
काठमाडौं । आगामी फागुन २ गते प्रणय दिवसको अवसरमा पारेर सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक यो डान्सिङ नम्बरको गीतमा आनन्द कार्की र सुजता केसीको गायन, दुर्गेश थापाको शब्द तथा संगीत छ भने एरेन्ज तथा विमल चिनलको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दीलिप रायमाझी, सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल, विशाल पहारी र उत्तम केसी नृत्य गर्दै प्रस्तुत हुनुभएको छ । गीतमा सलोन र नम्रताबीचको प्रेम पनि देखाइएको छ ।
गीत सार्वजनिक कार्यक्रममा संगीतकार दुर्गेशले १० वर्ष पछाडिसम्मको मेलोडीलाई गीतमा समेटेको सुनाउनुभयो । गायक आनन्द कार्कीले दुर्गेशको शब्द र संगीतमा गीत गाउने चाहना पूरा भएकोमा खुशी व्यक्त गर्नुभयो । दुर्गेशको पछिल्लो गीत ‘दुश्मन’मा पनि उहाँले स्वर दिनुभएको छ । गायिका केसीले आफूलाई सुन्दर गीतमा स्वर दिने अवसर दिएकोमा आभार व्यक्त गर्नुभयो ।
चलचित्रका प्रस्तुतकर्ता तथा नायक सलोन बस्नेतले आफू अष्ट्रेलियामा रहँदा यो गीत भर्चुअल माध्यममार्फत सुनेको स्मरण गर्दै एउटा राम्रो गीत दर्शकलाई दिन पाएकोमा खुशी व्यक्त गर्नुभयो । निर्देशक सुरेश न्यौपाने र आफ्नो सानो प्रयासले रंगीको अवधारणा ल्याएको भन्दै उहाँले त्यो अहिले सार्थक बनेको सुनाउनुभयो ।
‘डेब्यू’ नायिका नम्रता श्रेष्ठले आफूलाई विश्वास गरेर चलचित्रमा लिएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले सामाजिक कथाको चलचित्रमा जोडिन पाउनु र डान्सिङ नम्बरको गीतमा काम गर्न पाउनु खुशीको कुरा भएको बताउनुभयो । फिल्मकी निर्मात्री करिश्मा केसी बस्नेतले चलचित्र निर्माणमा पहिलो प्रयासलाई दर्शकले साथ दिनेमा ढुक्क रहेको बताउनुभयो ।
निर्देशक सुरेश न्यौपानेले ‘रंगी’ सलोन र आफ्नो सोचको परिणाम रहेको बताउँदै दशकले सामाजिक कथासँगै हाँसो र रोदनको मिश्रण पाउने बताउनुभयो । न्यौपानेको यो निर्देशनमा डेब्यु चलचित्र हो । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायत कलाकारको अभिनय छ ।
सुरेश न्यौपानेको ‘डेब्यु’ निर्देशनमा तयार भएको यो चलचित्रमा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्मातामा हुनुहुन्छ भने सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ । यो चलचित्रलाई वितरक गर्ने जिम्मा एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले लिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच