काठमाडौं । ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज (शनिबार) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । हरेक वर्ष पुस २७ मा उहाँको योगदानको स्मरण गरेर यो दिवस मनाउने गरिन्छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाहले स-साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमासमेत दिने गरिएको छ । उहाँको विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा निधन भएको थियो ।
पृथ्वीनारायण शाह २० वर्षमा गोर्खाका राजा हुनुभएको थियो । शाहले राजगद्दीमा बसेलगत्तै नेपाल एकीकरण अभियानको सुुरुवात गर्नुभएको थियो । विसं १८०१ असोज १५गते नुवाकोटमाथि विजय हासिल गरेर उहाँले नेपाल एकीकरणको अभियान प्रारम्भ गर्नुभएको थियो । त्यसपछि कीर्तिपुर, कान्तिपुर, पाटन, भक्तपुर, मकवानपुर हुँदै उहाँले एकीकरण अभियानलाई पूर्वका चौदण्डी र विजयपुर हुँदै टिष्टासम्म पुर्याउनुभएको थियो । शाहले देशको पश्चिमी क्षेत्रमा पनि एकीकरण प्रयास गर्नुभएको थियो तर त्यो पूर्ण हुन सकेन । जे होस् नेपाल एकीकरण महान् अभियान उहाँले सुरुवात गर्नुभएको थियो । यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा दलका नेताहरूले शुभकामना व्यक्त गर्नुभएको छ ।
दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक
पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उहाँ दूरदर्शी राजा भएको प्रष्ट हुन्छ । विसं. १८३१ (सन् १७७४) मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट जानुभएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी पर्नुभयो । स्वास्थ्य झनझन् खराब हुँदै गएपछि उहाँकै इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही माघ १ गते ५२ वर्षको उमेरमा उहाँको निधन भयो । घाटमै राखिएको बेला उहाँले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरू दिनुभएको थियो, जसलाई दिव्य उपदेश भनिन्छ ।
यस्ता छन् दिव्य उपदेश
- मुलुकमा अन्याय हुन नदिनु ।
- सधैँ गुणको होइन नुनको पछि लाग्नु ।
- सुरक्षा निकाय र जनताप्रति बफादार रहनु ।
- जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो ।
- आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।
- सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नु ।
- नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।
- काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा बनाउनु ।
- अदालतको पैसा दरबारमा नलैजानु र त्यसको सदुपयोग, जोगी, संन्यासीलाई भोजन गराउनु ।
- खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सारेर खानी चलाउनुपर्छ र उब्जनीयोग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँरहदा पछिल्लो समय विभिन्न टीका-टिप्पणी हुने गरेका छन् । यस्ता टीका-टिप्पणीप्रति विभिन्न भनाइ सार्वजनिक भइरहेको पाइन्छ । कसैले माने पनि नमाने पनि पृथ्वीनारायण शाह नेपाल राज्यका एकीकरणकर्ता र राष्ट्रनिर्माता भएको राजनीतिक विश्लेषक तथा अनुसन्धानकर्ता पेशल आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘विगतलाई गाली गरेरभन्दा उसबाट पाठ सिकेर आगतलाई स्वर्णीम बनाउनु नै समाजका अभियन्ता र राजनीतिज्ञको काम हो । जनमानसले त गुण दोषका आधारमा हरेक ऐतिहासिक पात्रको छवि आफ्ना मनमा बनाएको हुन्छ । त्यो बन्न पनि समय लाग्छ र मेटिन पनि समय लाग्छ ।’ पृथ्वीनारायण इतिहास भएको भन्दै ‘इतिहासलाई सम्मान गर्नुपर्छ, पुर्खाको नासो र धरोहरकै रूपमा आज हामीले पाएको देश अझ अघि बढाउनुपर्छ’, उहाँ बताउनुहन्छ ।
राजनीतिक विश्लेषक प्राडा. सुरेन्द्र केसी पृथ्वीनारायण शाहलाई अमुक धर्म वा प्रणालीभन्दा पनि सबैको साझा धरोहर बनाई अपनाउनु नै साँचो अर्थमा उहाँप्रतिको सद्भाव हुने बताउनुहुन्छ । ‘उहाँको नाममा व्यापार र वृत्ति चलाउनेले उहाँको उचाइ घटाएका छन्’, उहाँले भन्नुभयो ।
यस्तै, लेखक तथा राजनीतिक विश्लेषक आरसी न्यौपाने आधुनिक राष्ट्र नेपाल निर्माणको अभियानबारे ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट मूल्यांकन गर्दा तत्कालीन वस्तुगत परिस्थितिको टड्कारो आवश्यकता एवं अपरिहार्यताको रूपमा महत्वपूर्ण कदम भनेर बुझ्नु नै युक्तियुक्त र वैज्ञानिक हुने बताउनुहुन्छ ।
विश्व मानचित्रमा नेपालको अस्तित्व र संसारभरि नेपालीहरूको महत्वलाई उच्च सम्मान र सहअस्तित्व कायम गराउने राष्ट्रनिर्माता पृथ्वीनारायण शाह हुनुहुन्छ । यदि नेपाल देश नभएको भए हामी अहिले नेपाली पहिचानले परिचित हुनसक्ने थिएनौँ । पृथ्वी नारायणको दिवसका सन्दर्भमा हामीले नेपाल नेपालीको बृहत् हित अनुकूल सोच्ने बानी बसाल्नु नै पृथ्वीनारायण प्रतिको सच्चा श्रद्धाञ्जलि र उहाँलाई हेर्ने दृष्टिकोण र मूल्यांकनको सही आधार हुनसक्छ । यसमा कुन जाति, धर्म र व्यक्तिलाई कति मर्का पर्यो त्यो कदापि पहिलो विषय रहन जाँदैन दोस्रो मात्र हुन जान्छ किनभने व्यक्ति वा जाति धर्मभन्दा राष्ट्र जहिल्यै पनि माथि हुन्छ । पृथ्वीनारायण शाहले इतिहासमा व्यक्त गरेको पनि यो नै हो ।
पृथ्वी विचारको सान्दर्भिकता बढेको छ : पूर्वराजा शाह
पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै पृथ्वी विचारको सान्दर्भिकता बढेको बताउनुभएको छ । ‘अहिले देशका दाजुभाइ दिदी बहिनीहरू बराइबाट सिर्जित वादविवादको चक्रव्यूहमा फसिरहेका हुन्, हामी सबैले आत्मसमीक्षा गर्नुपर्ने बेलामा आएको छ । विश्व राजनीतिमा शान्ति सन्तुलनको अवस्था फेरबदल हुनु स्वाभाविक हो । तर, जस्तोसुकै उतारचढावको बेलामा पनि देशलाई एकताबद्ध राख्नुपर्छ,’ उहाँले भन्नुभएको छ । देशलाई प्रविधिको पथमा अगाडि बढाएर सबै देशवासीलाई सुखी र सन्तुष्ट पार्नु राष्ट्रिय धर्म भएको उहाँको भनाइ छ । ‘वीरता, स्वाधीनता र गौरवमय मौलिक मान्यता बहन गरेको हाम्रो देश आजको विश्व व्यवस्थामा कुन कुनाभित्र छ । सोचनीय विषय छ । प्रजातन्त्र भनेको आम मानिसको जीवन पद्धति हो । स्वतन्त्रता केवल निर्वाचनको चक्रले प्रजातन्त्रको मर्म र मौलिकता दर्शाउँदैन । आम नागरिकको सुरक्षा, न्याय, गाँस, बास, कपास शिक्षा र रोजगारीको सुनिश्चितता सहितको स्वतन्त्रलाई मात्रै हामी पूर्ण स्वतन्त्रता मान्न सक्दछौँ,’ उहाँले भन्नुभएको छ । उहाँले पूर्ण प्रजातन्त्र अहिले पनि पूरा हुन नसकेको बताउनुभएको छ । पूर्वराजा शाहले सामथ्र्य र जनशक्ति निरन्तर बाहिरिँदै गएको चिन्ता व्यक्त गर्दै भन्नुभएको छ, ‘हामी सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै आफ्नो स्रोत र सीपको दुरुपयोग गरिरहेका छौँ ।’
सेनाको पदयात्रा
३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेनाले पदयात्रा गरेको छ । सेनाले नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा, धादिङ नुवाकोट हुँदै काठमाडौंस्थित हनुमान ढोकासम्मको पदयात्रा गरेको हो । पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ (पाँच) कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज) को झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक सैनिक पोसाक तथा परम्परागत बाजागाजा सहितको टोली सहभागी थियो । पदयात्रा कार्यक्रम धादिङ, नुवाकोट हुँदै आज हनुमानढोका पुगेर समापन हुँदै छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज (शनिबार) जंगी अड्डास्थित सभा मण्डपमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको देनसम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शन, कविता प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना भएका छन् । त्यस्तै, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाइहरूमा विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
दरबारमार्गदेखि सिंहदरबारसम्म एकता र्याली
३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (शनिबार) दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडिको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्याली गर्ने भएको छ । यसका लागि सम्पूर्ण तयारी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । उहाँका अनुसार र्यालीमा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व-अध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरू सहभागी हुनेछन् । विभिन्न भेषभुषा र झाँकीसहितको र्यालीपछि पृथ्वी शालिकमा पुगेर नेताहरूले पुष्पगुच्छा चढाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । आजै राप्रपाले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम पनि आयोजना गरेको छ ।
प्रधानमन्त्रीदेखि दलका नेतासम्मलाई आमन्त्रण
राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू, पूर्व–प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न पेसागत संघसंस्थाका प्रमुखहरू, कलाकार, खेलाडीलगायत सामाजिक जीवनका विभिन्न व्यक्तिहरूलाई निमन्त्रणा पठाएको छ । यसका लागि अध्यक्ष लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले भेटेर निमन्त्रणासमेत गर्नुभएको छ । राप्रपाले ०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको छ । यसैगरी, पृथ्वी जयन्तीकै अवसरमा राप्रपा सम्बद्ध प्राज्ञिक परिषद्ले पौष २५ गते काठमाडौंमा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानका बारेमा विचार गोष्ठी पनि आयोजना गरेका थिए ।
राजसंस्था पुनःस्थापनाको वकालत गरिरहेको राप्रपाले हरेक वर्ष पुस २७ गते ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएको छ । नेपाल एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको जन्मदिवसका अवसरमा राप्रपाले यो दिवस मनाउँदै आएको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारको पालादेखि सरकारले पृथ्वी जयन्तीमा बिदा दिँदै आएको छ । यद्यपि, औपचारिक रूपमा भने सरकारले यो दिवस मनाउने गरेको छैन ।
सरकारले कार्यक्रम नराखेकोमा असन्तुष्ट
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एकता दिवस मनाउन हिनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न नसक्ने बताउनुभएको छ । राष्ट्रिय एकता दिवसका सन्दर्भमा काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले हिनताबोधग्रस्त मानिसहरूलाई देशको जिम्मा दिएर देशको भविष्य सुरक्षित नहुने जिकिर गर्नुभयो । सरकारले पृथ्वी जयन्ती तथा एकता दिवसको सरकारी तवरबाट कुनै कार्यक्रम आयोजना नगरेको भन्दै हिनताबोध गरेको उहाँको आरोप थियो । पृथ्वी जयन्ती तथा एकता दिवसलाई क्यालेण्डरमा समावेश गर्न राप्रपाले सौदाबाजी गर्नुपरेको उहाँको भनाइ थियो । नेपाल भन्ने देश बनाएकै कारण राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत विभिन्न पदमा पुग्ने अवसर प्राप्त भएको कुरा नभुल्न लिङ्देनले सुझाव दिनुभयो । देशको निर्माणमा पृथ्वीनारायण शाहको नेतृत्व र पुर्खाको योगदान रहे पनि पछिल्लो समय यसलाई गलत व्याख्या गर्ने र विभाजित गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो । ठूला भनिएका दलहरूको गलत क्रियाकलापका कारण देश जटिल भूराजनीतिक चक्रव्यूहमा फस्न पुगेको लिङ्देनको जिकिर थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच