
काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको चलचित्र ‘खेल’को सिनेमाघरमा आउने मिति तय गर्दै अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । यो चलचित्र २०८२ सालको वैशाख १२ गते रिलिज हुने घोषणा गरिएको छ । चलचित्रमा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, र निकिता आचार्यको प्रमुख अभिनय छ ।
यस चलचित्रलाई बलिउडका दर्जन बढी चलचित्रमा सहनिर्देशन गर्नुभएका अनुराग प्रधान र नेपालमा लामो समयदेखि सहनिर्देशकको रूपमा कार्यरत आस्था श्रेष्ठले संयुक्त निर्देशन गर्नुभएको छ । यसमा भोलाराज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरेलगायतको पनि अभिनय छ ।
रोयल भीमसेनले डिजाइन गरेको ‘खेल’को पोष्टरमा रहस्य र थ्रिलरले भरिएको विद्यालय जीवनका किशोरीको कथा प्रस्तुत गर्ने सशक्त दृश्यात्मक झल्को दिन्छ । अभिनेत्री सुरक्षा पन्त पोष्टरको केन्द्रमा हुनुहुन्छ, जसले उहाँको चरित्रको महŒवलाई संकेत गर्दछ । पोष्टरको पृष्ठभूमिमा देखिएको पाँच कोणीय तारा र अन्धकार वातावरणले चलचित्र रहस्य, डर वा थ्रिलर विधासँग सम्बन्धित रहेको देखाउँछ । पोष्टरको माथि पट्टी लेखाइले कुनै हराएको व्यक्तिको कथा वा अनुसन्धानको कथा समेटिएको अनुमान गर्न सकिन्छ । कलाकारको हातमा देखिने गीतारले पात्रको रुचि र पोष्टरको पिँधमा देखिएको पुरानो बसभित्रबाट आइरहेको प्रकाशले थप रहस्य थपेको आभास हुन्छ । चलचित्रको शीर्षकमा प्रयोग भएका नेपाली अक्षर र रातो रंगको उपयोगले शीर्षकको गम्भीरता र रहस्य देखिएको छ ।
नेपालको लोककथा, परम्परा, अध्यात्मलाई थ्रिलर र सस्पेन्स माहौलसँग जोडिएको कथा रहेको यो चलचित्रमा चारजना साथीहरूको कथा छ, जसलाई आफ्नै विगतको एक भयानक घटनाले पछ्याइरहेको हुन्छ । उनीहरूले डरलाग्दा र अलौकिक घटनाहरूको सामना गर्नुपरेको हुन्छ । यसमा कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्साउन खोजिएको छ । अभिनेत्री सुरक्षा पन्तले गुणस्तरीय चलचित्रमा काम गर्न पाउँदा खुशी रहेको जनाउनुभयो ।
निर्माता लुइसराज महर्जनले विश्वका ठूला चलचित्र उद्योगहरूसँग प्रतिस्पर्धामा आउन सक्ने प्रविधिमा यो चलचित्र तयार गरिएको बताउनुभयो । यसका लागि नेपालमा उपलब्ध नभएका क्यामेरा लेन्ससहित केही छायांकन सामग्री भारतबाट ल्याइएको उहाँले जानकारी गराउनुभयो । सिरुपाते कट्स प्रालिले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता लुइसराज महर्जन हुनुहुन्छ भने निर्माता आशिषराज महर्जन, सहनिर्माताहरू कुनालराज गुरुङ र रहिशराज महर्जन हुनुहुन्छ ।
चलचित्रको कथा आशिषराज महर्जनले तयार पार्नुभएको हो । पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेख्नुभएको छ भने संवाद विष्णु गैरेले लेख्नुभएको हो । छायांकन रोशन राई र सञ्जय लामाले गर्नुभएको छ । सम्पादन आशिषराज महर्जनले गर्नुभएको छ र ध्वनि डिजाइन विकल प्रधानको छ । रंग संयोजन राजेन्द्र मोक्तानको, प्रोडक्सन डिजाइन किशोर नेपालको, कष्ट्युम डिजाइन एलेक्स बसुकलाको, मेकअप दीपु पौडेलको छ । प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हाल्नुभएको यो चलचित्रको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच