
काठमाडौं । मूल्यवृद्धि पुनः बढ्न थालेको छ । गत आर्थिक वर्षमा केही नियन्त्रणमा देखिएको मूल्यवृद्धि चालु वर्षमा फेरि बढ्न थालेको हो । मुलुकको मुद्रास्फीति दर ६ प्रतिशतको विन्दुभन्दा माथि लागेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को २०८१ को मंसिरसम्ममा औसत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरमा वार्षिक उपभोक्ता मुद्रास्फीति १४ महिनायताकै उच्च पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ को मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत थियो । गत वर्षको असोजमा ७.५० प्रतिशत रहेको मुद्रास्फीति त्यसयता लगातार ६ प्रतिशतभन्दा तल रहेको थियो । चालु आर्थिक वर्षको मंसिरमा भने ६ प्रतिशत नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ । खाद्य तथा पेय पदार्थको समूहको मुद्रास्फीति दोहोरो अंकनजिक पुगेको छ । मंसिरमा खाद्य तथा पेय पदार्थको समूहको वार्षिक बिन्दुगत मुद्रास्फीति ९.९९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत छ ।
गत आर्थिक वर्षको मंसिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.९२ प्रतिशतले वृद्धि भएको थियो । उपभोक्ताको दैनिक भान्सामा अत्यावश्यक तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४३.०५ प्रतिशतले बढेको छ ।
त्यस्तै, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.९८ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ ।
सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा महँगी उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ । मंसिरमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.५२ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.८९ प्रतिशतले बढेको छ । उपभोक्ता मुद्रास्फीति मात्रै नभएर थोक मुद्रास्फीतिसमेत बढेको छ । २०८१ मंसिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.५२ प्रतिशत रहेको छ । गत आवको मंसिरमा यस्तो मुद्रास्फीति २.६३ प्रतिशत मात्रै थियो ।
व्यापार घाटा १.५ प्रतिशतले वृद्धि
समीक्षा अवधिमा वस्तु व्यापार घाटा १.५ प्रतिशतले बढेर पाँच खर्ब ८७ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ३.१ प्रतिशतले कमी आएको थियो । अघिल्लो वर्षको सोही अवधिमा निर्यात आयात अनुपात ९.८ प्रतिशत रहेकामा अहिले ११.१ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा कुल वस्तु निर्यात १६.५ प्रतिशतले बढेर ७३ अर्ब ६६ करोड पुगेको छ । जसमा अघिल्लो वर्षको सोही अवधिमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः २३.७ प्रतिशत र ६८.९ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फ भएको निर्यातमा १.२ प्रतिशतले कमी आएको छ । समीक्षा अवधिमा कुल वस्तु आयात ३.० प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.४ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः ४.० प्रतिशत र ४.६ प्रतिशतले बढेको छ भने अन्य मुलुकको आयातमा १.८ प्रतिशतले कमी आएको छ ।
पाँच महिनामा साढे ८३ अर्बको सूचना प्रविधि सेवा निर्यात
सूचना प्रविधि सेवा निर्यातमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । मंसिरसम्म सूचना प्रविधि सेवा निर्यात ८३ अर्ब ५८ करोड पुगेको छ । सूचना प्रविधि सेवा आयात भने १३ अर्ब ३४ करोड बराबर छ । आवको पाँच महिना अवधिमा भ्रमण व्यय १२.२ प्रतिशतले बढेर ८५ अर्ब एक करोड पुगेको छ । भ्रमण व्ययअन्तर्गत वैदेशिक अध्ययनमा जानेले गर्ने खर्च गत वर्षको तुलनामा सामान्य बढेको छ । गत आव पाँच महिनामा अध्ययनमा जानेले गत वर्ष ४७ अर्ब ३४ करोड विदेशी मुद्रा लगेकोमा चालु आव ४७ अर्ब ४१ करोड लगेको राष्ट्र बैंकले जनाएको छ ।
पाँच महिनामा साढे ६ खर्ब रेमिट्यान्स भित्रियो
चालु आवको पाँच महिनामा रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले बढेर ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.५ प्रतिशतले बढेर चार अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको पाँच महिनासम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या एक लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३५ हजार ४२५ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ७१ हजार ९७५ र एक लाख दुई हजार ५४२ रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा चालु खाता एक खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ४१ अर्ब तीन करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब चार करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर तीन अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर दुई अर्ब ८७ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ६ अर्ब तीन करोड प्रत्यक्ष वैदेशिक (इक्विटी मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (इक्विटी मात्र) लगानी आप्रवाह तीन अर्ब ९३ करोड रहेको थियो ।
शोधनान्तर स्थिति दुई खर्ब २५ अर्बले बचतमा
समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १६ अर्ब पाँच करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ६७ करोडले बचतमा रहेको छ । यस्तै, गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले बढेर २०८१ मंसिर मसान्तमा २२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच