र श्रोताको सम्बन्धका कारण परीक्षित मृत्यु भयबाट मुक्त भएका थिए । यही मृत्युभयबाट बचाउन पुराणका रूपमा भागवत पुराणलाई लिने गरिएको छ । भगवान् कृष्णको स्वधाम गमनपछि पाण्डवहरू परीक्षितलाई हस्तिनापुरको शासन सुम्पेर उत्तरापन्थतिर लागे । राज्य अभिमन्यु पुत्रको हातमा गयो । उनले दिग्विजय पाए । धर्म कमजोर भइरहेको अवस्था थियो । यो अवस्थामा उनले कलिमाथि विजय पाएका थिए ।
कलि आफैंमा अधर्म मानिएको थियो । अधर्ममा रहने र मानिसले धर्म, कर्म र आफ्नो कर्तव्य बिर्सँंदै जाने अवसर विद्यमान थियो । यस अवस्थामा तत्कालीन हस्तिनापुरका राजा परीक्षितले कलियुगमाथि विजय पाएका थिए । उनले कलिमाथि पाएको विजय होइन । उनले कलिलाई बस्न दिएको पदार्थमध्ये सुन उनलाई घातक बनेर आएको हो ।
कलिमाथि विजय
सत्ययुगमा तप, पवित्रता, दया र सत्य धर्मका चार पाउ थिए । द्वापरयुगको अन्त्य र कलियुगको आरम्भमा धर्मलाई एउटै पाउमा उभिएको देखेका राजा परीक्षितले कलिमाथि विजय पाएका थिए । कलिमाथि पाएको विजयका कारण कलिलाई सम्बोधन गर्दै परीक्षित भन्छन् :
न वर्तितव्यं तदधर्मबन्धो धर्मेण सत्येन न वर्तितव्ये
ब्रहृमावर्ते यत्र यजन्ति यज्र्ञै यज्ञेश्वरं यज्ञवितानविज्ञाः ।।
हे अधर्मका साक्षी ! यो ब्रहृमावर्तमा तँ एकछिन्का लागि पनि बस्न सक्दैनस् । यो धर्म र सत्यको निवासस्थान हो । यो स्थानमा यज्ञ जान्ने महात्मा र यज्ञपुरुषको वास हुने गरेको छ । यो तत्कालीन हस्तिनापुरका शासकको कलिप्रतिको अभिव्यक्ति थियो । कलियुगका कारण अधर्म बढिरहेकोमा शासक चिन्तित थिए । त्यही चिन्ताका कारण उनले कलिमाथि विजय पाएका थिए । शासक परीक्षितले आफ्नो राज्यमा बस्ने अधिकार कलिलाई दिएनन् ।
तत्कालीन शासक धर्मप्रति र ऋषिले गर्ने यज्ञप्रति आस्थावान् थिए । यज्ञकर्ममा अवरोध पुर्याउने कसैलाई पनि तत्कालीन शासकले आफ्नो राज्यमा बास गर्ने अवसर दिएनन् । यही हो शासकको धर्म पनि । शासकले राज्यको धर्म र मानव कर्तव्यलाई पहिलो प्राथमिकतामा राखेको हुनुपर्दछ ।
तत्कालीन शासक धर्मप्रति र ऋषिले गर्ने यज्ञप्रति आस्थावान् थिए । यज्ञकर्ममा अवरोध पुर्याउने कसैलाई पनि तत्कालीन शासकले आफ्नो राज्यमा वास गर्ने अवसर दिएनन् । यही हो शासकको धर्म पनि । शासकले राज्यको धर्म र मानव कर्तव्यलाई पहिलो प्राथमिकतामा राखेको हुनुपर्दछ । कलिले परीक्षितसँग म जहाँ जान्छु हजुरको उपस्थिति देखिन्छ । मेरो पनि बस्ने स्थान हुनुपर्यो । केही निश्चित स्थान मलाई बस्न दिनुहोस् भनेर भनेपछि कलिलाई चारस्थान परीक्षितले दिए :
द्युतं पानं स्त्रियः सूना यत्राधर्मश्चतुर्विधः
पुनश्च याचमानाय जातरूपमदात्प्रभुः
ततोद्रनृतं मदं कामं रजो वैरं च पञ्चमम् ।।
जुवा, मध्यपान, स्त्री, हिंसा तथा पाँचौं स्थान सुनलाई कलिको बासस्थानका रूपमा राजा परीक्षितले दिए । जुवामा असत्यको बास हुन्छ । मध्यपानमा मदको निवास रहन्छ । स्त्रीमा आसक्तिले बास गरेको हुन्छ । हिंसामा दयाको भाव रहँदैन । सुनमा रजोगुण हुने हुनाले कलिको बास रहेको हुन्छ । यी पाँच स्थान कलियुगका निवासस्थान मानिएका छन् । राजा परीक्षित सुनको मुकुट लगाएर शिकारका लागि गएका थिए । उनमा कलिको वास भइसकेको थियो । आखेटमा थाकेका उनी शमिक ऋषिको आश्रममा गए ।
ऋषि तपस्यामा लीन थिए । धर्मका रक्षक उनलाई यो तपस्या होइन भन्ने भान भयो । उनमा प्रवेश गरेको कलिका कारण ऋषि र तपस्यालाई उनले भ्रमका स्थानमा राखे । उनले मरेको सर्प ऋषिका घाँटीमा झुण्डाइदिए । यो नै शासकमा देखिएको अन्धपन थियो । शासकले विचार पुर्याएन भने उसको विश्वास कमजोर हुने कुरामा कतै पनि शङ्का देखिँदैन ।
शासकले धर्मको उलङ्घन गरेको हो । शासकले तपस्या र ढोँगलाई छुट्याउन नसकेको हो । यो अवस्थामा रहेको शासकको पतन निश्चित प्राय हुने तथ्यलाई यो प्रसङ्गले स्वीकार गरेको छ । हस्तिनापुरको शासक, पाण्डवको वंशज, अभिमन्युको छोराले गरेको यो काम पक्कै पनि शासकीय परिवेशको थिएन । उनमा कलिको बास भइसकेको थियो । पिताको घाँटीमा मरेको सर्प परेको जानकारी शमीक पुत्रलाई भयो । उनले तत्काल यो धर्मको मर्यादालाई नमान्ने व्यक्तिलाई सम्बोधन गर्दै श्राप दिए ।
इति लङ्घितमर्यादं तक्षकः सप्तमेद्रहनि
दङ्क्ष्यति स्म कुलाङ्गारं चोदितो मे ततद्रुहम् ।।
हे कुलङ्गार ! मेरो बुबाको अपमान गरेर तिमीले मर्यादाको उलङ्घन गरेका छौ । त्यसैले आजको सात दिनमा तिमीलाई तक्षक नागले डस्नेछ । यहाँ ऋषिकुमारले हस्तिनापुरका शासकलाई कुलङ्गार भनेर सम्बोधन गरेका छन् । शासकको मर्यादा यहाँ ऋषि कुमारले भुले वा शासकले मर्यादा भुले । शासकले सबैको रक्षागर्ने जिम्मा लिएको हुन्छ । आफू, आफन्त र आफ्ना आसेपासेको मात्र होइन । शासकले आफ्नो मर्यादालाई बिर्सेमा ऋषिले नै उसलाई सच्चिने आधार दिने हो । यहाँ त्यसो भएन । शासक नै मर्यादाको विपरीत भयो । त्यसैले शासक श्रापित भयो ।
आजको सात दिनभित्र मृत्यु हुने निश्चित भयो । हस्तिनापुरका शासकको मृत्यु नागको डसाइबाट हुने कस्तो श्राप हो । उनी शासक थिए । श्रापसित डराएनन् । राजपाट त्यागे । मृत्यु भयबाट मुक्त हुने उपाय खोजे । उनीसित उपाय थिएन । हस्तिनापुरको शासकलाई ऋषि श्राप पर्यो । सबै ऋषिहरू एकत्रित भए । कसैसित पनि उपाय थिएन ।
मृत्युको भय
दिन जम्मा सात छन् । आठौँ दिन हामीसित पनि छैन । यिनै सात दिनमा हाम्रो मृत्यु पनि निश्चित छ । आजको सात दिनमा मर्ने श्राप पाएका मानिसको दशा कस्तो होला ? कल्पना गर्न पनि सकिँदैन । मृत्यु सत्य हो । सत्यलाई स्वीकार गर्नु मानवीय धर्म हो । तर सत्य यति भयानक होला भन्ने कल्पना हस्तिनापुरका शासकले गरेका थिएनन् तर श्रापित भए । ऋषि श्रापवृथा हुन सक्दैन । यो सत्य उनलाई थाहा थियो । उनी डराएनन् । सत्यसित भागेनन् । ऋषि र ऋषिपुत्रलाई दण्डित गर्ने उपाय खोजेनन् । उनले मुक्तिको बाटो रोजे । राजकाज त्यागे । गङ्गाको तटमा गए । शासकमा परेको श्रापको उद्दारका लागि धेरै ऋषिहरूजम्मा भए । उनले श्रापलाई शिरोधार्य गरे । यही हो असल शासकमा हुने गुण पनि । शासकमा विद्यमान् गुणमा टिकेको हुन्छ शासकीय पद्धति पनि ।
ऋषिहरू जम्मा भए । उपाय खोजे । केही भेटेनन् । सात दिनमात्र बाँकी छन् । तपस्याबाट, योगबाट सम्भव देखिएन । ऋषिहरू निरुपाय बने । शासक त आफ्नो गल्तीमा पश्चातापमा परेर ऋषिका समूहमा पुगेको छ । ऋषि परम्परा शासकप्रति सदा जिम्मेवार हुन्छ । उसले शासकलाई सदा जिम्मेवार बन्न आग्रह गरेको हुन्छ । सबै ऋषिहरू जम्मा भएको स्थानमा शुकदेव स्वामीको उपस्थिति भयो ।
तत्राभवद्भगवान् व्यासपुत्रो यदृच्छया गामटमानोद्रनपेक्षः
अलक्ष्यलिङ्गो निजलाभतुष्टो वृत्तश्च बालैरवधूतवेषः
भगवान् शुकदेव सम्बोधन गरिएको छ । सम्बोधन हो यो । पृथ्वीमा स्वेच्छाले विचरण गर्ने, कुनै वस्तु र पदको अपेक्षा नराख्ने, आश्रमको स्वरुपबाट बाहिर, आत्माको अनुभूतिबाट सन्तुष्ट, बालक तथा नारीबाट घेरिएका अबधूत भेषमा शुकदेवको उपस्थिति भयो । यहाँ शुकदेवलाई भगवान्का रूपमा सम्बोधन गरिएको छ । यहाँ स्वयं भगवान् नै व्यासपुत्रका रूपमा उपस्थित भएका छन् । एउटा श्रापित, सात दिनमा मृत्युलाई वरण गर्ने व्यक्तिलाई मृत्युभयबाट मुक्त गराउनका लागि सक्षम व्यक्ति शुकदेवलाई भगवान्को स्वरूप मानिएको छ ।
आजका शासकले कलिलाई अपनाए । आज सन्तको अपमान छ । ब्राहृमण अपमानित छन् । ज्ञानको अपमान भएको छ । आजका शासकबाट संस्कार विध्वंश भएको छ । परम्परा मासिएको छ । विज्ञानलाई सर्वोपरि ठानेर प्राकृतिक सम्पदा मासिएको छ । सनातन परम्परा र सांस्कृतिक महत्वको धज्जी उडाइएको छ ।
हस्तिनापुरको शासक आज ऋषि समूहले घेरिएको छ । शासक श्रापित छ । उसले ऋषिको अपमान गरेको छ । अपमानका कारण ऊ श्रापित बनेको छ । उपाय ऊ आफैसित छैन । ऋषिहरूबाट नै म श्रापमुक्त हुन्छु भन्ने विश्वास छ । यही विश्वासमा अडिएको छ संसार र शासक पनि । श्राप पाएको शासक, मृत्यु नजिकै आइसकेको व्यक्ति ऋषि समूहलाई सम्बोधन गर्दै भन्छ :
अहो अद्य वयं ब्रहृमन् सत्सेव्याः क्षत्रबन्धबः
कृपयातिथिरूपेण भवद्भिस्तीर्थकाः कृताः
येषां संस्मरणात् पुंसां सद्य शुद्ध्यन्ति वै गृहाः
किं पुनर्दर्शनस्पर्शपदाशौचासनादिभिः।।
हे ब्रहृमस्वरूप भगवन् ! म अपराधी भए पनि सन्तसमागमको अधिकारी तपाईंहरूले सम्झनुभयो । म भाग्यमानी छु । आज अतिथिका रूपमा आएर हजुरहरूले तीर्थको पवित्रता दिनुभयो । तपाईंजस्ता महात्माको स्मरणले मात्र पनि घर पवित्र हुन्छ । दर्शन, स्पर्श र पाद प्रक्षालनले त के कुरा गर्नु संसारमा पाइँने पुण्य सबै प्राप्त हुन्छ नै म भाग्यमानी छु । सन्तको सेवाबाट पाइने सबै पुण्य मैले आज पाएको छु । यही हो शासकमा हुने गुण । यही गुणमा अडेको छ हाम्रो परम्परा । यही परम्पराले धानेको छ हाम्रो समाजलाई । आजको शासक यस्तो हुन सकेन । परम्परालाई र ऋषिमान्यतालाई आत्मसात गर्न सकेनन् । राजा परीक्षितले कलिलाई दमन गरे ।
आजका शासकले कलिलाई अपनाए । आज सन्तको अपमान छ । ब्राहृमण अपमानित छन् । ज्ञानको अपमान भएको छ । आजका शासकबाट संस्कार विध्वंश भएको छ । परम्परा मासिएको छ । विज्ञानलाई सर्वोपरि ठानेर प्राकृतिक सम्पदा मासिएको छ । सनातन परम्परा र सांस्कृतिक महत्वको धज्जी उडाइएको छ । यही परम्परामा आजको शासक चलेको छ । यो शासकीय पद्दतिले देशको राजनीतिलाई अराजकतातिर धकेलेको छ । हस्तिनापुरको शासकजस्तै बन्न नसके पनि कसैको अपमान नगर । कसैको अपमान हुने गरी नबोल । सनातन परम्परा र हाम्रा धर्मग्रन्थको सम्मान गर ।
ऋषिबाट श्रापित हस्तिनापुरको शासकले ऋषिबाट नै मुक्तिको बाटो रोजेको छ । शासकले गलत बाटो अपनाएमा परीक्षितको हालत हुन्छ भन्ने तथ्य र सत्यलाई बुझ । आजको विश्व राजनीति अराजक छ । सनकका भरमा युद्ध घोषित हुन्छ र बम बर्साइन्छ मानिसको संहारका लागि । दया, माया, करुणा, आजको शासकमा देखिएको छैन । दिनदिनै भीड अराजक बन्दै छ । अराजक भीडले शासकलाई बहिर्गमनको बाटो देखाएको छ । त्यसैले नेपालका शासक पनि सचेत बनेर जनताका लागि काम गर । मृत्यु कति डरलाग्दो हुन्छ परीक्षितलाई सोध । माया, मोह, ममता त्याग र देश विकासमा लाग ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच