✍️ शशिकान्त अधिकारी
यस कथाको प्रसंग नेपाल र नेपालीसँग जोडिएको छ । आजको पुस्ता जेन-जीको नामले निकै प्रचलित शब्दावलिमा उत्रिएको छ । नयाँ पुस्ताको सोच, उत्साह र उद्यमशीलतालाई एउटा आदर्श मानक बनाइएको छ । हिमालयको काखमा अवस्थित नेपालको भूगोल, इतिहास पुराण, महाभारत र कौटल्यको अर्थसम्म चर्चित छ । सबैभन्दा अनमोल कुरा त २६ सय वर्षअघि सिद्धार्थ गौतम र बुद्धत्वको प्राप्ति नेपालीको गर्वको विषय छ । शान्ति, करुणा, अहिंसा र भातृत्व नेपाली जनजनको मूल मन्त्र हो । सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा गृहत्याग गरे । उनको मार्ग जन्म र मृत्युको सनातन मान्यताको अलौकिक खोजीको थियो । त्यसलाई हामी अध्यात्म भन्ने गर्छौं । युवावस्थामा भोगविलास त्यागेर आत्मानुशासनद्वारा जीवनको यथार्थाबोध गर्नु चानचुने आँट र कठोर दृढताबिना सम्भव हुन्न ।
यही प्रसंगमा यो धरतीमा आजभन्दा तीन सय तीन वर्षअघि एउटा बालक जन्मियो । त्यस बालकको यौवनावस्था र त्यसले लिएको जीवनको लक्ष्य साहसपूर्ण अभियानद्वारा समुन्नत राष्ट्र निर्माण-आज कथाजस्तो भए पनि नेपाली इतिहासको यथार्थ हो । फगत २२ वर्षको केटोले के बुुझ्छ भने यदि यो हिमाली क्षेत्रको भू-भाग बचाउन नसके ‘असिल् हिन्दुस्थाना’को मर्म मर्नेछ । भारतीय भूमिमा तुर्कानाहरूको वर्चस्व, समुद्र पारका फिरंगीको व्यापारिक चतुर्याइँ र उनीहरूको कूटनीतिक जालझेलले नेपाल सरहदभित्रका कैयौं ठकुराईमाथि संकटको बादल मडारिइरहेको थियो । यस्तो गम्भीर अवस्थामा गोरखाको सानो क्षेत्रमा उभिएको केटोले नेपाल राष्ट्रको जग बसालिदियो ।
आज जुन कुराले आममानसपटलमा घृणा, वितृष्णा र कुण्ठाको भावना प्रबल देखिन्छ-त्यो सब संवैधानिक राज्य सञ्चालन विधिमा देखिएको त्रुटिको परिणाम हो । दिव्योपदेश पृथ्वीनारायण बितेपछिको तीन दशकसम्म हरेक काजी, भारादारको घरघरमा थियो र नै विशाल नेपाल बनाउन सम्भव भयो ।
त्यो केटो थियो पृथ्वीनारायण-जसलाई आजको पुस्ताले चिन्दैन । इतिहासको संवेदनशील पात्रलाई नकार्ने, आफ्नै अस्तित्व र मान मर्यादा अस्वीकार गर्ने, क्षुद्रताको पराकाष्ठा आजको विडम्बना भएको छ । नेपालको एकीकरण र राष्ट्रिय भावनाको जग हाल्ने विषयलाई अपव्याख्या गर्दै विस्तारवाद शब्दजालले भ्रमको खेती गर्नेको कमी छैन । पृथ्वीनारायणले स्थापित गरेको नेपाल र नेपाली आजको एक्काइसौं शताब्दीमा पनि नयाँ पुस्ताको खोजीमा छ । पृथ्वीको त्यो साहस, त्यो आँट, त्यो धैर्य, त्यो कठोर परिश्रम र त्यो सारा जीवन आजको पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।
कथाको भूमिका अलि लामो भयो कि ? यहाँ के उल्लेख गरौं भने आजभन्दा २५० वर्ष पहिले नेपाल र नेपालीले गजबको वस्तु पाएका थिए । त्यो वस्तु थियो, पृथ्वीनारायणको दिव्योपदेश । त्यसलाई आजको भाषामा नेपालको पहिलो राज्यसञ्चालनको संविधान, मार्गदर्शन भन्न सकिन्छ । त्यसभित्र एकीकरण र एकताको कुरा, राष्ट्रियताको रक्षा, जनताको समृद्धि, न्याय व्यवस्था, प्रशासनिक इमानदारी, सीप विकास, उद्योग र उत्पादन, घूसविरुद्धको दृढता, घाहा घोप मिलाउने सन्दर्भमा छिमेकीसँगको कूटनीतिक सन्तुलन कायम राख्ने कुरा मननीय विषय हुन् ।
आज जुन कुराले आममानसपटलमा घृणा, वितृष्णा र कुण्ठाको भावना प्रबल देखिन्छ-त्यो सब त्यो संवैधानिक राज्य सञ्चालन विधिमा देखिएको त्रुटिको परिणाम हो । दिव्योपदेश पृथ्वीनारायण बितेपछिको तीन दशकसम्म हरेक काजी, भारादारको घरघरमा थियो र नै विशाल नेपाल बनाउन सम्भव भयो । जब नेपालले त्यो उपदेशको बाटोमा हिँड्न छाड्यो, आफ्नो मातहतमा रहेको भू-भाग पनि जोगाउन सकिएन । पृथ्वीनारायणले यस मुलुकको रक्षाका लागि किल्ला, गढी, गौंडाको जुन सुरक्षात्मक ढाँचा ताकेका थिए, त्यो दूरदृष्टिको परिचायक थियो, कुनै दिन त्यो चतुर वादशाह आउनेछ ।
पृथ्वीनारायण यो मुलुकको रक्षामा अत्यन्त संवेदनशील र चिन्तित देखिन्छन् । उनको उपदेश भनौं कि राजकीय मार्गदर्शनमा सिपाही, हतियार, गौंडा निर्माण, तलब, सुविधा, दण्ड र पुरस्कार आदिमा बारम्बार जोड दिइएको छ ।
उनकै मार्गदर्शनलाई पछ्याएर नेपालीहरू पश्चिम काँगडासम्म पुगे भने दक्षिणमा हरिहर क्षेत्रको गंगासम्म पुग्न सफल भए । उनी आफ्ना सेनालाई कसैको मुलाहिजामा पर्न दिँदैनन् । तर सेवकको इज्जत हुर्मत राख्न पनि ध्यान दिन्छन् ।
जनतालाई न्याय दिनुपर्छ र अन्याय कदापि सहनीय हुँदैन भन्ने दृढ विश्वासका साथ उनले न्याय निसाफमा विशेष ध्यान दिएका छन् । राम शाहको थिति, जयस्थिति मल्लको थिति, महिन्द्र मल्लको थिति र नेपालको किताबबाट पृथ्वीले धेरै सिकेको देखिन्छ । उनले मल्लहरूद्वारा स्थापित रीतिथितिमा कुनै हस्तक्षेप गरेनन्, अपितु आफ्नो कुलधर्म पालन गर्न स्वतन्त्रता दिए । राम शाहको न्याय हराए गोरखा जानू भन्ने मान्यतालाई अक्षुण्ण राखे । घूस खाने र दिने दुवै राज्यका शत्रु घोषित गरी त्यस्ता व्यक्तिको धन जीउ लिने कठोर नियम बाँधे । न्याय निसाफमा यही कारण उनी सर्वस्वीकृत भए । गोर्खाको न्याय सबैलाई मनपर्यो ।
आर्थिक मामिला प्रष्ट छ-जे जति व्यापार गरिनन्छ, आफ्नै जनताले गरुन् । बाहिरी मानिसलाई प्रवेश निदिइयोस् । यही नीति थियो । देशका महाजन आए भने नेपालीको दौलत जान्छ भन्ने थियो । यस्तै, सीप सिकाइ आफ्नै देशमा कपडा बुन्न लगाउने, खानी सञ्चालन गर्ने, जग्गा बिराई खेत बनाई उत्पादन बढाउने जस्ता मुलुक र जनताको पक्षमा जुन नीति बन्यो, त्यसले आव पनि त्यत्तिकै महत्व राख्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आफ्नो जीवनलाई सादगीपूर्ण बनाउनु । कसैलाई पनि तडकभडको सुख सयल गर्न नदिने, त्यस्ता शौखिन व्यक्तिहरू मुलाहिजामा लाग्छन् भन्ने पृथ्वीको सोच थियो । त्यसैले उनले भने च्यागापांगा लगाएर बडो कष्टका साथ यो मुलुक बचाएको हो । यो चार वर्ण, छत्तीस जातको फूलबारी हो । यस कुरालाई सबैले चेतनासाथ बुझून् भन्ने पृथ्वीको सोच थियो । विविधता र अनेकतामा विस्तारित यो भूमि विविध संस्कृतिको फूलबारी हो भन्ने आजको यथार्थ हो । यही सुरम्य देश, त्यसको प्राकृतिक छटा, जनताको आत्मनिर्भर र सादगीपूर्ण जीवनशैली आज पनि मानव सुमदायमा नेपालको छवि बनेको छ । पृथ्वीले चेतना भया भनेर जुन उद्गार व्यक्त गरेका छ्न, त्यसको मनन् र चिन्तन गम्भीर तवरले गर्नुपर्छ ।
त्यो महावाणी, दिव्योपदेश, त्यो राष्ट्रिय दिशानिर्देश गर्ने वाक्यमा गहिरो तवरले मनन् गर्दा आजको पुस्ता छक्क पर्ने अवस्था छ । सारा युरोप नेपोलियनिक लडाइँको सन्त्रासमा थियो । अमेरिकीहरू कोलेनियल पावरबाट मुक्त भएर स्वतन्त्र राष्ट्र बनाउने तरखरमा थिए । सूचना सम्प्रेषण र आवतजावतको कुनै द्रुत साधन शून्य थियो । भनौं, नेपाली भू–भाग सम्पर्कबाट परै थियो । त्यसबेला पृथ्वीनारायणले चार वादशाह बेलायत, चीन, रुस र भेटिकन पोपको खतरा कसरी महसुस गरे होलान् ? भारतवर्षमा मराठा र न्जावको पुनर्जागरण तथा मुगलहरूको खस्कँदो शक्तिमा खेले इष्ट इण्डिया कम्पनी नामक व्यापारिक संरचनाले बंगाल र विहारमा आफ्नो राजनीतिक शक्ति बढाएपछि नेपाली भू-भाग पनि खतरामा थियो ।
आज जुन माटोमा टेकेर सार्वभौमिकता, अखण्डता, स्वाधीनता र स्वतन्त्रताको कुरा गर्छ, त्यसको जग र आधारभूमि पृथ्वीनारायणको देन हो । उनले पनि आफ्नो जीवनको ३० वर्ष अनेकौं कष्ट सहेर, बेहोरेर एकलव्यझैं निरन्तर लागिपरेर यो अखण्ड हिमाली राज्य निर्माण गरेका हुन् ।
त्यस फिरिंगी खतराबाट नेपाली भू-भागको सार्वभौम सुरक्षाका लागि पृथ्वीले जुन दूरदर्शितता र अथक परिश्रम गरे, त्यो स्तुत्य हुनुपर्छ । पृथ्वीनारायणमा बहादुरीको साहस थियो । मानवीय संवेदनशीलता र प्रवृत्तिको ज्ञान थियो । त्यस्तो सादा जीवन र उच्च विचारको नेतृत्वलाई नकार्न सक्ने अवस्था रहन्न । युद्धमा, लडाइँमा शत्रु, मित्र स्वाभाविक हो र एउटाको हार वा जित पनि स्वाभाविक हो । तर सम्झौता र समझदारीबाट आफ्नो हितरक्षामा पृथ्वीले देखाएको चातुर्य विस्मयलाग्दो छ ।
पृथ्वीनारायण शाहलाई महिमामण्डित गर्नु आजको खाँचो हो । उनीमाथि बाहिरी शत्रुदेशका लेखक वा शत्रुपक्षबाट धेरै प्रकारका लान्छना लगाइएको छ । त्यो यथार्थभन्दा पूर्वाग्रहबाट प्रेरित छ वा त्यो सुने सुनाएका गलत रुढीको उपज हो । मकवानपुर ससुराली जाँदा अदव नराख्ने सिपाहीको कुरा होस् वा कीर्तिपुरको लडाइँपछि गोर्खालीलाई दागा धर्ने कीर्तिपुरवासीको नाक काट्ने कुरा पृथ्वीको क्रूर चरित्रको छनक भन्ने गरिएको छ । नेपालबाट निकालिएका कपुचियन पादरीहरूले पृथ्वीलाई बदनाम गर्न नाक काटेको कुरा बढाइचढाइ प्रचार गरे । भक्तपुरबाट फर्कंदा केही नगरकोटीहरूले षड्यन्त्रपूर्वक पृथ्वीलाई मार्ने तयारी गरे । त्यसमा पाटन, कीर्तिपुर र भादगाउँका राजाहरूको भित्री षड्यन्त्र थियो ।
पृथ्वीनारायणले त्यस्ता राज्यविप्लवमा उत्रने नगरकोटीहरूलाई काट्न लगाए भने अरूलाई षड्यन्त्रकारी थाहा भएर पनि पद र प्रतिष्ठाको कदर गर्दै तीर्थाटनमा जान दिए । काट्न त यहाँ पनि सकिन्थ्यो । यसबाट के देखिन्छ भने पृथ्वीनारायण कठोर अनुशासनका हिमायती थियो । मेरो तरबार बज्रन्छ भन्ने कुराले नै उनी न्याय निसाफ बिगार्ने, घूस आदि लिनेदिने, राज्यकोषको तहविल मास्नेप्रति उनी कठोर थिए । प्रजा मोटा भए दरबार बलियो रहन्छ भन्ने व्यक्तिले क्रूरता र अन्यायपूर्ण व्यवहार गर्यो भन्नु इतिहासको वास्तविक अवस्थालाई बंग्याएर अनर्थ गर्नु हो ।
आजको २२ वर्षे पुस्तालाई दुई ढुंगाको तरुलबारे लेस पनि जानकारी छैन । न त मगरातको राजाबारे थाहा छ । तुर्काना र मुगलानाबारे कतिलाई थाहा छ ? टक चोखो लगाउने कुरा आजका अर्थशास्त्री पनि भन्न सक्दैनन् । चोखो भनेको के हो ? ठकुरी डिट्ठा, मगर विचारी र पण्डित सहयोगी किन ? त्यसको विश्लेषण छैन । छ थरका कुरा छन् । घर-घरायस के हो ? हिन्दुस्थान जाग्यो भने किल्ला खोज्न आउनेछ भनेको के हो ? दिव्योपदेशका अनेकौं विषय आजको पुस्तका लागि मननीय र पठनीय छन् ।
आज जुन माटोमा टेकेर सार्वभौमिकता, अखण्डता, स्वाधीनता र स्वतन्त्रताको कुरा गर्छ, त्यसको जग र आधारभूमि पृथ्वीनारायणको देन हो । उनले पनि आफ्नो जीवनको ३० वर्ष अनेकौं कष्ट सहेर, बेहोरेर एकलव्यझैंँ निरन्तर लागिपरेर यो अखण्ड हिमाली राज्य निर्माण गरेका हुन् । यो महानायकत्वको देनलाई आजको नेपाली पुस्ता कत्ति पनि जान्दैन । किनकि बुढा मरे, भाषा सरे को परम्परा ग भयो । बुढापाकाले आफ्ना सन्तानलाई कथा भनेनन् । तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउलान् र यो राज्य थामी खानन् भन्ने विश्वासको वातावरण भंग भयो । त्यो महान् इतिहासको पात्रलाई उपेक्षा गरेर आजका पाखण्डीहरूले आफ्नै इतिहास बिर्सन खोज्छन्, जुन कुरा अत्यन्त नीचताको परिचायक हो ।
आजभन्दा २४० वर्षपछि पनि मुलुकभित्र देखा पर्ने अवस्था उस्तै छ । हिजो शत्रु प्रत्यक्ष थियो, आज अव्यक्त छ । शत्रुको आफै ठहरिएको छैन । भ्रष्टाचार र घूसखोरी व्यापक छ, जुन राष्ट्रिय नीतिविपरीत न्याय सम्पादनमा बाधा दिने खालको छ । जनताको समृद्धि र प्रगतिको अधोगतिमा छ । सीप छैन, उद्योग छैन । खानी छैन । उत्पादन छैन । यस्तो कहालीलाग्दो थितिमा सम्झनुपर्ने मूल विषय वि.सं. १८३१ मा श्री ५ पृथ्वीनारायण शाहले दिएको यस मुलुकको पहिलो निर्देशन गर्ने-प्रथम संविधान-दिव्योपदेशलाई पुनर्तागजी साथ अनुशीलन गर्नु जरुरी भयो ।
आजको पुस्ताले त्यो वाणी बुझोस्- कि उनीहरूको पहिलो जेन-जी पृथ्वी हुन् । जसले यो मुलुकको सपना देख्यो र विशाल नेपाल निर्माण गर्यो । हामीले के बिर्सनु भएन भने हाम्रो धरतीको यथार्थ के हो ? हाम्रो इतिहास के हो ? हाम्रो संस्कृति के हो ? हाम्रो समृद्धि के हो ? बडा दूरदर्शी, बडा साहसी, बडा अनुशासित, बडा आदर्शवान्, बडा हिन्दुपतिका अधिष्ठाता बडामहाराज पृथ्वीनारायणबाट नबुझ्नेले नेपाली र नेपाली बुझ्दैन । यसको निचोड हो-जसले देश दियो, त्यसकै उपदेश पढ र मनन् गर ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच