
काठमाडौं । हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक प्रा.पुरुषोत्तम दाहालले नेपालबाट विभिन्न देशमा पुगेर बसोवास गर्ने प्रथम नेपाली समुदायको पुस्ताले भाषा, कला, साहित्य, संस्कृतिमार्फत नेपालीत्वको परिचय दिए पनि दोस्रो र त्यसपछिको पुस्तामा त्यो परिचयात्मक विरासत हस्तान्तरण हुने वा नहुने गम्भीर प्रश्न भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)को ३४औं वार्षिकोत्सवको अवसरमा अमेरिकास्थित अनेसास डिसी च्याप्टरले मनाससको वुल रन लाइब्रेरीमा आयोजना गरेको साहित्यिक कार्यक्रममा बोल्दै सो कुरा व्यक्त गर्नुभएको हो ।
प्रमुख अतिथि दाहालले युवा कवि राम अधिकारीको सपना र छायाँहरू कविता संग्रह र वरिष्ठ साहित्यकार प्राध्यापक होमनाथ सुवेदीद्वारा लिखित नन्दा शोक काव्य (इ बुकमा) समेत लोकार्पण गर्नुभएको थियो । अनेसास डिसि च्याप्टरका सभापति नीलकण्ठ सुवेदीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सपना र छायाहरू कविता संग्रहको विमोचन गर्ने अतिथिहरूमा सुदीपभद्र खनाल, धनबहादुर थापा, कविन्द्र सिटौला र स्वयं लेखक अधिकारीसमेत हुनुहुन्थ्यो । कविता संग्रहमा तीसवटा कविताहरू समेटिएका छन् । अनेसास डिसी च्याप्टर सचिव कवि जगन्नाथ पौडेलले कार्यक्रमको आयोजनाबारे जानकारी दिनुभएको थियो भने कविता संग्रहमाथि साहित्यकार नारायण अधिकारी र तीर्थ पाण्डेले समीक्षा गर्दै नूतन चेत र वर्तमानको समयबोध हुने सुन्दर कविताहरू भएको विचार प्रकट गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय कविका एक लाख कविता जुटाउने अभियानको तयारीमा लाग्नु भएका कवीन्द्र सिटौलाले स्वागत मन्तव्य दिँदै अनेसासले अन्तर्राष्ट्रिय क्षेत्रमा नै नेपाली साहित्य र संस्कृतिलाई परिचित गराउने, जीवन्त राख्न प्रयास गरिरहेको जानकारी दिनुभएको थियो । अनेसासका पूर्वसभापति भीम रेग्मीले अनेसासको स्थापानको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्रा.होमनाथ सुवेदीले नन्दा काव्यको सन्दर्भ उल्लेख गर्दै भाषा साहित्यले नै समुदायका बीच सम्बन्ध जोडिरहने हुनाले अमेरिकामा बसोवास गर्ने नेपाली समुदायले अनेसासको महŒव अनुभव गरेको विचार प्रकट गर्नुभएको थियो । शिव त्रिपाठीको सुरिलो र मनमोहक स्वरमा नन्दा काव्यांशसमेत प्रस्तुत गरिएको थियो । अनेसासका केन्द्रीय दस्य सुदीपभद्र खनालले अनेसास अन्तर्राष्ट्रिय रूपमा नै नेपालीहरूको साझा साहित्यिक संस्था भएको र यसले साहित्य उत्थानका लागि कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभएको थियो । अनेसासका केन्द्रीय सभापति सर्वज्ञराज वाग्लेको शुभकामना सन्देशसमेत वाचन गरिएको थियो ।
प्रमुख अतिथि दाहालले प्रा.सुवेदी र कवि अधिकारीलाई सम्मानसमेत गर्नुभएको थियो । कार्यक्रममा यस क्षेत्रका साहित्यिक व्यक्तित्वहरू खिमानन्द आचार्य, प्रकाश नेपाल, कृष्ण भण्डारी, परशुराम भण्डारी, कल्पना सुवेदी, पुरु सुवेदी, सुरेश पौडेल, अरुण रूपाखेती, दिनेश घिमिरे, देवराज जोशी, रामहरि फुयाँल, सागर तिमल्सिना, भरत रिजाल, शुमा नेपाल, गोमा न्यौपाने, सिर्जना खनाल, यशोदा भण्डारी, पुण्यकला घिमिरे, भमिविक्रम शाही, भुवनप्रसाद सिग्देल, धर्मेन्द्र शर्मा, शिवप्रसाद शर्मा, राकेश तामाड., विशाल काफ्ले, रञ्जु खनाल, रेसा काफ्लेसहितको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा कविहरूले कविता वाचनसमेत गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार होमनाथ सुवेदी, अनेसासका केन्द्रीय सदस्य सुदीपभद्र खनाल र अनेसास डिसी सभापति नीलकण्ठ सुवेदीले संयुक्तरूपमा दाहालको उपन्यास शान्ताको अंग्रेजी संस्करण डिसी क्षेत्रका लागि लोकार्पित गर्नुभएको थियो । अंग्रेजीमा अनुदित शान्ताको बजारीकरणको कार्य अहिले अमाजोन डट्कमबाट भइरहेको छ । दाहालका अनुसार अर्डर अनुरूप अमाजोनले पुस्तकको छपाइ गरी घरमा नै पु¥याउने व्यवस्था गरेको छ । त्यसका लागि अमाजोन डट्कम डाउनलोड गरी निर्धारित शुल्क बुझाउनुपर्ने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच