
वासिंटन । अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोले यतिबेला आक्रान्त बनाएको छ । सबैभन्दा ठूलो डढेलो प्यासिफिक पालिसेड्स आसपासको करिब २१ हजार पाँच सय एकड क्षेत्रमा फैलिएको छ भने इटन वरपरको अर्को आगलागीले १४ हजार एकड जमिन जलेर नष्ट भएको छ । डढेलो नियन्त्रणको प्रयास भए पनि त्यो सफल हुन सकेको छैन । तीव्र गतिको हावाहुरी चल्ने क्रम नरोकिएसँगै डढेलो फैलिरहेको अवस्था छ ।
आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु समाचारहरूमा जनाइएको छ । मेडिकल परीक्षकले पालिसेड्स आगलागीमा पाँचजनाको मृत्यु भएको र अन्य ६ जनाको इटन आगलागीमा मृत्यु भएको बताएका छन् । मृत्युहुनेमा हालसम्म तीनजनाको मात्रै सनाखत भएको बीबीसीले जनाएको छ । डढेलोमा परेर मर्नेहरूको संख्या अझ बढ्ने अनुमान गरिएको छ । अधिकारीहरूका अनुसार डढेलोले १० हजारभन्दा बढी घर तथा अन्य संरचना ध्वस्त पारिसकेको छ । लस एन्जलसका छवटा क्षेत्रमा फैलिएको आगोलाई नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले निरन्तर काम गरिरहेका छन् ।
पालिसेड्समा फैलिएको आगो आठ प्रतिशत नियन्त्रणमा आएको छ । यस्तै इटनमा फैलिएको आगो तीन प्रतिशत नियन्त्रणमा आएको छ । यहाँको डढेलोले करिब एक हजार संरचना ध्वस्त पारिसकेको छ । त्यस्तै, केनेथमा एक हजार एकड र हस्र्टमा ७७० एकड क्षेत्रमा डढेलो लागिहरेको छ । आर्चरको डढेलो १९ एकडमा फैलिएको छ । लस एन्जलसको उत्तरी पहाडी क्षेत्र लिडियामा ३९५ एकडमा फैलिएको आगो ९८ प्रतिशत नियन्त्रणमा आएको छ । हस्र्टको डढेलो करिब ७० प्रतिशत नियन्त्रणमा आएको जनाइएको छ । अन्य डढेलो नियन्त्रणको प्रगति ५० प्रतिशतभन्दा कम छ । लस एन्जलस काउन्टीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । अधिकारीहरूले धुँवा र खरानीका कारण हावाको गुणस्तर खराब भएको जनाउँदै स्वास्थ्य संकटकाल घोषणा गर्नुपरेको जनाएका छन् ।
दूषित हावा र वातावरणका कारण अन्य क्षेत्रको जनजीवन पनि उच्च प्रभावित बनेको जनाइएको छ । लस एन्जलसका काउन्सिल सदस्य ट्रेसी पार्कले डढेलो थप डरलाग्दो बनेको भन्दै यस क्षेत्र हालसम्मकै विनाशकारी भएको जानकारी सञ्चारमाध्यमलाई दिनुभएको छ । राष्ट्रपति जो बाइडेनले डढेलो र हिमपात प्रभावितलाई रहत, उद्धार तथा सुविधा प्रदान गर्न आफ्नो प्रशासनिक निकायलाई सक्रिय बनाउनुभएको जनाइएको छ । कार्यकाल सकिनै लाग्दा देशमा आइपरेको विपत्लाई सम्बोधन गर्न उहाँले विदेश भ्रमणसमेत स्थगित गरेर नागरिकको समस्या सम्बोधनमा लाग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अस्कर मनोनयन सर्यो, स्टुडियोहरू बन्द
लस एन्जलसमा फैलिएको भीषण डढेलो हलिउड हिल्समा पनि फैलिएपछि त्यहाँ नजिक रहेको डल्बी थिएटरमा जोखिम बढेको छ । जसकारण अस्कर अवार्डको मनोनयन कार्यक्रम दुई सातापछि धकेलिएको छ । बुधबार रातिका लागि सेट गरिएको अन्तर्राष्ट्रिय फिचर सर्टलिस्ट स्क्रिनिङ तत्काललाई रोकिएको छ । क्रिटिक्स च्वाइस अवार्ड पनि दुई सातापछि सरेको छ । यस्तै, जोखिमका कारण प्यारामाउन्ट, नेटफ्लिक्सलगायत स्टुडियोले केही फिल्मको प्रिमियर रद्द गरेका छन् । वाल्ट डिज्नीले बरब्यांकस्थित मुख्यालय बन्द गर्दै पोष्ट प्रोडक्सन र उत्पादनका कार्यक्रम स्थगित भएको जनाएको छ । ‘ग्रेज एनाटोमी’ र ‘डक्टर ओडिसी’जस्ता सिरिजको उत्पादन रोकिएको छ । युनिभर्सल स्टुडियो र युनिभर्सल सिटी वाक बन्द भएका छन् । यसअघि कोभिड महामारीका बेला युनिभर्सलले स्टुडियो बन्द गरेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच