
(घ) गिरिजाप्रसाद कोइरालासँग भेट :
जनकपुरबाट हामी सुरसण्डातिर लाग्यौं । सीतामढीमा सिनेमा हेर्ने र रातिको रेलबाट रक्सौल जाने योजना बन्यो । वाल्मीकिका हामी शिवप्रसाद भट्टराई, हरि अधिकारी, इन्द्रमणि अधिकारी, श्याम न्यौपाने, विश्वनाथ गौतम जलेश्वरको भिठ्ठामोड हुँदै बसमा चढ्यौं । कोचाकोच थियो बसमा । असाध्य कठिन । गर्मीको समय थियो । हामीले जनकपुरमै सुनेका थियौं सुरसण्डामा गिरिजाबाबु आउनुभएको छ भनेर तर बसमा थियौं हामी र रातिको रेल समात्नुपर्ने थियो । तैपनि हामीले खलासी र ड्राइभरसँग कुरा गर्यौं । उनीहरूलाई थाहा रहेछ गिरिजाबाबु बसेको ठाउँ पनि । बजारमा पुगेर बस रोकियो । उनीहरूले सबै यात्रीलाई भने : नेपाल के बडे नेता कोइरालाजी यहाँ पर है । उनसे मिल्नेके लिए विद्यार्थी लोग आये है । एक घण्टा बस कहीँ नही जायेगी । आप लोग चिया नास्ता कर बैठिये ।
सबै यात्रीहरू केही बोलेनन् । हामीप्रति सहानुभूति राखे । हामी करिब दुई घण्टा बस्यौं गिरिजाबाबुका मन्तव्य सुनेर र हाम्रा विचार राख्दै । बस रोकिइरहृयो । कोही कराएनन् । त्यस बेला कोइराला र कांग्रेसप्रति अद्वितीय समर्थन र सहानुभूति रहेछ त्यस क्षेत्रमा भन्ने थाहा भयो । गिरिजाबाबु त्यस बेलासम्म नेपालमा आउन सक्नुभएको थिएन । २०३३ पुस १६ मा बीपीसहित धेरै कांग्रेसहरू स्वदेश फर्के पनि गिरिजाबाबुहरूमाथि अनेक अभियोग थिए । पञ्चायती खेल जे पनि हुने शंका भएकै कारण कांग्रेसको आधा शक्ति निर्वासनमा नै थियो । गिरिजाबाबुलाई भेट्दा म छक्क परेँ । हामीले आफ्नो परिचय दियौं । उहाँले स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको यति धेरै पराजयका कारण खोतल्नुभयो ।
हामी विजयीहरूलाई बधाई दिनुभयो । चाँडै नेपाल फर्कने वातावरण बन्ने आश्वासन दिनुभयो । जनमतसंग्रहमा बहुदलका पक्षमा लाग्न, अभियान चलाउन सुझावसहित सरकार धाँधलीमा उत्रने हुनाले सचेत रहन आग्रह गर्नुभयो । धेरै कुरा भए । २०३७ वैशाख १ गते नव वर्षको शुभकामना सन्देश पारेर गिरिजाप्रसाद कोइरालासहित भारतमा निर्वासित सबैलाई आममाफी भयो र उहाँहरू स्वदेश फर्कनुभयो । धेरै राजबन्दीहरू जेलमुक्त गरिए । चप्पल र पाइन्ट सर्टमा अत्यन्त साधा र सरल देखिने कोइरालाका भनाइहरू भने अत्यन्त क्रान्तिकारी थिए । चुरोट उहाँको हातबाट छुटेकै थिएन । हामीले पनि चियानास्ता खायौं ।
बीपी, परशुजी, शेरबहादुर देउवा अनि म घरभित्र पस्यौं । घरवालाले बीपीका निम्ति सफासुग्घर गरिएको कोठा देखाए तर बीपीले उभिएर सोध्नुभयो : हामी चारजना छौं । सबैभन्दा सानो पत्रकार छ । कता छ उसलाई बस्ने ठाउँ । बिचरा घरवाला अक्कन बक्क परे ।
उहाँ भन्दै हुनुहुन्थ्यो : सीतामणिमा रेलवेस्टेसनमा बस्नु उचित हुन्छ कुनै डर हुँदैन । रेल आएपछि घर जानुहोला । अनि उहाँले सोध्नुभयो : विद्यार्थीहरू हुनुहुन्छ कसरी जानुहुन्छ ? खर्च छ कि छैन ? हामीले आफूसँग काठमाडौं जाने खर्च भएको बतायौं र ‘जय नेपाल’ भन्दै बाटा लाग्यौं । त्यो भेट र यात्रा असाध्य महत्वपूर्ण लागिरहेको छ । यसले हामीलाई लोकतान्त्रिक आन्दोलनमा दृढ हुन थप प्रेरित गरेको छ ।
(ड.) जनमतसंग्रह : परिणाम बहुदलका विपक्षमा
२०३७ जेठ २० गते जनमतसंग्रह हुने भयो । यो खबर हामीले चैत २० गते चितवनमा सुन्यौं । म त्यस बेला बीपी कोइरालासँग थिएँ । चैतभरि बीपीको बहुदल प्रचार यात्रा चलिरहेको थियो । सौभाग्यबस मलाई होमनाथ दाजुले बीपीसँग जान र राष्ट्रपुकारका लागि समाचार सम्प्रेषण गर्न अराउनुभयो । यो यात्रा मेरा लागि राजनीतिक जीवनमार्गको अन्धकार यात्रामा आदर्शपूर्ण विश्वासको अनुपम क्षण भएको छ । मैले केही कुरा मेरो पत्रकारितामा पनि समावेश गरेको छु । त्यसमा छुटेका केही कुरा यसमा उल्लेख गर्दैछु ।
(क) बीपीको व्यवहार :
२०३६ चैतको दोस्रो हप्ता बीपी रूपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन र मकवानतिर जाने कार्यक्रम थियो, त्यसपटक राष्ट्रपुकारबाट मलाई होमनाथ दाइले समाचारका लागि पठाउनुभयो । बीपीले पनि सानो दाहाललाई पठाउनू भन्नुभएको रहेछ । बीपीको त्यस टोलीमा महामन्त्री परशुनारायण चौधरी, भरखरै नेविसंघको नेतृत्व हस्तान्तरण गरी पार्टी नेता भएका शेरबहादुर देउवा र म थियौं । केही दिनपहिले बुटवल पुगेका दलसिंह थापालाई मण्डलेहरूले पिटेछन् । उनी कतै बसेका थिए ।
भैरहवाबाट कपिलवस्तु जाने कार्यक्रम थियो । थोरै साधन । हतारमा म अलमलमा छुटेछु । बीपीको गाडी कुद्यो । के गरौँ कसो गरौँ भएको अवस्थामा थिएँ म । कसरी जाने कपिलवस्तु ? त्यत्तिकैमा एकजना मोटर साइकलमा आउनुभयो र झोला बोकेको, टोपी लगाएको हुनाले अन्दाज गर्नुभयो होला र सोध्नुभयो : तपाईं पुरुषोत्तम दाहाल हो ? मैले हो भनेपछि उहाँले बीच बाटोमा बीपी तपाईंलाई पर्खिरहनुभएको छ र म लिन आएको भन्नुभयो ।
म छक्क परेँ । मलाई गाडीमा नदेखेपछि साथीहरूलाई सोध्नुभएछ खोइ त त्यो सानो दाहाल ? सबैले आफू अनभिज्ञ रहेको बताएछन् र उहाँले एकजना मोटर साइकलवालालाई पठाउनुभएको रहेछ । म पुग्नासाथ भन्नुभयो : पत्रकार त आफैं चलाख हुनुपर्छ । तिमी मसँग आएका छौं समाचार लेख्न, पछि परेर हुन्छ ? म त्यसपछि उहाँसँगै तौलिहवा गएँ । तौलिहवामा कमलेश शर्माको घरमा बिहानको भोजन व्यवस्था रहेछ ।
घरभित्र बीपीसहित उहाँको टोलीलाई होला । बाहिर ठूलो भतेर जस्तै थियो । पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, गुल्मीतिरका सदस्यहरू जम्मा भएका थिए । हामी पुग्दा भोजन चल्दै गरे पनि ठूलो संख्यामा उपस्थितहरूले बीपीको स्वागत गरे । बीपीसँगै हामी घरभित्र जान लाग्दा परशुजी, शेरबहादुरजीलाई भित्र पठाए पनि मलाई ढोकामा बस्नेले रोके । मैले म सानदाजुसँगै काठमाडौंदेखि आएको भन्दा पनि यी सबै कहिँ न कहिँबाट आएका हुन् तिमीमात्रै किन ? भनेर छेके ।
भोकले र तीर्खाले अतेस लागेको थियो । चैतको गर्मी । चर्काे घाम । बाटोभरिको धुलो । नचिनेको ठाउँ । भोज भइरहेको ठाउँतिर गएँ तर बस्न मन लागेन । एकैछिनमा एकजना गोरोे अलि होचो ढोकामा मलाई छेक्ने मान्छे कराउँदै आए : पुरुषोत्तम दाहालको हुनुहुन्छ ? मैले बुझिहालेँ भोजन गर्नेबेला सान्दाजुले खोज्नुभयो होला । म उनका पछि गएँ । बीपीले अलि झर्केर भन्नुभयो : तिमी त जहिल्यै छुट्छौ त ? मैले कसरी आफूलाई ढोकामा रोकियो, को थियो भनेपछि त्यस दिन कमलेशले सान्दाजुको खुब झपार खानुपर्यो । कमलेश बीपीका साला हुनुहुन्थ्यो । त्यो घर बीपीकै ससुराली घर थियो ।
तौलिहवाबाट हामी केही साथीहरू राजन पन्त, त्रैलोक्यप्रताप सेन, चन्द्र केसी, ढुण्डीराज पोख्रेल र म राति बुटवल फर्कने सल्लाह भयो । म सान्दाजुसँग अनुमति लिएर हिडेँ । बुटवलमा अग्निकुमार नामका व्यापारीको घरमा बस्ने तय थियो । भोलिपल्ट बीपी आउने समय हामी पनि पुग्यौं । ब्यागहरू राख्ने र केही छिन् आराम गर्ने कुरा थियो । त्यसपछि कार्यक्रममा जाने । बीपी, परशुजी, शेरबहादुर देउवा अनि म घरभित्र पस्यौं । घरवालाले बीपीका निम्ति सफासुग्घर गरिएको कोठा देखाए तर बीपीले उभिएर सोध्नुभयो : हामी चारजना छौं । सबैभन्दा सानो पत्रकार छ । कता छ उसलाई बस्ने ठाउँ ।
बिचरा घरवाला अक्कन बक्क परे । उनले भने : म मिलाउँछु तर बीपीले मान्नुभएन । तुरुन्त मिलाउन, उपियाँ, उडुस नलाग्ने, मच्छर नहुने व्यवस्था गरी झुल पनि राख्नु भन्नुभयो । कोठा अलि फोहोर रहेछ सफा गर्न भन्नुभयो । लगत्तै चौधरीजी र शेरबहादुर दाजुको कोठा हेर्नुभयो । दुईवटा खाट र बिस्तरा राम्रै रहेछ । बल्ल आफ्नो कोठामा पुग्नुभयो ।
(ख) को कसको मान्छे ?
अर्को दिन बिहान केही साथीहरू बीपीलाई भेट्न माथि कोठामा नै आउनुभयो । म त्यहीँ थिएँ । सबै साथीहरू दरीमा बस्नुभयो । सान्दाजुसँग आफूहरू तपाईंको मान्छे भएको हुनाले पार्टीका यहाँका अरू नेता र पदाधिकारीहरूले असाध्य अपमानित गर्ने गरेको, जिम्मेदारी नदिएको भन्ने गुनासो गरे । उहाँहरूले बारम्बार आफूलाई बीपीको मान्छे भनेर चिनाउने प्रयास गर्नुभयो र त्यही कारण पदाधिकारीहरूबाट अपमानित हुने गरेकोमा जोड्दिनुभयो ।
बीपीको प्रश्न थियो : तिमी कसको मानिस हौ ? मैले भनेँ : सान्दाजु, क्षमा गर्नुहोला । म प्रजातान्त्रिक विचार आन्दोलनको मान्छे हुँ र यतिखेर प्रजातन्त्रको मूल मियो नेपाली कांग्रेस भएको हुनाले म नेपाल विद्यार्थी संघसँग जोडिँदै कांग्रेस भएको छु । तपाईंको अनुहारका आधारमा म प्रजातन्त्रवादी बनेको होइन ।
बीपीले करिब पच्चीस मिनेट जति उहाँहरूका कुरा सुनेपछि साथीहरूलाई होमनाथ दाहालको भाइ राष्ट्रपुकारको पत्रकार भएको मेरो परिचय दिनुभयो र मतिर सम्बोधित हुँदै सोध्नुभयो : ए सानो दाहाल तिमी मसँग हिँडेका छौ, जयबागेश्वरी पनि आइरहन्छौ, तर्क पनि गर्छौ । अखबारमा मेरा विचारहरू पठाउने गर्छौ । तिमी नेविसंघको नेता पनि हौ, कुनै कलेजको विद्यार्थी युनियनको सभापति पनि छौँ । यतिका साथीहरू मेरा रहेछन् । तिमी मेरा मानिस हौ कि होइनौ ? अकस्मात् आएको यो प्रश्नले म बडो अलमलमा परेँ । के भन्ने के नभन्ने ? अरूले त्यस्तो प्रश्नमा के जवाफ दिनेथिए होलान् तर मैले भनेँ : ‘म तपाईंको मान्छे होइन ।
सबै साथीहरू मुखामुख गर्न लाग्नुभयो । बीपीको अर्को प्रश्न थियो : त्यसो भए तिमी कसको मानिस हौ त ? मैले अत्यन्त सहजपाराले भनेँ : सान्दाजु क्षमा गर्नुहोला । म प्रजातान्त्रिक विचार आन्दोलनको मान्छे हुँ र यतिखेर प्रजातन्त्रको मूल मियो नेपाली कांग्रेस भएको हुनाले म नेपाल विद्यार्थी संघसँग जोडिँदै कांग्रेस भएको छु । तपाईंको अनुहारका आधारमा म प्रजातन्त्रवादी बनेको होइन । विचार आन्दोलनका पछि लाग्नु र व्यक्तिका पछि लाग्नु दुई फरक कुरा हुन् ।
मेरो यो उत्तरपछि बीपीले भन्नुभयो : साथीहरू तपाईंहरूले पनि जवाफ पाउनुभयो होला । बीपीको मान्छे, सुवर्णजीको मान्छे, गणेशमनजीको मान्छे, किशुनजीको मान्छे जस्तो परिचय बेठीक हो । व्यक्तिको मान्छे हुनलागेपछि एकले अर्कोलाई निचा देखाउने, झगडा लगाउने, रिस गर्ने काम सुरु हुन्छ । विचार आन्दोलन र पार्टीको मात्रै मान्छे भएर काम गर्नुहोला । तपाईंहरूका बारे म साथीहरूलाई भन्नेछु ।
मेरा लागि आजसम्म त्यही मेरो उत्तर राजनीतिक सूत्र बनेको छ । म कुनै पनि व्यक्तिका पछि लागेको छैन । विचारसँग छु र सन्दर्भ र घटनाहरूलाई उचित अनुचित आधारमा समर्थन वा विरोध जनाउने गरेको छु । बुटवलबाट पहिले नवलपरासीको आमसभामा पुग्यौं । गोपाल पराजुलीको उद्घोषण बेजोड थियो । बीपीको सम्बोधन तार्किक रहृयो । यसपछि त्यसै दिन चितवनको कार्यक्रममा पुग्यौं । बीपीलाई चितवनतर्फ स्वागत गर्न आएका नवलपरासीबाट म नेविसंघका साथीहरूसँग बसमा चितवन गएँ, सावित्री थापा, उमा रेग्मी, विगष्णुहरि कोइराला, उमेश पौडेलहरू पनि थिए ।
रमाइलो हुने र परिचय हुने कारणले पनि म बसमा चढेको थिएँ । त्यहाँ श्यामकृष्ण प्रधानको घरमा बसोवास थियो । मेरा मित्र सुवासको घर हो त्यो । मेरा लागि चितवनमा धेरै साथी थिए कुनै समस्या थिएन जताबसे पनि । तैपनि सान्दाजुसँगै बस्यौं । कार्यक्रम सकिएपछि बीपीसँग फोटो खिच्नेहरूको तँछाडमछाड चल्यो । म पर बसेर हेर्दैथिएँ ।
सान्दाजुले देख्नुभएछ र मलाई हातको इसाराले बोलाउनुभयो र भन्नुभयो : यी सबै तिम्रा नेविसंघका साथीहरू । तिमी पनि तस्वीर खिच्दैनौ ? म टुक्रुक्क भूइँमा बसेँ । बीपीसँगको एकमात्र मेरो त्यही फोेटो हो, त्यो पनि दश बाह्र वर्षपछि फोटोग्राफर तर हाम्रा नेता रेडक्रसकर्मी ध्रुव थपलियाले सम्झेर पठाइदिनुभएछ । बीपी त्यसै नेता हुनुभएकोे होइन भन्ने यी उदाहरणहरू जीवनको पाठ भएका छन् मेरा लागि ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच