एकै गाउँमा झण्डै पाँच करोडको सुन्तला उत्पादन

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका-६ सुन्तला गाउँका रुपमा परिचित छ । यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ भने पालिकाको अन्य क्षेत्रका किसानले पनि वर्षौँदेखि सुन्तला खेती गर्दै आएका छन् । हरेक वर्ष सुन्तला उत्पादनमा वृद्धि हुँदै गएपछि किसान हर्षित हुँदै गएका छन् ।

यस वर्ष पनि काठेखोलामा सुन्तला उत्पादन बढेपछि यति बेला किसानलाई विक्री गर्न भ्याइनभ्याइ छ । गत वर्षको तुलनामा यस वर्ष झण्डै रु दुई करोड बढी उत्पादन भएको हो । गत वर्ष साढे तीन करोडको उत्पादन भएकोमा यस वर्ष बढेर रु पाँच करोड ४० लाखको सुन्तला उत्पादन भएको काठेखोला गाउँपालिकाका कृषि प्राबिधिक अग्नी कँडेलले जानकारी दिनुभयो ।

पालिकाभर ४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा यस वर्ष ३० हेक्टरमा लगाइएको बोटले उत्पादन दिएको उहाँको भनाइ छ । यस वर्ष ९०० मेट्रिक टन सुन्तला उत्पादन भएको कँडेल बताउनुहुन्छ । यस वर्ष सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन भएको उहाँले बताउनुभयो । पालिकाले सुन्तला खेती गर्ने किसानलाई प्राबिधिक सहयोग र तालिम दिँदै आएको कँडेलको भनाइ छ ।

उहाँले भन्नुभयो - “खास गरि काठेखोला गाउँपालिकाको ६ नम्बर वडामा बढी सुन्तला उत्पादन भएको छ, वडा नम्बर ४ र ७ को केही क्षेत्रमा सुन्तला खेती हुन्छ, किसानलाई प्रोहोत्सान गर्नका लागि समय-समयमा तालिम दिने गरेका छौँ, ढुसीजन्य रोगबाट बचाउन निलोतुथो दिने गरेको, आवश्यक प्राबिधिक सहयोग पनि गर्दै आएका छौँ, यस वर्ष पनि क्षेत्र विस्तार गर्ने कार्यक्रम छ ।”

काठेखोला गाउँपालिका गत वर्ष पाँच हजार ५०० सय सुन्तला र तीन हजार कागतीका विरुवा वितरण गरेको थियो । सुन्तला खेती गर्न गाउँपालिकाको राम्रो साथ पाएका किसानले क्षेत्र विस्तारमा पनि ध्यान दिएका छन् । काठेखोला गाउँपालिका-६ का किसान लोकनाथ कँडेलले यस वर्ष रु १२ लाख ५० हजारको सुन्तला बेचिसकेको भन्दै अझै एक लाखको बाकी रहेको बताउनुभयो । आफ्नो बगैचामा ३०० बोट सुन्तला रहेको भन्दै यस वर्ष २१० बोटल फल खिएको उहाँको भनाइ छ ।

“हरेक वर्ष सुन्तला उत्पादन बढ्दै गएको छ, नयाँ बोटले पनि फल दिन थालेका छन्, किसानले सुन्तला बगैचा व्यवस्थापनमा पनि ध्यान दिन थालेपछि राम्रो फल्न थालेको छ,” कँडेलले भन्नुभयो - “मरो बगैचामा नयाँ ९० बोट सुन्तला छन्, अर्को वर्षदेखि फल दिन्छन्, सुन्तला खेतीबाट आम्दानी राम्रो छ, पहिले कोदो मकै फल्ने ठाउँमा अहिले सुन्तला फलाउँछौँ ।”

स्थानीय किसान देवीलाल कँडेलले अघिल्लो वर्ष रु तीन लाखको सुन्तला विक्री गरेको भन्दै अहिले चार लाख बढीमा व्यापारी बगैचामा आएर खरिद गरेको बताउनुभयो । हरेक वर्ष बाहिरी व्यापारी आएर बोटैबाट सुन्तला खरिद गर्ने हुँदा आफूहरुलाई बजारको समस्या नभएको उहाँको भनाइ छ । बिहुँमा उत्पादन हुने सुन्तला चितवन, पोखरा, काठमाडौंसम्म पुग्ने गरेको कँडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?